रुकुम पश्चिम : रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा खेतीयोग्य जमिनमा सिँचाइको पहुँच बढ्दै गएको छ ।
पछिल्लो समय गाउँपालिकाले विभिन्न स्थानमा खेतीयोग्य जमिनमा सिँचाइको सुविधा बढाउँदै लगेको छ । पालिकामा रहेको खेतीयोग्य जमिनमध्ये करिब ५० प्रतिशत जमिनमा सिँचाइ सुविधा पुगेको सानीभेरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार पालिकामा ३ हजार ८२ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकामा ४८ दशमलव ६६ प्रतिशत अर्थात् १५ सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । गाउँपालिका खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउन निरन्तर लागिरहेको उनले बताए ।
यस्तै पालिकामा ९२ वटा कृषि समुह र ५२ वटा कृषि फर्म तथा कृषि नर्सरी स्थापना भइ संचालनमा रहेका छन् । पालिकामा आकस्मिक बाली संरक्षण कार्यक्रम सम्पन्न गरिएको छ । खाद्य तथा कृषि संगठन(एफएओ)को आर्थिक सहयोगमा वडा नम्बर १, २ र ४ मा १३ वटा समूहका ३ सय ८७ कृषकहरुलाई तरकारीको बिउ, ३ हजार ८७० किलो गहुँ र ७५ कृषकलाई प्लाष्टिक घर निर्माणमा सहयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत बुढाथोकीको भनाइ छ ।
युवालाई कृषि क्षेत्रमा आकर्षण गर्न तथा कृषि पेसालाई थप व्यवस्थित बनाउन गाउँपालिका लागिरहको पालिकाले जनाएको छ । कृषकलाई सहज सेवा प्रदान गर्न एक वडा एक कृषि तथा पशु प्राविधिक व्यवस्था गरिएको समेत गाउँपालिकाले जनाएको छ ।