
काठमाडौं : जेनजी आन्दोलनपछि केही राजनीतिक दल ध्रुवीकरणको कसरतमा छन् । एकताका लागि प्रयास भइरहँदा सम्बन्धित दलहरूमा भने विभाजन निम्तिएको छ ।
नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ । शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकले एकताको पक्षमा निर्णय गर्नु अगाडि नै उक्त दलमा विभाजन आएको छ । एकीकृत समाजवादीका नेता झलनाथ खनाल, घनश्याम भुसाल, रामकुमारी झाक्रीलगायतका नेताहरूले माओवादीसँगको एकतामा नजाने निर्णय लिएका छन् ।
शुक्रबारको बैठकमा अध्यक्ष माधवकुमार नेपालले एकताका लागि पार्टीको सचिवालय बैठकले थप गृहकार्य गर्ने जानकारी दिएका उपाध्यक्ष प्रकाश ज्वालाले बताए । अध्यक्ष नेपाल इतरको एउटा पक्ष भने माओवादीसँग एकता गर्न नहुने अडान लिएका हुन् । एकता भए पार्टी पुनर्गठन गर्ने उनीहरूले बताउँदै आएका छन् ।
उता, माओवादी केन्द्र र समाजवादीसहितको एकता प्रक्रियामा सहभागी हुने वा नहुने निर्णयले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टी विभाजित भएको छ । शुक्रबार चिरन पुन (मिलन सी)को नेतृत्वमा छुट्टै भेला भयो । सो भेलाले समाजवादी मोर्चामा रहेका दलहरूबीचको एकताको पक्षमा उभिने निर्णय लियो । आफूहरू समाजवादी मोर्चामा रहेका दलहरूको एकताको पक्षमा उभिएको मिलन सीले बताए ।
उनका अनुसार १ सय ४५ जना केन्द्रीय सदस्य रहेका छन् । त्यसमध्ये ७५ जना केन्द्रीय सदस्य समाजवादी मोर्चामा रहेको मिलन सीले दाबी गरे ।
एकताको पक्षमा भएका नेताहरूको छुट्टै भेलाले विप्लवलाई एकतामा आउन आह्वान गरेको छ । नेता मिलन सीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तपाईंको भूमिका बृहत् कम्युनिस्ट एकता र ध्रुवीकरणमा आवश्यक छ । त्यसका निम्ति हजुरले पनि छिट्टै एकताको पहल गर्नुहुनेछ भन्ने अपेक्षा राख्छु ।’
विप्लव भने कम्युनिस्ट पार्टी नेपाल नामक दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् । विप्लवमा अनुसार वर्तमान सरकारको निरन्तरतामै अगाडि बढ्नेगरी माओवादी र समाजवादी एकता प्रक्रियामा अगाडि बढेका छन् । आफूहरू सर्वपक्षीय सरकार गठन हुनुपर्छ भन्नेमा रहेकाले वैचारिक मतभेद रहेको उनले बताएका थिए ।
विप्लवले तत्काल माओवादीसहितको एकता प्रक्रियामा सहभागी नहुने संकेत दिएपछि एकताको पक्षमा रहेकाहरूले छुट्टै भेला गरेर एकताको पक्षमा उभिने निर्णय लिएको मिलन सीले बताए । भोलि पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिइने उनले बताए ।
माओवादी केन्द्रसँग र एकीकृत समाजवादीसहितको एकताको प्रयासमा विप्लव पार्टी मात्रै होइन डा. बाबुराम भट्टराई नेतृत्वको पार्टी पनि सग्लो रहेन । एकताकै लागि डा. भट्टराई नेतृत्वको नेसपा फुटाएर महिन्द्र राय यादव बसिरहेका छन् ।