२०८३ कार्तिक २५ गते बुधवार / Nov 11 , 2026 , Wednesday
२०८३ कार्तिक २५ गते बुधवार

स्वास्थ्यका साझा चुनौती समाधान गर्न बिमस्टेक राष्ट्रबीच सहकार्य आवश्यक : मन्त्री मेहता

Nada
२०८३ कार्तिक २५ गते १४:४०
Shares
स्वास्थ्यका साझा चुनौती समाधान गर्न बिमस्टेक राष्ट्रबीच सहकार्य आवश्यक : मन्त्री मेहता

काठमाडौँ : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रका साझा चुनौती सामना गर्न बिमस्टेक सदस्य राष्ट्रहरूबीच सहकार्य र समन्वय थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी छन् ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) अन्तर्गत आयोजित विभिन्न कार्यक्रममा सहभागी हुँदै मन्त्री मेहताले क्षेत्रीय साझेदारीमार्फत स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याएकी हुन् ।

मन्त्री मेहताको सचिवालयका अनुसार कार्यक्रममा सदस्य राष्ट्रहरूबीच स्वास्थ्य क्षेत्रका विद्यमान चुनौती, तिनको समाधानका सम्भावित उपाय तथा स्वास्थ्य सेवाको प्रभावकारिता अभिवृद्धिका विषयमा छलफल भएको थियो ।

छलफलमा सहभागीहरूले स्वास्थ्य क्षेत्रमा हासिल गरेका ज्ञान, अनुभव र अभ्यास आदानप्रदान गर्दै साझा समस्याको समाधानका लागि क्षेत्रीय सहकार्य विस्तार गर्नुपर्ने विषयमा विचार राखेका थिए ।

मन्त्री मेहताले स्वास्थ्यसम्बन्धी चुनौती कुनै एक मुलुकमा मात्र सीमित नहुने भएकाले सदस्य राष्ट्रहरूबीच आपसी समझदारी र संस्थागत समन्वयलाई बलियो बनाउनुपर्नेमा विशेष जोड दिइन् । स्वास्थ्य प्रणालीको सुदृढीकरण, क्षेत्रीय साझेदारीको प्रवर्द्धन तथा साझा स्वास्थ्य चुनौतीहरूको प्रभावकारी सम्बोधनका लागि सदस्य राष्ट्रहरूबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा र मन्त्री मेहताका प्रमुख विज्ञ सल्लाहकार डा. मनोहर प्रधानको समेत सहभागिता रहेको सचिवालयले जनाएको छ ।

बिमस्टेक दक्षिण तथा दक्षिणपूर्वी एसियाका सात मुलुक सम्मिलित क्षेत्रीय सहयोग संगठन हो । यसले सदस्य राष्ट्रहरूबीच प्राविधिक, आर्थिक तथा विभिन्न क्षेत्रगत सहकार्य विस्तार गर्ने उद्देश्य राखेको छ ।

laxmi recruitement

सम्बन्धित खबर