काठमाडौं : काठमाडौंको सोल्टीमोडमा रहेको राइजिङ स्टार सेकेन्डरी बोर्डिङ स्कुलमा 'विद्यालयमा कुलपति कार्यक्रमका साथै प्रतिभा प्रवर्द्धन कार्यक्रम' सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा सो कार्यक्रम आयोजना गरिएको हो ।
प्रमुख अतिथि राईले स्कुल अध्ययन गर्दा भोजपुरमा आवतजावत गर्ने जंगलको बाटो एक्लै हिँड्नुपर्दाको कठिनाइबारे आफूले ७ /८ कक्षामा 'बाटो'बारे कविता लेखेको स्मरण गर्दै 'ह्यारी मलाई हतार छ' बोलको कविता सुनाएका थिए ।
उनले अब 'संस्कारसहितको शिक्षा' आवश्यक रहेको बताउँदै विद्यार्थीहरूलाई साहित्य साधनामा लाग्न प्रेरित गरे । कार्यक्रममा कुलपति राई र विद्यार्थीबीच कविता रचना प्रक्रियाबारे अन्तरसंवाद भएको थियो । साथै, विद्यार्थीबाट समेत कविता प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा अतिथिहरू प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमला, पत्रकार एवं कवि सगोत्री आचार्य, कवि राधा कार्की दुलाललगायतले मन्तव्य राखेका थिए ।
स्टार राइजिङ सेकेन्डरी बोर्डिङ स्कुल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रिन्सिपल राजुकुमार राईले स्वागत मन्तव्य राखेका थिए ।