
रौतहट : जिल्लाको राजपुर क्षेत्रमा भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइँदै गरेका करिब २ लाख ५० हजार रुपैयाँ बराबरका विभिन्न किसिमका इलेक्ट्रोनिक सामान प्रहरीले नियन्त्रणमा लिएको छ ।
सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार तथा तस्करी नियन्त्रणका लागि खटिएको प्रहरी टोलीले जाँचका क्रममा उक्त परिमाणका मालसामान बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय राजपुरबाट गस्ती तथा चेकिङका लागि खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो करिब ४ बजेको समयमा राजपुर नगरपालिका वडा नम्बर ५ स्थित क्षेत्रमा विशेष निगरानी र चेकजाँच गरेको थियो। सोही क्रममा भारततर्फबाट भन्सार प्रक्रिया पूर्ण रूपमा छली कुनै पनि किसिमको वैध कागजातबिना बोरा तथा झोलाहरूमा लुकाइछिपाई नेपालतर्फ ल्याउँदै गरेका अवस्थामा यी इलेक्ट्रोनिक सामग्रीहरू फेला परेका हुन् ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सामानहरूमा मोबाइल चार्जर, डाटा केबल, विभिन्न ब्राण्डका इयरफोन, हेडफोन, ब्लुटुथ स्पिकर तथा अन्य सहायक इलेक्ट्रोनिक सामग्रीहरू रहेका छन् ।
स्थानीय बजार मूल्यका आधारमा बरामद गरिएका यी सबै सामानको कुल अनुमानित मूल्य अन्दाजी २ लाख ५० हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।
खुला सिमानाका कारण तस्करहरूले सुरक्षा निकायको आँखा छलि साना तथा बोराका माध्यमबाट यस्ता किसिमका सामान भित्र्याउने गरेका छन् ।
पछिल्लो समय सीमावर्ती क्षेत्रमा अवैध चोरी पैठारी तथा राजस्व छलीका गतिविधिहरू नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी इकाइहरूले निगरानी र चेकजाँच अभियानलाई थप कडाइका साथ निरन्तरता दिँदै आएका छन् ।
बरामद गरिएका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूलाई इलाका प्रहरी कार्यालय राजपुरको नियन्त्रणमा राखिएको छ ।
उक्त सामानहरू कसले र कहाँ लैजाँदै थिए भन्ने बारेमा थप अनुसन्धान भइरहेको तथा आवश्यक कानुनी कारवाहीका लागि बरामद सामानसहितका कागजातहरू गौर भन्सार कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरीले जनाए ।