२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

प्रत्यक्ष कार्यकारीका पक्षपाती मिराज

shivam cement
जीवन शर्मा
२०८२ कार्तिक १५ गते ०६:४०
Shares
प्रत्यक्ष कार्यकारीका पक्षपाती मिराज

काठमाडौं : भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा नदेखिएका मिराज ढुंगाना आन्दोलनपछि एकाएक चर्चामा छन् । आन्दोलनको मुख्य हर्ताकर्ता नै हुन् कि जस्तोगरी सर्वत्र चर्चामा आएका ढुंगानालाई सामाजिक सञ्जाल र मिडियाले निकै स्थान दिएको छ । उनी ‘गरिखान देऊ’ अभियानका संयोजकसमेत हुन् ।  

२००१ मा मकवानपुरमा जन्मिएका मिराज ब्रान्डिङ, डिजाइन र मार्केटिङमार्फत करिअर बनाउँदै आएका छन् । उनले केही दिनअघि पार्टी नै घोषणा गरेर जाने भन्दै पत्रकार सम्मेलनसमेत गरिसकेका छन् । यद्यपि उनी शान्तिपूर्ण आन्दोलनले हिंसात्मक रूप लिएसँगै घटनास्थलबाट पलाएन भएका पात्र हुन् । आन्दोलनमा स्वयंसेवक हुँदै सरकार बनाउने भूमिकामा मुख्य पात्र बनेका सुदन गुरुङभन्दा फरक समूह बनाएर आन्दोलनको उपलब्धि खोसिएको भन्दै फेरि आन्दोलन गर्ने चेतावनी दिँदै आएका थिए । तर ढुंगाना अहिले गुरुङकै टिममा छन् । 

सोही टिमबाट सरकार र सरोकारवालापक्षसँगको वार्तामा उनी सहभागी हुँदै आएका छन् । पछिल्लो समय उनका नाममा विभिन्न छद्म सामाजिक सञ्जाल आइडी बनिरहेका छन् । जेनजी आन्दोलनमा सडकमा नदेखिएका उनी आन्दोलनको अघिल्लो दिन भीमसेनगोलामा बसेको जेनजीहरूको एक भेलाबाटै आन्दोलनप्रति असहमति जनाएर हिँडेका थिए । उनले त्यसबेलै भनेका थिए, ‘मेरो आन्दोलन छुट्टै हुन्छ । तपाईंहरूसँग मिल्दिनँ । भोलि बिहान आन्दोलनमा सहभागी हुन्नँ ।’

ढुंगानाको सुरुदेखिकै माग प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्ने थियो । तर अधिकांश जेनजी आन्दोलनका अगुवाको पहिलो मुद्दा भ्रष्टाचारविरोधी थियो ।  भदौ २३ गते माइतीघर–बानेश्वर सडकखण्डमा भएको आन्दोलनमा ढुंगानाको सहभागिता देखिएको थिएन ।  भदौ २४ गतेको  विध्वंशमा पनि उनी कतै देखिएनन् । उनको मुख्य एजेन्डा व्यवस्था परिवर्तन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी भए पनि भ्रष्टाचारको विरोधमा गरिएको आन्दोलनका उपलब्धिको नेतृत्व गर्न आएकोप्रति धेरै जेनजीहरू उनीसँग असन्तुष्ट छन् । तर ढुंगाना भने आफूलाई सुरक्षा थ्रेट भएका कारण आन्दोलनमा उपस्थित नभएको स्पष्टीकरण दिँदै आन्दोलनको जस लिइरहेका छन् ।  

‘म भगौडा होइन । आन्दोलनमै बसेको हो । मेरो ज्यानमाथि धेरै धम्की आयो । मेरो एउटा मात्रै समूह थिएन, पृष्ठभूमिमा रहेर आन्दोलनलाई सघाइरहेको थिएँ,’ उनले पत्रकार सम्मेलनमा भनेका छन् । आन्दोलन आह्वान गर्ने क्रममा सामाजिक सञ्जालमा सक्रिय देखिएर आन्दोलनमा लुकेको उनीमाथि आरोप छ ।  आन्दोलनकै अघिल्लो दिन उनले दुर्गा प्रसाईंलाई भेट्न भक्तपुरस्थित प्रसाईँको घर पुगेका थिए । प्रसाईंले नै ढुंगानासहित जेनजी युवासँगको छलफल भन्दै तस्बिर सार्वजनिक गरेपछि उनलाई जेनजीका एकाथरि अगुवाले आन्दोलन भाँड्न दुर्गा प्रसार्इंसँग मिल्न गएको समेत आरोप लगाएका थिए । कतिले उनलाई पार्टी कार्यकर्र्ता भने त कतिपयले अराजकतावादी र भगौडा । 

तर उनले आन्दोलनमा प्रसार्इं आउने भए पनि रोक्नका लागि त्यहाँ पुगेको बताएका छन् । आन्दोलनपछिको डिस्कर्डको एउटा ग्रुपमा सहभागी ढुंगानालाई साथीहरूले नै बेस्सरी झपारेको समेत देखिएको छ । यद्यपि आन्दोलनपश्चात् उनी विस्तारै पिकअप लिइरहेका छन् । पछिल्लोपटक पार्टी खोल्ने घोषणा गरेका ढुंगाना केही दिनयता खासै सार्वजनिक भएका देखिँदैन् । तर सरकारको आह्वानमा राष्ट्रपति कार्यालयमा भएको हरेक छलफलमा ढुंगाना सहभागी हुँदै आएका छन् । आन्दोलनको सुरुदेखि आखिरीसम्म नदेखिए पनि त्यसपछिको हरेक मुभमेन्टमा अग्रपंक्तिमा देखिएका ढुंगाना जेनजी नेताका रूपमा चिनिएका छन् । उनी व्यावसायिक क्षेत्रमा क्रियाशील छन् ।  

 

सम्बन्धित समाचार 

सेनाको नियत पर्दाफास गर्ने रक्षा बम 

डिजिटल आन्दोलनका सूत्रधार सुदन

प्रत्यक्ष कार्यकारीका पक्षपाती मिराज

नातावाद विरोधी पुरुषोत्तम

वाककलाले चर्चित प्रवेश

फिल्डका कमान्डर खेमराज

पहिलो जेनजी मन्त्री बब्लु

जो आन्दोलनबाट उठे

सम्बन्धित खबर