बझाङ : बझाङ जिल्लाका पाँचवटा क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) चुनावमा एमाले निकट अनेरास्ववियुले बढी स्थानमा जितेको छ ।
एमाले निकट अनेरास्ववियुले बझाङका पाँचवटा क्याम्पसमा सम्पन्न स्ववियू चुनावमध्ये दुई वटामा विजयी हुँदै आफ्नो प्रभाव जमाएको हो ।
निर्वाचन परिणाम अनुसार अनेरास्ववियुले दुईवटा क्याम्पसमा जित हात पार्न सफल भएको छ भने नेपाली कांग्रेस निकट नेविसंघले १, माओवादी निकट अखिल (क्रान्तिकारी) ले १ र समाजवादी निकट अनेरास्ववियूले १ क्याम्पसमा नेतृत्व लिएको छ ।
एमाले निकट अनेरास्ववियुले छविसपाथिभेरा गाउँपालिका–१ मा रहेको सेती क्याम्पस बगडगाउँ र वित्थडचिर गाउँपालिका–९ मा रहेको सुनकुडा क्याम्पस सुनकुडामा जित निकाल्दै आफ्नो पकड बलियो बनाएको छ । सेती क्याम्पसमा दिपेन्द्र दौल्याल र सुनकुडा क्याम्पसमा कपिल विष्टले जित हात पारेका छन् ।
कांग्रेस निकट नेविसंघले १ क्याम्पसमा बुंगल नगरपालिकामा रहेको त्रिवेणी क्याम्पसमा चन्द्र बोहरा विजयी भएका छन् । माओवादी निकट अखिल (क्रान्तिकारी) ले १ क्याम्पसमा जित हात पार्दै सशक्त उपस्थिति जनाएको छ ।
छविसपाथिभेरा गाउँपालिकामा रहेको शान्ति आदर्श क्याम्पसमा बम धामी विजयी भएका छन् । समाजवादी निकट अनेरास्ववियू १ क्याम्पसमा विजयी भएको छ । केदारस्युँ गाउँपालिकामा रहेको बझाङदिप क्याम्पसमा सुरेसराज जैशीले नेतृत्व लिएका छन् ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत बझाङमा ८ क्याम्पसमध्ये थलारा क्याम्पस र खापरदेव क्याम्पस गरी २ क्याम्पसमा विभिन्न कारणले चुनाव हुन सकेन । स्ववियु चुनावमा विद्यार्थी संगठनहरूबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । अनेरास्ववियुले अग्रता कायम गरे पनि नेविसंघ, अखिल (क्रान्तिकारी) र अनेरास्ववियूले समेत आफ्नो प्रभाव जमाएका छन् ।