२०८१ चैत ७ गते बिहिवार / Mar 20 , 2025 , Thursday
२०८१ चैत ७ गते बिहिवार
Ads

दौडधुपको अन्तर्य

draupadi film
२०८१ चैत ६ गते ०६:४५
दौडधुपको अन्तर्य

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन् । राइसिना डायलग कार्यक्रमका निम्ति एक साताको कार्यसूची सहित भारत भ्रमणमा रहेकी मन्त्री राणाको यो भेटवार्तालाई चासोका साथ हेरिएको छ । मन्त्री राणाले पनि सन्देश दिनकै निम्ति तस्वीर सार्वजनिक गरेको बुझ्न गाह्रो पर्दैन । तर भेटमा दुई देशको सम्बन्धबारे छलफल भएको मात्र लेखेकी छन् । परराष्ट्रमन्त्री स्तरीय भेटवार्ता, त्यो पनि अर्कै कार्यक्रम प्रयोजनमा भएको साइडलाइन सम्वादलाई यति धेरै महत्व दिइनुमा भने दुई देशबीचको सम्बन्ध कारण हो । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारप्रति भारतीय संस्थापन सन्तुष्ट देखिएको छैन ।

ओली प्रधानमन्त्री बनेको ९ महिना पुग्न लाग्दा समेत भारत भ्रमण हुन सकेको छैन भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि नेपाल आएका छैनन् । अमेरिकामा आयोजित अर्कै कार्यक्रमका सन्दर्भमा मोदीसँग भएको साइलाइन नै अहिलेसम्म दक्षिणी छिमेकसँग ओलीको उच्चतम भेटवार्ता हो । यो बीचमा प्रधानमन्त्री ओलीले उत्तरी छिमेक चीनको भ्रमण गरिसके । नेपालका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारतबाट गर्ने परम्परा तोड्दै ओलीले चीनको औपचारिक भ्रमण गरेका थिए । चीनबाट फर्केलगत्तै भारत भ्रमण गर्ने ओलीले सार्वजनिक रूपमै बताउने गरेका छन् । तर भ्रमण हुन सकेको छैन । बरू केहीपटक परराष्ट्रमन्त्री राणाले भारत भ्रमण गरिसकिन् । भेटवार्तामा सधैं प्रधानमन्त्री स्तरीय भ्रमणको कुरा हुने गरेको छ । तर अहिलेसम्म एकअर्का प्रधानमन्त्रीको भ्रमण हुन सकेको छैन ।

त्यसैले भारतीय विदेश मन्त्री एस जयशंकरसँग मन्त्री राणाको भेट–तस्वीरलाई चासोका साथ हेरिएको सहज अनुमान लगाउन सकिन्छ । विगतका तथ्यहरूले पनि मन्त्री राणाको प्रयत्न नै वर्तमान सरकार र भारतीय संस्थापनबीचको सम्बन्ध सुधारमा केन्द्रित रहेको देखिन्छ । यसको अर्थ अरू देशहरुसँगको सम्बन्धप्रति पहल नलिएको भन्ने होइन । तर भारतसँग सम्बन्धमा अलिक बढी पहलकदमी भइरहेको छ । यही अवस्थालाई लिएर नेपालमा सरकार परिवर्तनको संभावनाबारे पनि विश्लेषण सुनिन्छ । त्यस्तो विश्लेषण अथवा प्रयत्न राम्रो होइन । यदि सरकार फेरिने हो भने त्यसको कारण संसदको समीकरण हुनुपर्छ । नेताहरुको विवेक हुनुपर्छ । बाह्य कारण सरकार फेरिनु सार्वभौम मुलुकले कल्पना पनि गर्न सक्दैन । हाम्रा मन्त्री, प्रधानमन्त्री र नेताहरुले यसबारे हेक्का राख्नुपर्छ ।

ADV

सम्बन्धित खबर

Advertise