२०८१ चैत ५ गते मङ्गलवार / Mar 18 , 2025 , Tuesday
२०८१ चैत ५ गते मङ्गलवार
Ads

‘ग्लोबल मनी वीक– २०२५’ सुरु

draupadi film
मध्यान्ह
२०८१ चैत ४ गते २०:२४
‘ग्लोबल मनी वीक– २०२५’ सुरु

काठमाडौं : थिंक विफोर यु फलो, वाइज मनी टुमारो’ भन्ने नाराका साथ ‘ग्लोबल मनी वीक–२०२५’ सोमबारदेखि आरम्भ भएको छ । हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो तेह्रौँ संस्करण हो । 

उक्त अभियानको पहिलो दिन सोमबार नेपाल राष्ट्र बैंकले नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र सहकारी विभागसँगको सहकार्यमा ग्लोबल मनी विकको उद्घाटन कार्यक्रम गरेको छ । विभिन्न विद्यालयका कक्षा ७ देखि ९ सम्म अध्ययनरत करिब ६ सय जना विद्यार्थीको सहभागिता थियो । गभर्नर महाप्रसाद अधिकारीले उक्त कार्यक्रमको उद्घाटन गरेका थिए । 

सो अवसरमा उनले वित्तीय साक्षरताको महत्वमाथि प्रकाश पार्दै आफ्नो आवश्यकताका आधारमा वित्तीय सेवाहरू छनोट गर्नुपर्ने धारणा राखेका थिए । ‘बैंक तथा वित्तीय संस्थाका आ–आफ्नै ‘प्रडक्ट’ हुन्छन्, बचत र कर्जाका फरक–फरक सर्त र ब्याजदर हुन्छन्, आफूलाई उपयुक्त हुने प्रडक्ट मात्र छनोट गर्नुपर्छ’, उनले भने । पछिल्लो समय डिजिटल वित्तीय कारोबारको विस्तारसँगै चुनौती समेत थपिएको उल्लेख गर्दै गभर्नर अधिकारीले डिजिटल माध्यमको प्रयोग गर्दा सतर्कता अपनाउन आह्वान गरेका छन् । 

कार्यक्रमको उद्घाटन सत्रमा डेपुटी गभर्नरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्रसँगै बैंकका कार्यकारी निर्देशक, निर्देशक, नेपाल धितोपत्र बोर्ड, नेपाल बीमा प्राधिकरण, सहकारी विभागका उच्च अधिकारी र बैंकरहरूको उपस्थिति थियो । कार्यक्रमको दोस्रो सत्रमा नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा प्राधिकरण, सहकारी विभाग, बैंकर्स एसोसिएनका अधिकारी र विद्यार्थीहरूको सहभागितामा प्यानल छलफल भएको थियो । 

सो अवसरमा राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डित, धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी, सहकारी विभागका निमित्त रजिष्ट्रार रघुनाथ महत र नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइरालाले आ–आफ्ना निकायको कार्य क्षेत्र र कामकारबाहीसँग सम्बन्धित विषयमा विद्यार्थीलाई जानकारी दिएका थिए । साथै, उनीहरूले विद्यार्थीले राखेका जिज्ञासाको जवाफसमेत दिएका थिए । 

यस अभियानअन्तर्गत बैंकिङ÷वित्तीय, पुँजी बजार, बीमा, सहकारी सेवाका विषयमा सचेतना अभिवृद्धिलाई लक्षित गरेर विभिन्न कार्यक्रम तय गरिएका छन् । जसअन्तर्गत वित्तीय सचेतनामूलक अन्तरक्रिया र विद्यार्थीमाझ चेतनामूलक प्रतियोगिता सञ्चालन हुनेछन् भने सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट चेतनामूलक कार्यक्रम, श्रब्यदृष्य सामग्री र अन्तर्वार्ताहरू प्रसारण गरिनेछन् । यसैगरी, विद्यार्थीलाई वित्तीय सेवा प्रदायक संस्थाका अवलोकन गराउने कार्यक्रमसमेत तय गरिएको छ । 

ADV

सम्बन्धित खबर

Advertise