दाङ : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले राजतन्त्र आउनु संविधान भत्काउनु सरह भएको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले घोराहीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै डा .भट्टराईले भने ‘राजा आउने कुरा भनेको संविधान भत्काउने कुरा हो भनेर बुझ्नुस् ।’
संविधान भत्काइदिने र देशमा ठूलो अस्थिरता ल्याउने खेलबाट यो राजतन्त्रको हल्ला चलेको उनले बताए ।
नेपालमा जनताबाट चुनिएको संविधानसभाबाट संविधान बनेकाले राजतन्त्र फर्किन नसक्ने उनको भनाइ छ ।
‘कि त काउन्टर कु हुनुपर्यो, कि सैन्य कु हुनुपर्यो, कि विदेशी शक्तिले आक्रमण गर्नुपर्यो’उनले भने, ‘होइन भने असम्भव कुरा किन गर्छन् ?यो गणतन्त्र जनताले लडेर ल्याएको हो ।’
संविधानले संसदको दुई तिहाइ बहुमतले जनमत संग्रहमा जाने निर्णय गर्नुपर्ने उनले बताए ।
यस्तै उनले नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङले राम्रो काम गरेको बताएका थिए । घिसिङले राम्रो काम गरिरहेकोले पूरा अवधि काम गर्न दिनुपर्ने उनको जोड थियो ।
डा.भट्टराईलाई ‘कालो झण्डा’
डा.भट्टराईलाई दाङमा कालो झण्डा देखाइएको छ । पत्रकार सम्मेलनमा राजाविरुद्धमा अभिव्यक्ति दिइरहेका डा.भट्टराईलाई युवाहरूले कालो झण्डा देखाउँदै प्रदर्शन गरेका हुन् । ‘संघीयता खारेज गर, धर्मनिरपेक्ष खारेज गर, हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए ।
राजावादी युवा समर्थक सन्देश भण्डारी क्षेत्रीको नेतृत्वमा रहेको टोलीले कालो झण्डा देखाउँदै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएका व्यक्तिहरूले बोकेको कालो झण्डा प्रहरीले खोसेको थियो । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) लुम्बिनी प्रदेशले दाङको घोराहीमा आयोजना गरेको ‘नयाँ युगको नयाँ कार्यभारः वैकल्पिक राजनीतिको औचित्य र आधार’ विषयक कार्यक्रमलाई सम्बोधनका लागि पूर्वप्रधानमन्त्री डा.भटराई दाङ आएका हुन् ।