२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

नागरिक लगानी कोषको ३५औं वार्षिकोत्सव सम्पन्न

Nada
२०८१ चैत ४ गते २०:२५
Shares
नागरिक लगानी कोषको ३५औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं : देशको अर्थतन्त्रमा योगदान पुर्‍याउने कार्य गर्नुपर्ने अर्थ सचिव घनश्याम उपाध्यायले बताएका छन् । नागरिक लगानी कोषको सोमबार सम्पन्न ३५औँ वार्षिकोत्सव कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

ncell

कोषले आफूसँग रहेको रकमलाई नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका र उत्पादनशील क्षेत्रमा प्रयोग गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउनु पर्नेमा उनले जोड दिए । आम नागरिकलाई कसरी कोषमा आबद्ध गराउने भन्नेतर्फ कोषले काम गर्नुपर्ने बताउँदै उनले सामाजिक सुरक्षाको क्षेत्रमा कोषले थप कार्य गर्नुपर्ने बताए । आगामी दिनमा नागरिकको हितमा कोषले काम गर्दै जाने छ भन्ने उनले अपेक्षा गरे ।

कोष सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाले उच्च आर्थिक विकासमार्फत् मात्रै समाजमा देखिएको विद्यमान बेरोजगारीको अन्त्य गर्न सकिने भन्दै दिगो विकास र स्थायित्वमा जोड दिए । आगामी दिनमा देशको आर्थिक वृद्धिदरमा टेवा पुर्‍याउने एवं रोजगारी सिर्जना गर्न कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार निर्माण जस्ता उत्पादनशील क्षेत्रमा आफ्नो लगानीलाई विस्तार गर्दै लैजानुपर्ने उनको भनाइ थियो । 

कोष स्थापनादेखि नै निरन्तर नाफामा सञ्चालन भइरहनु, प्रत्येक वर्ष सहभागी संख्या वृद्धि गर्न सफल हुनु र फरक–फरक किसिमका बचत योजनाहरू सफलतापूर्वक सञ्चालनमा ल्याउन सक्नु नै कोषको सफलताको आधार भएको उनले बताए । 

वार्षिकोत्सव कार्यक्रममा स्वागत मन्तव्य राख्दै कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले २ करोड ४४ लाख रुपैयाँको चुक्ता पुँजीबाट सुरु भएको कोषको अहिले चुक्ता पुँजी ६ अर्ब ४८ करोड १७ लाख पुगेको बताए । कोषमा आबद्ध करिब ७ लाख सहभागीलाई ध्यानमा राखेर सरल र झन्झट रहित सेवा र कोषको हिसाब किताब चुस्त दुरुस्त राख्न अटोमेसन र डिजिटलाइजेसनलाई कोषले प्राथमिकतामा राखेको उनको भनाइ थियो ।

कोषले लगानी विविधिकरणमा सघाउ पुग्ने गरी कर्जा नीति र लगानी नीतिमा केही परिमार्जन गरेको र आवश्यकताअनुसार थप परिमार्जन गर्दै आगामी दिनमा सरकारी प्राथमिकताका पूर्वाधार निर्माण, कृषि, उद्योग, पर्यटन तथा उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्न एवं पुँजी बजारको विकासमा थप सक्रिय हुने गरी कोषले कार्य गर्ने कार्यकारी निर्देशक कार्कीले बताए ।

त्यस्तै, कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोष लगायतका कोषहरूको लगानी उत्पादनमुलक क्षेत्र र रोजगारी बढाउने क्षेत्रमा प्रयोग गर्नुपर्ने बताए । ढकालले त्यस्ता कोषहरूको लगानी पूर्वाधार निर्माण, रोजगारी सिर्जना, पर्यटन प्रवद्र्धन, हाइड्रोपावरलगायतका क्षेत्रमा गर्नु पर्नेमा जोड दिएका थिए ।

ताजा खबर

सम्बन्धित खबर