२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

डिजिटल आन्दोलनका सूत्रधार सुदन

shivam cement
२०८२ कार्तिक १५ गते ०६:४०
Shares
डिजिटल आन्दोलनका सूत्रधार सुदन

काठमाडौं : जेनजी प्रदर्शनका बेला पानी बाँड्दै हिँडेको देखिएका सुदन गुरुङ नयाँ राजनीतिक दिशा कोर्ने एक सुत्रधारका रूपमा देखा परे । जेनजी विद्रोहले निर्वाचित सरकार ढालेपछिको रिक्ततामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउनेदेखि मन्त्रिपरिषद्मा अन्य सदस्य थप्ने भूमिकामा उनी सक्रिय भए । कतिपय विवादास्पद अभिव्यक्ति, शैली र शंकास्पद सम्बन्धलाई जोडेर गुरुङको भूमिकाप्रति अनेक प्रश्न पनि छन् । तर आन्दोलनबाट उदाएका नेताहरूमध्ये उनी नै सबैभन्दा अगाडि छन् । 

आन्दोलनका बेला सुरुमा उनी पानी बाँड्ने र स्वयंसेवा गर्नेगरी मैदानमा देखिएका थिए । बानेश्वरमा गोली चलेपछि घाइतेको उद्धार र उपचारमा पनि सुदन र उनको संस्था हामी नेपालका सहकर्मी जुटे । सडकदेखि शीतल निवाससम्म, अस्पतालदेखि आर्यघाटसम्म धाएर उनले आफूलाई नयाँ नेताका रूपमा आफूलाई स्थापित गरेका छन् । एकाएक आन्दोलनको केन्द्रमा पुगेका गुरुङबारे धेरैको जिज्ञासा छ, आखिर उनी को हुन् ? जेनजी आन्दोलनअघि उनको परिचय एक सामाजिक अभियन्ताका रूपमा थियो । उनी राजनीतिक प्रभावको मिश्रण भएका व्यक्ति रहेछन् भन्ने चाहिँ जेनजी आन्दोलनपछि पुष्टि भयो । समय क्रममा गुरुङ सामाजिक अभियन्ता मात्र नभई, युवा चेतना बुझेका, डिजिटल सञ्चारको खुबी भएका नेताका रूपमा देखापरेका छन् । 

गुरुङको जीवनयात्रा सामाजिक सक्रियता हुँदै सरल रेखामा अगाडि बढेको देखिन्छ । गोरखाको चुमनुम्री गाउँमा जन्मिएका उनी ३६ वर्षका भए । किशोरावस्थामा उनी क्लब व्यवस्थापन र इभेन्ट म्यानेजमेन्टमा संलग्न थिए । नेपालमा २०७२ सालमा महाभूकम्प जाँदा उनी २६ वर्षमा थिए । महाभूकम्पपछि राहत कार्यमा संलग्न भए । जसले गुरुङलाई सामाजिक अभियन्ताका रूपमा चिनायो । त्यही अनुभवका आधारमा उनले ‘हामी नेपाल’ नामक गैरसरकारी संस्था खोले । यसले सुरुमा भूकम्प, बाढी र पहिरो प्रभावित क्षेत्रमा राहत कार्यमा सघायो । त्यसपछि यो संस्थाले युवालाई सामाजिक चेतना र नागरिक सहभागितासहितको शासन व्यवस्थाजस्ता विषयमा बहस चलाउँदै आयो । जसलाई जेनजी आन्दोलनका क्रममा डिजिटल माध्यममार्फत आन्दोलनमा युवाहरूलाई जोड्ने काम ग¥यो । गुरुङले विशेषगरी सामाजिक मिडिया र डिजिटल प्लेटफर्मजस्तै इनस्टाग्राम र डिस्कर्ड प्रयोग गरेर युवा वर्गलाई आन्दोलनमा सहभागी गराउने रणनीति अपनाएको देखिन्छ । यसरी उनले नेपालमा परम्परागत सडक आन्दोलनभन्दा फरक, डिजिटल र युवामुखी आन्दोलनको नयाँ मोडल प्रस्तुत गरे । परम्परागत सडक आन्दोलन बुझेकाले डिजिटल र युवामुखी आन्दोलनको नयाँ मोडल थाहै पाएनन् र नसोचेको आन्दोलन भयो भनेर प्रचार गरिरहेका छन् । तर युवाहरू लामो समयदेखि शासन सत्तामा रहेका पात्रविरुद्ध इनस्टाग्राम र डिस्कर्डमा एकीकृत हुँदै आएका थिए । यी कार्यमा गुरुङको नेतृत्वदायी भूमिका रहँदै आएको थियो । 

तर सुदन गुरुङको नामसँगै विवाद पनि जोडिएको छ । उनको संस्थामा ठुलो आर्थिक संकलन भएको गरेको दाबी गरिएका छन् । विदेश वा राजनीतिक नेटवर्कसँगको सम्बन्ध, ठेक्का‑व्यापारिक गतिविधि र युवा आन्दोलनमा नेतृत्व कब्जा गर्ने प्रयासको आरोप लागेका छन् । आलोचकहरूले आन्दोलनको नेतृत्व व्यक्तिगत शक्ति र पहुँचमा आधारित हुन सक्ने खतरा औंल्याएका छन् । तथापि सबैले स्वीकारेको तथ्य हो– हालको राजनीतिक परिवेशमा गुरुङको सक्रिय भूमिका छ । उनी जेनजी आन्दोलनमा अग्रपंक्तिमा देखापरे र आन्दोलनमार्फत बदलिएको राजनीति कसरी अगाडि बढाउने भनेर दिशा कोरिरहेका छन् । 

गुरुङ र उनको समूहले पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको प्रमुखका रूपमा प्रस्ताव गरेको थियो, जो डिस्कर्डमै छलफल गरिएको थियो । यसले देखाउँछ कि गुरुङको नेतृत्व केवल सामाजिक आन्दोलनमा सीमित छैन, बरु राजनीतिक निर्णय प्रक्रियामा प्रत्यक्ष प्रभावसहित देखिन्छ । 

गुरुङको प्रवृत्ति विश्लेषण गर्दा उनी डिजिटल उन्मुख, युवा केन्द्रित, सामाजिक कार्यमा आधारित कर्ममा छन् । जसलाई राजनीतिमा निर्णायक शक्तिका रूपमा प्रयोग गर्न सक्छन् । गुरुङ आफू स्वयंलाई स्वयंसेवक भनेर चिनाउँछन् । तर नयाँ मोडेलको राजनीतिक आन्दोलनको दिशा, नेतृत्व र राजनीतिक प्रस्तावमा उनको प्रभाव स्पष्ट छ । युवा वर्गमा जनसमर्थन जुटाउने क्षमता, सञ्चारमाध्यमको कुशल प्रयोग र आन्दोलनलाई सामाजिक सञ्जालमार्फत सञ्चालन गर्ने क्षमता उनका विशेष गुण हुन् । 

आगामी दिनमा गुरुङको भूमिका नेपालका सामाजिक र राजनीतिक परिवेशमा निर्णायक हुन सक्छ । यदि उनले पारदर्शिता र जनसमर्थन कायम राख्दै अगाडि बढ्न सके, सामाजिक काम र युवा सहभागितामा केन्द्रित रहन सके नयाँ नेतृत्वको मोडलकै एक उदाहरण बन्न सक्छन् । तर यदि आन्दोलनको नेतृत्व र राजनीतिक सहभागिता व्यक्तिगत शक्ति वा संगठनिक केन्द्रमा मात्र सीमित रह्यो भने आलोचना र विश्वास संकट उत्पन्न हुन सक्छ । यसकारण खतरा र अवसर दुवै बोकेका गुरुङ जेनजी आन्दोलनको एक सूत्रधारका रूपमा सधैं रहनेछन् । 

 

सम्बन्धित समाचार 

सेनाको नियत पर्दाफास गर्ने रक्षा बम 

डिजिटल आन्दोलनका सूत्रधार सुदन

प्रत्यक्ष कार्यकारीका पक्षपाती मिराज

नातावाद विरोधी पुरुषोत्तम

वाककलाले चर्चित प्रवेश

फिल्डका कमान्डर खेमराज

पहिलो जेनजी मन्त्री बब्लु

जो आन्दोलनबाट उठे

सम्बन्धित खबर