तनहुँ : आँबुखैरेनी गाउँपालिका–३ की २५ वर्षीया सरिश्मा गुरुङले विसं २०७७ मा रु तीन हजार पाँच सय लगानी गरेर फूलको व्यापार सुरु गरिन् । फूलको व्यापार विस्तार गर्दै गुरुङले सभा–सेमिनार, पास्नी, विवाहलगायतका उत्सवको सजावट गर्दै आइरहेकी छन् ।
हाल उनले मासिक रु दुई लाख आम्दानी लिने गरेको गरिरहेकी छन् । गुरुङका अनुसार राम्रो कार्यक्रम भएमा सिजनमा महिनामै रु २० लाखसम्मको कारोबार हुन्छ ।
अन्य समयमा मासिक रु आठ–नौ लाखसम्म कारोबार हुने गरेको छ । खर्च कटाएर मासिक करिब रु दुई लाख बचत हुने उनले बताइन् ।
‘पोखरा र काठमाडौँमा काम भइरहेको छ । ग्राहकलाई थप सहजता दिन काठमाडौँमा नयाँ शाखा खोल्ने तयारी गरेका छौँ,’ गुरुङले भनिन् । अब फूल व्यवसायलाई अझ व्यवस्थित बनाउन नर्सरी स्थापना गर्ने तयारी गरेको उनले जानकारी दिइन् ।
‘व्यवसाय विस्तारका लागि जग्गा खोजी भइरहेको छ, फूल तथा बिरुवा उत्पादन र बिक्री अझ प्रभावकारी बनाउनेछौँ,’ उनले भनिन् ।