
काठमाडौं : बाजुरा जिल्लाको बडिमालिका नगरपालिका–५ मनामा २०५८ सालमा जन्मिएका खेमराज साउँद जेनजी आन्दोलनको अग्र मोर्चाका एक अभियान्ता हुन् । उनले जेनजी आन्दोलनबारे एक साताअघि नै सामाजिक सञ्जालमार्फत जानकारी पाएका थिए । विगत ६ वर्षदेखि भ्रष्टाचारविरुद्ध अभियानमा लागेका उनी केही समयदेखि सामाजिक सेवामा समेत सक्रिय युवा हुन् । जेनजी आन्दोलनबारे थाहा पाएपछि र आन्दोलनको एजेन्डाबारे प्रस्ट भएसँगै विभिन्न समूहमध्ये एउटा समूहले संवाद गर्ने डिस्कर्ट ग्रुपमा सेप्टेम्बर २ मा जोडिए । ‘सो डिस्कर्ड ग्रुपमा जोडिएर छलफल हुँदै जाँदा आफूले पनि एउटा समूहको नेतृत्व गर्ने जिम्मेवारी साथीभाइबाटै प्राप्त भएर अघि बढ्दै आन्दोलनसम्म आइपुगेका हौं,’ उनले मध्यान्हसँग भने ।
परम्परागत राजनीतिक शक्तिहरूले देशलाई कसरी उपयोग गरिरहेका छन् भन्ने नजिकबाट नियाल्दै त्यसको खिलापमा उभिँदा सुरुमा त्यत्ति प्रभावकारी होला भन्ने लागेको थिएन । तर अभियानलाई आन्दोलनका रूपमा स्थापित गर्न सक्नु नयाँ पुस्ता र समग्र नेपालीहरूका लागि खुसीको विषय भएको साउँद बताउँछन् । यो आन्दोलन एउटा परिवर्तनको आन्दोलनका रूपमा स्थापित भएको साउँद सुनाउँछन् । ‘यो आन्दोलन नितान्त नेताका छोराछोरी र आमनागरिकबीच विभेदविरुद्ध र भ्रष्टाचारविरुद्धको थियो तर आन्दोलनको रूप फेरिँदा राज्यसत्ता नै ढल्न पुग्यो, परिवर्तन स्थापित भयो ।’
आन्दोलनको अघिल्लो दिन अर्थात् ७ सेप्टेम्बर २०२५ मा खेमराज र अंकित मल्लले यो आन्दोलनबारे जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई सबैभन्दा पहिला जानकारी गराएर आवश्यक सुरक्षा व्यवस्था मिलाउन सुझाएको दाबी गर्दै आएका छन् । प्रमुख जिल्ला अधिकारीसँगको कुराकानीमा जेनजी आन्दोलनमा ४ देखि ५ हजारको संख्यामा सहभागी हुने आँकलन थियो । आन्दोलनलाई व्यवस्थित र सभ्य बनाउने योजनासहित माइतीघर मण्डलामा जम्मा भएका युवा बानेश्वर चोक नपुग्दै अनियन्त्रित बन्न पुगे । ७ सेप्टेम्बरमा सिडिओलाई जानकारीसहित शान्ति सुरक्षाको पत्र थमाएर ८ सेप्टेम्बरको आन्दोलनमा आवश्यक तलु ब्यानर, प्लेकार्डसहितका सामग्री बनाउने र आन्दोलनलाई व्यवस्थित बनाउने जिम्मेवारीसमेत लिएका साउँदको टोली माइतीघरमा जम्मा हुँदा अरू ८÷१० ग्रुपसमेत आइपुगेका थिए । सबै समूहबीच एकताका साथ अघि बढेका युवामाझ उनी नेतृत्वदायी भूमिकामा थिए । ती आन्दोलनकारी युवाहरूले बिजुली बजारको पुलमाथि टाँगिएको प्रधानमन्त्री केपी शर्मा ओलीको ब्यानेर च्यातेर हिँडेपछि भिड विस्तारै उत्तेजित हुन थालेको उनको भनाइ छ । ‘बानेश्वर नपुग्दैको प्रहरी ब्यारिकेट तोड्न खोज्दा अस्रुग्यास प्रहार भएसँगै साथीहरू आक्रोशित बने, त्यसपछि आन्दोलनकारी एकाएक अनियन्त्रित हुन पुगे, त्यसपछि गोली चल्न थाल्यो,’ उनले भने, ‘प्रहरीका सबै ब्यारिकेट तोडेर आन्दोलनकारी बानेश्वर चोकबाट पुगेपछि प्रहरीले आत्मसमर्पण गरेजस्तो गरी संसद् भवन छिरेर भित्रबाटै अन्धाधुन्द गोली चलायो ।’
प्रहरीको गोली लागेर घाइतेहरूलाई अस्पताल पुर्याउनेदेखि मृतकहरूको व्यवस्थापनमा खटिएका उनले २४ भदौको विध्वंश रोक्नसमेत रहसम्भव लागेको दाबी गरेका छन् । यद्यपि सबैको दाबी सही हुँदो हो त सिंहदरबारलगायतका राज्यका सम्पत्ति ध्वस्त नहुन सक्थे । ‘२४ गते चाहिँ २३ कै प्रतिकार हो,’ साउँदले भने, ‘सिंहदरबार हाम्रो सम्पत्ति हो भनेर जोगाउन खोज्दाखोज्दै आन्दोलनकारीबाटै हामीमाथि नै प्रहार भएपछि हामी त्यहाँबाट भाग्नुको विकल्प थिएन ।’ सिंहदरबार दनदन बल्दा रमाइलो लागेको थिएन । यी दुई दिनकै घटनामा प्रत्यक्ष सहभागी खेमराज अहिले जेनजी ग्रुपको सुदूरपश्चित संयोजक छन् । उनी सरकार र सरोकारवालबीच भएका सुरुदेखिकै छलफलमा सहभागी छन् । जेनजीको आन्दोलन र त्यसपछिको परिवर्तनलाई संस्थागत गर्दै आगामी निर्वाचनबाटै देशलाई निकास दिने पक्षमा रहेका साउँद केही समयभित्रै जेनजी आन्दोलनको एजेन्डाले कानुनी मान्यता पाउनेमा विश्वस्त छन् । ‘आन्दोलनलाई संस्थागत गर्न प्रधानमन्त्री राष्ट्रपति, मन्त्रीहरू सकारात्मक छन्, केही दिनमै यसले कानुनी मान्यता पाउँछ ।’ आगामी निर्वाचनमा कसरी जाने भन्ने अझै बहस भइरहेको र नयाँ पार्टी स्थापित गरेर जाने विषयमा करिब पक्का भएको उनी बताउँछन् । ‘स्वतन्त्र व्यक्तिहरू, स्वतन्त्र निर्वाचित जनप्रतिनिधि, जेनजी आन्दोलनका मृतक परिवार, घाइते, आन्दोलनको नेतृत्व गरेका युवा र वैकल्पिक शक्ति सबै एकजुट भएर चुनावमा जाने तयारीमा छौं,’ उनले भने ।