सुर्खेत : कर्णालीको राजधानी वीरेन्द्रनगरमा रहेको प्रदेश अस्पताललाई प्राज्ञिक संस्थाको रूपमा विकास गर्न सिफारिस गरिएको छ । प्रदेश सरकारले गठन गरेको विज्ञहरूको उच्चस्तरीय अध्ययन समितिले यस्तो सिफारिस गरेको हो ।
४ महिना लगाएर तयार पारेको अध्ययन प्रतिवेदन प्रदेश सरकारलाई बुझाउँदै समितिले कर्णालीको समग्र स्वास्थ्य सेवामा सुधार ल्याउने विभिन्न विकल्पहरू पनि सुझाएको छ ।
प्रदेश सरकारले वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको संयोजकत्वमा विज्ञहरू सम्मिलित अध्ययन समिति गठन गरेको थियो । सोही समितिले अध्ययन प्रतिवेदन प्रदेश सरकारलाई बुझाएको हो । प्रतिवेदनमार्फत समितिले प्रदेश अस्पताललाई स्तरोन्नति गर्न सुझाव दिएको छ ।
प्रतिवेदन बुझाउँदै समितिका संयोजक डा. कोइरालाले भने, ‘प्रदेश अस्पतालको स्तरोन्नतिको बारेमा हामीले अध्ययन गरेका थियौं, अध्ययनको निष्कर्षअनुसार नै हामीले अब प्रदेश अस्पताललाई प्राज्ञिक तथा शैक्षिक संस्थामा स्तरोन्नति गर्न सुझाव दिएका छौं ।’
कुनै बेला विशेषज्ञ चिकित्सक र उपकरणको अभावमा कर्णालीका बिरामीहरू उपचारका लागि बाहिर जानुपर्ने बाध्यता थियो । तर पछिल्लो समय प्रदेश अस्पतालमा दक्ष जनशक्ति र भौतिक संरचनाहरू उपलब्ध भएपछि उपचारमा सहज भएको छ । यही कारण पनि यो अस्पताललाई अब मेडिकल शिक्षा प्रदान गर्ने संस्थाको रूपमा विस्तार गर्नुपर्ने बहस सुरु भएको हो । प्रदेश सरकारले सम्भाव्यता अध्ययन गर्न समिति नै गठन गरेको थियो ।
समितिले प्रदेश अस्पतालको स्थलगत अध्ययन, कर्णालीको आर्थिक तथा भौतिक क्षमता, प्रदेशको आवश्यकता र सरोकारवालासँगको छलफलबाट प्रदेश अस्पताललाई मेडिकल शिक्षा प्रदान गर्ने प्राज्ञिक संस्थाको रूपमा स्तरोन्नति गर्न सुझाव दिएको हो ।
समितिका संयोजक डा. कोइरालाले प्रदेश अस्पताललाई प्राज्ञिक तथा शैक्षिक संस्थाको रूपमा विकास गर्न सकिने लगायतका विभिन्न ५ वटा विकल्प दिइएको जानकारी दिए । उनका अनुसार प्रतिवेदनमा कर्णालीको समग्र स्वास्थ्य सेवामा सुधार ल्याउन र प्रदेश अस्पताललाई स्तरोन्नति गर्नका लागि आवश्यक पर्ने जनशक्ति, संरचना, चुनौती र अवसरहरू समेटेर पाँच वटा विकल्पहरू दिइएको छ ।
समितिले राष्ट्रिय, अन्तर्राष्ट्रिय र प्रदेशका नीतिहरू अध्ययन गरिएको तथा सुझावहरू संकलन गरी प्रतिवेदन तयार पारिएको जनाएको छ । ५ वटा विकल्पहरूमध्ये प्रदेश सरकारले आफ्नो क्षमता र बजेटअनुसार कार्यान्वयन गर्न सक्ने समितिको भनाइ छ ।
प्रदेश अस्पताललाई शैक्षिक र प्राज्ञिक संस्थाको रूपमा स्तरोन्नति गरेर मेडिकल शिक्षा अध्ययन तथा अध्यापन गर्न सकिने सम्भावना रहेको समितिको निष्कर्ष छ । समितिले तयार पारेको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री यामलाल कँडेलले प्रतिवेदन अध्ययन गरेर सरकारले कार्यान्वयन गर्ने बताए । उनले भने, ‘प्रदेशमा सीमित स्रोत र साधन छन्, सरकारले आफ्नो क्षमता अनुसार समितिले दिएको सुझावलाई कार्यान्वयन गर्नेछ ।’
प्रदेश अस्पताल र समग्र कर्णालीको स्वास्थ्य क्षेत्रको अवस्थामा सुधार ल्याउन समितिले दिएका विकल्प र सुझावहरू कार्यान्वयनमा लैजाने समेत मुख्यमन्त्री कँडेलले प्रतिबद्धता जनाए । प्रदेश सरकारले डा. भगवान कोइरालाको संयोजकत्वमा ५ सदस्यीय अध्ययन समिति गठन गरेको थियो । समितिमा पाटन एकेडेमीका डा. अर्जुन कार्की, डा. सुरेश तिवारी, प्रदेश अस्पतालका निर्देशक डा. केशर ढकाल, डा. विकास केसी र डा. नवराज केसी सदस्य थिए ।