काठमाडौं : अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त लोकदर्शन रेग्मी साढे ३ महिनादेखि कार्यक्षेत्रमा खटिएका छैनन् । रेग्मीलाई सर
कारले अमेरिकाको राजदूतमा १४ साउनमा सिफारिस गरेको थियो । २७ भदौमा संसदीय सुनुवाइ समितिले उनको नाम अनुमोदन गरेको थियो । अमेरिकाले उनको नाममा एग्रिमो पठाएपछि राष्ट्रपति रामचन्द्र पौडेलले १६ मंसिरमा अमेरिकाका लागि राजदूत नियुक्त गरेका थिए ।
तर, शपथ लिएको साढे ३ महिना बितिसक्दा पनि रेग्मी अहिलेसम्म अमेरिका पुगेका छैनन् । उनीसँगै नियुक्त भई सपथ ग्रहण गरिसकेका जर्मनीका राजदूत शैल रूपाखेती, साउदी अरबियाका राजदूत नरेशविक्रम ढकाल र अस्ट्रेलियाका राजदूत चित्रलेखा यादव आ–आफ्नो जिम्मेवारी बहन गरिसकेका छन् ।
रेग्मीसँगै चीनका लागि राजदूत डा. कृष्णप्रसाद ओली पनि ३ महिनाअघि नै बेइजिङ गएर जिम्मेवारी सम्हालिसकेका छन् तर रेग्मी अहिलेसम्म काठमाडौंमा बसिरहेका छन् ।
कूटनीतिक बेइज्जती
पूर्व मुख्य सचिवसमेत रहेका रेग्मी एमाले कोटाबाट राजदूत नियुक्त भएका हुन् । यसअघि पनि उनी एमालेकै कोटामा बेलायतका लागि राजदूत भएका थिए । उनी भूमि, अर्थ र गृह मन्त्रालयका सचिव पनि भएका हुन् ।
शपथ खाएको लामो समयसम्म खटाइएको देशमा नजाँदा कूटनीतिक क्षेत्रमा देशकै बेइज्जती भएको जानकारहरू बताउँछन् । राजदूत बनिसकेका रेग्मी सम्बन्धित देश नगएपछि यसबाट नेपालको भूमिका नै कमजोर पार्ने काम गरेको कूटनीतिक वृत्तमा टिप्पणी भइरहेको छ ।
तत्कालीन राजदूत श्रीधर खत्री फिर्ता भएपछि वासिंगटन डीसीमा रहेको नेपाली दूतावास ७ महिनादेखि खाली छ । असामान्य अवस्थामा पनि नियुक्त भइसकेका राजदूत खटाइएको क्षेत्रमा नजानु दुःखद् भएको कूटनीतिज्ञहरूको भनाइ छ । हाल अमेरिकामा परराष्ट्रका सहसचिव कार्यबाहक राजदूत छन् ।
शपथ ग्रहण गरिसकेका राजदूत रेग्मी जिम्मेवारी सम्हाल्न कार्यक्षेत्र नगएकामा परराष्ट्र मन्त्रालयकै अधिकारी पनि चकित छन् । उनी किन कार्यक्षेत्रमा नगएका हुन् भन्नेबारे परराष्ट्रकै अधिकारीहरू बेखबर छन् ।
रेग्मी पदभार सम्हाल्न किन ढिलाइ गरेका बारे पनि स्पष्ट बताएका छैनन् । ‘६ चैतमा जाने छु’ कार्यक्षेत्रमा जान भएको ढिलाइबारे सोधिएको प्रश्नमा उनले भने । रेग्मीले केही प्रशासनिक कामका कारण समयमै पुग्न नसकिएको तर्क गरे तर कस्तो प्रशासनिक काम भएको भन्नेबारे उनले केही बताउन चाहेनन् ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले पनि राजदूत रेग्मी काठमाडौंमै रहेका बताउँदै जिम्मेवारी सम्हाल्न उनी छिट्टै अमेरिका जाने बताए । जिम्मेवारी सम्हाल्न भएको ढिलाइबारे उनले केही बताएनन् ।
कच्चा कूटनीतिक प्रदर्शन
७ महिनादेखि खाली स्थान सरकारले साढे ३ महिनाअघि नै भरे पनि त्यस स्थानमा खटाएको कर्मचारी नजानु सरकारको पनि अपरिपक्वता रहेको परराष्ट्र मामिलाका जानकार डा. अरुण सुवेदीले टिप्प्णी गरे । ‘राजदूतमा नियुक्त भइसकेका व्यक्ति कार्यक्षेत्रमा किन गएनन् भन्नेबारे परराष्ट्रमन्त्रीले चासो लिनुपर्छ’, उनले भने ।
२० जनवरीमा डोनाल्ड ट्रम्प अमेरिकाका राष्ट्रपति बनेपछि विश्वको राजनीति तरंगित भएको छ । यसबाट नेपाल पनि प्रभावित बनेको छ । राष्ट्रपतिको शपथ लिनेबित्तिकै उनले गरेका निर्णयबाट विश्व नै प्रभावित बनेको छ ।
विश्व व्यवस्थामा आएको परिवर्तनले अमेरिका जस्तो देशमा आफ्नो राजदूत नहुनु नेपालको कूटनीतिक कमजोरी रहेको विज्ञ सुवेदी बताउँछन् । राष्ट्रपति ट्रम्पका निर्णय र नीतिबाट नेपालले फाइदा लिन चुकिरहेको उनको धारणा छ ।
‘अमेरिकाको बदलिँदो परिवेशमा नेपालले आफ्नो पक्षमा लबिङ गर्नुपर्छ तर आफ्नै राजदूत नभएपछि यसबाट राष्ट्रिय हितमा क्षति पुगेको छ’, उनले भने ।
गभर्नर बन्ने दाउ
रेग्मीको दाउ भने अमेरिकाको राजदूतभन्दा नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने रहेको उनी निकट व्यक्तिहरू बताउँछन् । रेग्मीलाई राजदूतभन्दा गभर्नर बन्न रुचि भएको बताइन्छ । उनले आफू निकटहरूसँग गभर्नर या अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बन्न इच्छा रहेको बताउँदै आएका छन् ।
पूर्वप्रशासक रेग्मीसँग कूटनीतिज्ञको अनुभव निकै कम छ । २०७७ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा उनी बेलायतका लागि राजदूत भएका थिए । तर, देउवा सरकार बनेपछि कार्यभार सम्हालेको ५ महिनाको छोटो समयमै उनीसहितका १ दर्जन राजदूतहरूलाई एकसाथ फिर्ता बोलाइएको थियो ।
कूटनीतिक अनुभव कम भए पनि प्रशासनिक रूपमा भने उनी निकै चतुर मानिन्छन् । गृह मन्त्रालयको शाखा अधिकृतबाट सेवा प्रवेश गरेका उनी मुख्य सचिवबाट अवकाश पाएका हुन् । वन मन्त्रालयको सहसचिव, अर्थ मन्त्रालय बजेट तथा कार्यक्रमको उपसचिव, पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयको प्रशासक, वनको सचिव हुँदै उनले प्रशासनिक करियरमा उचाइ हासिल गरेका हु्न् ।
रेग्मी कर्मचारी छँदा पनि अरूले बिरलै पाउने ‘आकर्षक’ ठाउँ र अवसर पाउँदै आएका हुन् । कर्मचारी हुँदा महत्त्वपूर्ण पद कुनै पनि नछाडेका उनले १५ असोज २०७७ मा मु्ख्य सचिवबाट अवकाश पाएका थिए । अवकाशपछि पनि उनलाई अवसरले छाडेको छैन ।
उनका यी प्रत्येक अवसरमा राजनीतिक नेतृत्वले गुन लगाएको छ । जुनसुकै कित्ताको राजनीतिक नेतृत्वसँग उनको तालमेल मिल्दै आएको छ ।
राजनीतिक पृष्ठभूमि र झुकावमा रेग्मी नेपाली कांग्रेस निकट हुन् । तर, उनको पद पाउने कुरालाई त्यसले कुनै फरक पारेको छैन । कांग्रेस र एमाले दुवै दलका नेताहरूलाई रिझाएर पद हात पार्न उनी सफल हुँदै आएका छन् ।