–रमेश भट्टराई सहृदयी
एक पोल्टो खुशी बटुलेर
दूधे बच्चाको ओठमा
फुलाएर मखमली
पाखामा डुल्छन् पाखुरीहरू
आँखामा झुल्छन् सौम्य कपनीहरू
रम्छन् स्निग्ध चौतारीमा
चम्कन्छन् तब ओठ दौँतरी साथमा
सपेटी पारेर पौरखमा खुट्टा टेक
किनकि,
सगरमाथाबाट छर्नु छ
शान्तिको गङ्गाजल अब ।
महामारीले वितण्डा मच्चाउँदा
खेतमा भेट्छु भगवान्,
रोडमा भेट्छु भगवान,
जीवन शैय्यामा देख्छु भगवान्,
एक आशा, एक सोपान
उमार्नु छ– पहाडभित्रबाट पीपल
रोपेर मानवता अनि गोडेर सिर्जन
हो, युगले हानेको लपेटामा
हुन्डरी बन्नु हुन्न बालेर चेतनदीप
कर्मको कलमले सजाएर चित्र
टेक्नु छ धैर्यताको लौरो
अनि,
उखेल्नु छ विपन्नका अरठ्ठ जरालाई ।
बल्छन्, रम्छन्, झुल्छन् पखेरीहरू
स्निग्ध एकताको चौतारीमा
तब लाग्छ–
हर बिहान बुद्धका वाणी बजून्
हर साँझ मुन्धुमका गाथा बजून्
समुद्रपारिबाट आओस् भावना
अँगेनामा भर्सिँदै गरेको ढिँडोले
मेटाओस् रोग, शोक र भोकको भयलाई
आशा र आस्थाको दैलो उघारेर ।
बजून् सुखका नौमती गाउँ–गाउँमा
रमून् प्रकृति वनौषधिसँगै लाली चढाएर
लिम्पिया, लिपुलेक, कालापानीसम्म
बलोस् समृद्धि दीप झर्झर
यसर्थ–
बटुल्नु छ किरण तिमीले
ओढेर कर्मको खादा खुशीले
फेर्नु छ झुपडीको छानो
जुटाउनु छ छोरोलाई मानो
भो, जस्केलाबाट नगर गाली उसलाई
पहिला तिमी खुट्टा टेक आफ्नो
अनि, बाल चेतनदीप तिम्रो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies