काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले रोजगारी सृजना गर्ने र पूर्वाधार बढाउने कुराहरुमा कोषहरुको उपयोग हुन नसकेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित नागरिक लगानी कोषको ३५औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले रोजगारी सृजना गर्ने र पूर्वाधार बढाउन आम जनतालाई सन्देश दिन खाँचो रहेको भन्दै कोषहरुको उपयोग गर्न नसकिएको बताए ।
उनले भने,‘रोजगारी सृजना गर्ने र पूर्वाधार बढाउने कुराहरु आम जनतालाई सन्देश दिनुपर्ने त्यतिकै खाँचो छ । तर हामीसँग भएको कोषहरुको उपयोग गर्न सकिएको छैन ।’ साथै उनले कोषहरुलाई विकास निर्माण, उत्पादनशील क्षेत्र र रोजगारी सृजना गर्ने क्षेत्रमा जाने हिसाबले अगाडि जान आग्रह गरे ।
त्यस्तै नागरिक लगानी कोषका अध्यक्ष सूर्य बहादुर थापाले देशमा आर्थिक क्षेत्रमा टेवा पुर्याउने एवम् रोजगारी सृजना गर्न कृषि, पर्यटन, उर्जा र भौतिक पूर्वाधार निर्माण जस्ता उत्पादनशील क्षेत्रमा आफ्नो लगानीलाई विस्तार गर्दै लैजानुपर्ने आवश्यक देखिएको बताए ।
उनले भने,‘भोलिका दिनमा देशमा आर्थिक क्षेत्रमा टेवा पुर्याउने एवम् रोजगारी सृजना गर्न कृषि पर्यटन उर्जा, भौतिक पूर्वाधार निर्माण जस्ता उत्पादनशील क्षेत्रमा आफ्नो लगानीलाई विस्तार गर्दै लैजानुपर्ने देखिएको छ ।’
कोष स्थापना कालदेखि नै निरन्तर नाफामा सञ्चालन भइरहनु, प्रत्येक वर्ष सहभागी सङ्ख्या वृद्धि हुनु नै कोषको सफलताको अधार भएको उनको भनाइ छ । सोही कार्यक्रममा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले कोषको लगानीलाई उत्पादनशील क्षेत्रमा प्रयोग गरेर मुलुकको समग्र अर्थतन्त्रलाई योगदान दिनुपर्ने बताएका छन् । उनले भने, ‘नागरिकको बचत परिचालन, सामाजिक सुरक्षाका कार्यक्रमहरु अघि बढाउनमा कोषको प्राथमिकता र यसको लगानीलाई उत्पादनशील क्षेत्रमा प्रयोग गरेर मुलुकको समग्र अर्थतन्त्रलाई योगदान दिन थप मार्गनिर्देश एवम प्रेरणा दिनेमा विश्वास व्यक्त गर्न चाहन्छु ।’