अर्घाखाँची : युवायुवतीलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउने उद्देश्यका साथ अर्घाखाँची सन्धिखर्क नगरपालिकामा सीपमूलक प्लम्बिङ तालिम सुरु भएको छ ।
५० दिनसम्म चल्ने तालिमको एक समारोहकाबीच सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले उद्घाटन गरेका छन् । नगरपालिकाको आयोजनामा भएको तालिममा १२ वटै वडाका ५० जना युवालाई २९ विद्यामा तालिम दिन सुरु गरिएको छ ।
युवाहरूलाई स्वरोजगार र स्वउद्यमी बनाउन तथा बजारको माग अनुसार दक्ष जनशक्ति तयार पार्न यो तालिमको आयोजना गरिएको सन्धिखर्क नगरपालिकाका प्रमुख श्रेष्ठले बताए ।
युवाहरूमा व्याप्त निराशा हटाउन र देशबाट पलायन भइरहेका युवायुवतीलाई स्वदेशमै रोजगारीका अवसर सृजना गर्न सकियोस् भनेर यो तालिम आयोजना गरिएको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।
युवाहरूलाई उद्यमशीलतातर्फ उन्मुख गराउन, स्वरोजगार बनाउन र विदेशतिर भइरहेको पलायन रोक्न संघीय सरकार, प्रदेश सरकार र सबै पालिकाले यस्ता सीप तथा रोजगारमूलक तालिम आयोजना गर्न जरुरी रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताए ।
यो तालिमबाट युवाहरूलाई स्वउद्यमी बन्न र स्टार्टअप व्यवसायका लागि पनि उत्प्रेरित गर्ने भुसालको भनाइ छ । बजारको माग अनुसार आवश्यक २९ विधामा तालिम दिइन लागिएको वडा नम्बर १ का अध्यक्ष माधब श्रेष्ठले बताए ।