वीरगन्ज : नेशनल प्याब्सन पर्साद्वारा आयोजित जुनियर टी-२० क्रिकेट प्रतियोगिताको उपाधि आइडियल स्कुलले जितेको छ । वीरगन्ज महानगरपालिकास्थित नारायणी रंगशालामा सोमबार भएको प्रतियोगिताको फाइनल खेलमा ज्ञान निकेतन स्कुललाई ३० रनले पराजित गर्दै आइडियल स्कुलले उपाधि जितेको हो ।
आइडियल स्कुलले दिएको ११३ रनको लक्ष्य पछ्याएको ज्ञान निकेतनले निर्धारित १५ ओभरमा ८ विकेट गुमाउँदै ८२ रन मात्र बनाउन सक्यो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आइडियलले निर्धारित ओभरमा १० विकेट गुमाउँदै ११२ रन बनाएको थियो । फाइनल खेलको म्यान अफ दि म्याच आइडियल स्कुलका प्रीतम कुमार घोषित भए ।
यस्तै बेस्ट बलरको उपाधि ज्ञान निकेतन स्कुलका बलिराम साहले पाए भने बेष्ट ब्याट्सम्यानको उपाधि माउनट हरमन स्कुलका विश्वनाथ दासले पाए । बेष्ट विकेटकिपरको उपाधि आइडियल स्कुलका सदीक अन्सारीले पाउँदा बेस्ट फिल्डरको उपाधि विद्यासदन स्कुलका समीर देवानले पाए । यस्तै म्यान अफ दि सिरिज ज्ञानउदय स्कुलका सरजैल अल्ली मन्सुरीले पाए ।
प्रतियोगिता वीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने पर्सा क्रिकेट संघका अध्यक्ष मनीष कुमार साहको विशिष्ट आतिथ्यता रहेको थियो । नेशनल प्याब्सन पर्साका अध्यक्ष रामराज श्रेष्ठको अध्यक्षतामा प्रतियोगिता सम्पन्न भएको हो । कार्यक्रममा नेशनल प्याब्सनका उपाध्यक्ष डा. नन्दन यादव, सचिव इन्द्र देव शाहको विशेष आतिथ्यता रहेको थियो भने अतिथिमा नेशनल प्याब्सन पर्साका उपाध्यक्ष बिनोद गुप्ता रहेका थिए । यस्तै उत्तम गुप्ता, सोनालाल प्रसाद पटेल, शशी प्रकाश साह, सौकत अल्ली, तारा श्रेष्ठ, मुनिलाल यादव एवम् प्रतियोगिताका संयोजक सन्तोष साहलगायतको विशेष उपस्थिति रहेको थियो ।
सो अवसरमा उपमेयर आलमले नेशनल प्याब्सनको कार्य एकदम सराहनीय रहेको बताए । उनले मधेश सरकारले खेलकुद ऐन पारित गरेसँगै अब प्रदेश सरकारले खेलकुदको विकासका लागि काम गर्न पाउने बताए । मधेश प्रदेशमा खेलकुदको उच्च सम्भावना रहेकाले विभिन्न योजनाहरु ल्याउन उनले खेलकुद मन्त्रालयलाई आह्वान समेत गरे ।
वीरगन्ज महानगरपालिकाका उपप्रमुख आलमले प्रतियोगितामा विजेता तथा उपविजेतालाई ट्रफी, मेडल तथा मायाको चिनो प्रदान गरेका थिए ।
प्रतियोगितामा पर्सा जिल्लाभरबाट नेशनल प्याब्सनमा आबद्ध १६ वटा विद्यालयका विद्यार्थीहरूले भाग लिएको नेशनल प्याब्सन पर्साका अध्यक्ष रामराज श्रेष्ठले जानकारी गराए ।
कार्यक्रममा स्वागत मन्तव्य शिक्षक सन्तोष साहले राखेका थिए । खेलमा पर्सा जिल्लाका सतिश सिंह राजपुत र बारा जिल्लाका मैनुदिन अन्सारीले अम्पायरको भूमिका निभाएका थिए ।