काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकले ‘टपअप र फोनपे डाइरेक्ट गरौँ बम्पर उपहार जितौं’ भन्ने अभियान सार्वजनिक गरेको छ । सो अभियानअन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउनुका साथै बम्पर उपहार आईफोन १६ प्राप्त गर्न सक्नेछन् ।
यस अभियानको मुख्य उद्देश्य राष्ट्रिय वाणिज्य बैंकको ग्राहकहरूलाई डिजिटल कारोबार गर्न प्रेरित गर्नु हो । बैंकले मोबाइल टपअप र फोनपे डाइरेक्ट कारोबारलाई प्रवद्र्धन गर्दै डिजिटल बैंकिङलाई सहज र सजिलो बनाउन चाहन्छ ।
यस अभियानमा सहभागी हुन ग्राहकहरूले आरबीबी डिजिटल संसार मोबाइल बैंकिङ एपमार्फत कम्तीमा एक सय रुपैयाँको मोबाइल टपअप र कम्तीमा पाँच सय रुपैयाँको फोनपे डाइरेक्ट कारोबार गर्नुपर्ने बैंकले जनाएको छ ।
यी कारोबार पूरा गर्ने ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहारका लागि योग्य बन्न सक्छन् । यस अभियान अन्तर्गत हरेक हप्ता एक सय जना भाग्यशाली विजेताले एक सय रुपैयाँको मोबाइल टपअप प्राप्त गर्नेछन् । त्यसैगरी अभियानको अन्त्यमा एक भाग्यशाली ग्राहकलाई नयाँ आईफोन १६ प्रदान गरिनेछ । यो अभियान चैत्र १ गते देखि चैत्र ३१ गतेसम्म सञ्चालन हुने बैंकले जनाएको छ ।