अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिकालाई शून्य डढेलो नियन्त्रण नगरपालिका घोषणा गरिने तयारी गरिएको छ ।
डिभिजन वन कार्यालय अर्घाखाँची र भूमिकास्थान नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी सामुदायिक वनका पदाधिकारीबीच भएको अन्तरक्रिया तथा समन्वय बैठकमा सो जानकारी गराइएको हो ।
डिभिजन वन कार्यालयको आयोजना तथा समन्वयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झबिलाल थापाले नगरपालिका यस वर्ष शून्य डढेलो नियन्त्रण अभियानमा जुटेको बताए ।
थापाले १ रुपैयाँको सलाई काटिका कारण अहिले सरकारले करोडौंको क्षति बेहोर्नु परेको बताउँदै सामुदायिक वनका पदाधिकारी यस विषयमा गम्भीर हुन आग्रह गरे ।
थापाले भूमिकास्थान नगरपालिकाले डढेलो नियन्त्रण गर्न नसक्दा धेरै नै क्षति बेहोर्न परेको भन्दै यस वर्ष शून्य डढेलो नियन्त्रण नगरपालिका घोषणा गरी काम गर्न अभियान सुरु गरिएको बताए ।
नगरपालिकाका उपप्रमुख बालकृष्ण बन्जाडेले गाउँमा आगलागीका घटना बढेको बताए । उनले स्थानीय सरकार, डिभिजन वन कार्यालयको संयुक्त प्रायासबाट रुखबाट खसेका पात तथा जलनशिल पदार्थलाई कम्पोस्ट मल बनाउनुपर्नेमा जोड दिए ।
सिनियर डिभिजन वन अधिकृत मोहनप्रसाद श्रेष्ठले जिल्लाका विभिन्न ठाउँहरुमा हुने डढेलो नियन्त्रण गर्न वन डढेलो ‘दस्ता’ निर्माण गरी परिचालन गरिएको जानकारी दिए ।
उनले वन डढेलो लाग्न नदिन प्रचारप्रसारलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै सामुदायिक वनका उपभोक्ता, स्थानीय बासिन्दा, वन रक्षक, प्रहरी लगायत सरोकारवाला निक(ायको सहभागितामा जनचेतामूलक कार्यक्रम सञ्चालन गर्ने गरी वन डढेलो नियन्त्रणका लागि सारंगी बजाउने कलाकारसहित टोलटोलमा पुगेर गीतमार्फत जनचेतना जगाउने गरी अभियान सुरु गर्न लागेको बताए ।
कार्यक्रममा डिभिजन वन कार्यालय अर्घाखाँचीका वरिष्ठ वन अधिकृत उमेश शाहले स्थानीय नागरिक, वन उपभोक्ता समिति, वनकर्मी सचेत भएमा डढेलो नियन्त्रण हुने बताए ।
कार्यक्रममा भूमिकास्थान सव डिभिजन प्रमुख दशाराम चौधरीले वन डढेलो लागेपछि फिल्डमा खटिने वन सहयोगीहरुका लागि विभिन्न पोसाक, डढेलो नियन्त्रण उपकरणको समेत प्रबन्ध मिलाउन डिभिजन वनको ध्यानाकर्षण गराए ।
हरेक वर्ष चैत पहिलो सातालाई वन डढेलो नियन्त्रण सप्ताहका रूपमा मनाउँदै आएको अर्घाखाँची डिभिजन वन कार्यालयले यो वर्ष शून्य वन डढेलो अभियानलाई केन्द्रित गरेर सर्तकता अपनाएको सहायक वन अधिकृत केशव खड्काले जानकारी दिए । अर्घाखाँची भूमिकास्थान नगरपालिका डढेलोबाट निकै प्रभावित भएको भन्दै वन अधिकृत अरुण आचार्यले जिल्लाका ३२ स्थानलाई डढेलोको उच्च जोखिम क्षेत्र निर्धारण गरेको बताए ।