काठमाडौं : दोस्रो राष्ट्रिय डिजिटल मिडिया अवार्ड २०८१ बाट पत्रकार, सञ्चारकर्मी तथा समाजसेवीहरू सम्मानित भएका छन् । बुधबार राष्ट्रिय नाचघरमा आयोजित समारोहमा पत्रकार, सञ्चारकर्मी तथा समाजसेवीहरूलाई सम्मान गरिएको हो ।
समारोहमा प्रमुख अतिथि प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगर, सांसद गणेश पराजुली, आयोजक न्यूज एक्सप्रेस मिडिया प्रा. लि.का अध्यक्ष मिलनसिंह परियार, प्रबन्ध निर्देशक जीवन अधिकारी र अनलाइन टिभी पत्रकार संघका अध्यक्ष तथा अवार्ड सिफारिस समितिका संयोजक जीवन भण्डारीले अवार्ड वितरण गरेका थिए ।
यस वर्षको डिजिटल मिडिया लाइफटाइम एचिभमेन्ट अवार्ड वरिष्ठ पत्रकार हरिहर विरहीलाई प्रदान गरिएको छ । उनले नेपाली पत्रकारिताको उत्थान, निष्पक्षता, सत्यतथ्य समाचारको प्रकाशन तथा प्रेस स्वतन्त्रताको रक्षा गर्दै लोकतन्त्रको मजबुतीकरणमा पुर्याएको योगदान अतुलनीय रहेकाले अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ । पत्रकारिताप्रतिको उनको निष्ठा, अडान, निर्भीकता, निष्पक्षता र योगदान धेरैका लागि प्रेरणादायी र अमूल्य रहेको पनि उनलाई प्रदान गरिएको प्रमाणपत्रमा उल्लेख गरिएको छ ।
न्यूज एक्सप्रेस मिडिया प्रा.लि.ले गत वर्षको पहिलो राष्ट्रिय डिजिटल मिडिया लाइफटाइम एचिभमेन्ट अवार्ड ९४ वर्षीय वरिष्ठ पत्रकार भैरव रिसाललाई प्रदान गरेको थियो ।
कार्यक्रममा डिजिटल मिडिया एडिटर अवार्ड प्राइम टाइम टिभीका प्रधान सम्पादक मुकुन्द दाहाल, वरिष्ठ पत्रकार डिजिटल मिडिया अवार्डबाट ठाकुर बेल्वासे, पपुलर डिजिटल मिडिया पर्सन अवार्डबाट इमेज टिभीका जगदिश खरेल, पपुलर डिजिटल मिडिया अवार्डबाट नेपाल टाइम्स अनलाइन टिभी, जनआवाज डिजिटल मिडिया अवार्डबाट न्यूज २४ का टेकनारायण भट्टराई, खोज पत्रकारिता अवार्डबाट अन्नपूर्ण पोस्ट दैनिककी ममता थापा, डिजिटल मिडिया उत्कृष्ट पत्रकारिता अवार्डबाट आजको प्रेस अनलाइन टिभीका रोहित भण्डारी, डिजिटल मिडिया प्रस्तोता अवार्डबाट कान्तिपुर टिभीकी रुपा खड्कालाई सम्मान गरिएको थियो ।
त्यसैगरी डिजिटल मिडिया क्रियाशील पत्रकारिता अवार्डबाट हेडलाइन नेपाल अनलाइन टिभीका संजीव रेग्मी, उद्यमशीलता प्रवर्द्धन पत्रकारिता अवार्डबाट सेतोपाटी अनलाइनकी सविना कार्की, डिजिटल मिडिया इथिकल अवार्डबाट सेरोफेरो अनलाइन टिभीका केशवराज जोशी, डिजिटल मिडिया कला पत्रकारिता अवार्डबाट गोपीकृष्ण चापागाईं, डिजिटल मिडिया युवा पत्रकारिता अवार्डबाट शिलापत्र अनलाइनका नवराज कुँवर, डिजिटल मिडिया कल्याणकारी पत्रकारिता अवार्डबाट मेचीकाली अनलाइन टिभीका भोजराज थापा, डिजिटल मिडिया क्यामेरापर्सन अवार्डबाट अनलाइन टिभी नेपालका नवराज गिरी, डिजिटल मिडिया युवा प्रोत्साहन अवार्डबाट केपी अनमोल र डिजिटल मिडिया प्रवास क्रियाशीलता पत्रकारिता अवार्डबाट लक्ष्मण पाठकलई सम्मान गरिएको थियो ।
कार्यक्रममा डिजिटल मिडिया एजुकेटर अवार्ड सेफर्ड मिडिया टेक्नोलोजी कलेजकी प्रमुख कविता शर्मा र उत्कृष्ट सञ्चार उद्यमी महिला अवार्ड प्राइम टाइम टिभीकी निर्देशक एलिजा गौतमलाई प्रदान गरिएको थियो भने हेमन्ता सुवेदी ढुंगेल, उमेश बोहरा, रुद्र ढुंगेल, विजय सापकोटा, देवकुमार पाख्रिन र रमेश खड्कालाई सामाजिक सेवामार्फत अमूल्य योगदान गरेको भन्दै कदरपत्र प्रदान गरिएको थियो ।
अवार्ड वितरणपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा प्रतिनिधिसभाकी उपसभामुख रानाले धेरै योगदान गरेका, असल र सफल व्यक्तित्वहरूलाई सम्मान गर्न पाउँदा गौरव महसुस भएको बताइन् । उनले महत्वपूर्ण व्यक्तिहरूलाई कदर गर्ने र काम गरिरहेका व्यक्तिहरूलाई थप पहिचान दिँदै प्रोत्साहन गर्ने न्यूज एक्सप्रेस मिडिया प्रा. लि.को पनि प्रशंसा गरिन् ।
कार्यक्रम आयोजना गर्न सगरमाथा नेपाल, डालिमा मिडिया र जनबोली टाइम्सले मुख्य प्रवर्द्धकको रूपमा योगदान गरेको आयोजकले जानकारी दिएको छ ।