२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

सामुन्नेको विकल्प

hardik ivf
२०८१ फागुन २७ गते ०६:१५
सामुन्नेको विकल्प

राजावादीहरूको गतिविधिपछि प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दौडधुप बढेको छ । हुलाकी राजमार्गमा चलिरहेको ‘जनतासँग माओवादी : जागरण अभियान’ रोकेर प्रचण्ड काठमाडौं आएका हुन् । पार्टी अभियान रोकिएपछि माओवादीका अरू नेता पनि काठमाडौंमा छन् । पूर्वराजा ज्ञानेन्द्र शाहलाई उनका समर्थकहरूले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलदेखि निर्मल निवाससम्म स्वागत जुलुससहित पु¥याएका थिए । गणतन्त्र स्थापनापछि राजतन्त्रको पक्षमा निस्किएको संभवतः यो सबैभन्दा ठूलो जनप्रदर्शन थियो । सरकारी अधिकारीहरूका अनुसार पूर्वराजाको पक्षमा झण्डै १५ हजार मानिस सडकमा उत्रिएका थिए । देशका कुनै भूभागबाट राजधानी आउँदा ज्ञानेन्द्र शाहलाई स्वागत गरिएको पनि यो पहिलो दृष्य थियो । त्यसैले राजावादी गतिविधिप्रति प्रचण्ड सबैभन्दा बढी सशंकित देखिए । 

प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्तारुढ नेताहरूले समेत राजावादी गतिविधिप्रति आपत्ति जनाइरहेका छन् । ६ फागुनमा पोखराबाट पूर्वराजा ज्ञानेन्द्रले भिडियो सन्देश जारी गरेपछि प्रधानमन्त्री ओलीले पटकपटक चुनाव लडेर आउन चुनौती दिइरहेका छन् । बितेका केही वर्ष यही सिजनमा पूर्वराजाको यस्तै गतिविधि देखिने गरेका छन् । तर यसपटक दलहरु अलिक बढी सतर्क देखिएका छन् । प्रचण्डले तत्काल राजधानी उपत्यकामा गणतन्त्रको पक्षमा सभा गर्ने पहलकदमी लिएका छन् । त्यसका निम्ति अभियान रोकेर पार्टी पदाधिकारी र समाजवादी मोर्चाको बैठक राखिरहेका छन् । सम्भवतः चैतको पहिलो साता गणतन्त्र पक्षधर विपक्षीहरूको सभा हुन सक्छ । 

गणतन्त्र पक्षधरको सभाबारे प्रचण्डसँग सम्वाद गरेपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ‘आफूहरूबाट गल्ती भए सच्याउन तयार रहेको, तर राजावादी गतिविधि अस्वीकार्य’ हुने प्रतिक्रिया दिए । विश्लेषकहरूका अनुसार माधव नेपालको अभिव्यक्ति धेरै हदसम्म तथ्य नजिक छ । किनकि अहिलेको गणतान्त्रिक नेताहरूको व्यवहार र निर्णयकै कारण जनता निराश छन् । तिनै निराश जनताले अराजक गतिविधि गरिरहेका दुर्गा प्रसाईँहरूलाई साथ दिएका छन् । अनि सस्तो कुरा गरेर जुटाएको जनसमर्थनलाई प्रसाईंले पूर्वराजाको जुलुसमा परिणत गरिरहेका छन् । त्यसैले पूर्वप्रधानमन्त्री नेपालको अभिव्यक्ति नै गणतान्त्रिक प्रणाली जोगाउने विकल्प हुन सक्छ । नेताहरूले आफूलाई सच्याउने प्रतिबद्धता गर्ने अथवा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने हो भने नागरिकमा विश्वास बढ्न सक्छ । त्यसले विकल्प खोजिरहेको जमात व्यवस्थापन गर्न सहयोग पुग्छ । 

ADV

सम्बन्धित खबर

Advertise