काठमाडौं : दुई पांग्रे विद्युतीय सवारी साधनको लागि ब्याट्री–स्वापिङ प्रविधिमा विश्वव्यापी अग्रणी गोगोरोले काठमाडौं उपत्यकाभरी पूर्ण रूपमा सञ्चालित ४५ ब्याट्री स्वाप स्टेशनहरू स्थापना गरेको छ । गोगोरोले आफ्नो प्रतिबद्धता अनुरूप स्मार्ट स्कुटरको बिक्री गर्नु अघि नै बलियो नेटवर्क पूर्वाधार निर्माण गरेको हो ।
रणनीतिक रूपमा प्रत्येक २ देखि ३ किलोमिटरमा अवस्थित गोगोरोका ४५ स्वाप स्टेशनले चार्जिङको लागि पर्खने झन्झट हटाउँदै फुल चार्ज गरिएका ब्याट्रीमा सजिलै पहुँच प्रदान गर्ने जनाइएको छ । यात्रुलाई सहज हुने गरी प्रमुख सहरी र आसपासका क्षेत्रमा अवस्थित स्वाप स्टेशन चौबिसै घण्टा सञ्चालनमा रहने, पहिलो पटक प्रयोग गर्नेका लागि पनि सहज र सरल ब्याट्री स्वाप प्रणाली, वास्तविक समय ब्याट्री, स्वास्थ्य निगरानी तथा अन्य सुरक्षा मापदण्डहरू यसका विशेषता रहेको कम्पनीले जनाएको छ ।
स्टेसन सञ्चालनमा आएसँगै राइडरले ब्याट्री सकिने वा चार्जिङको लागि धेरै समय पर्खने बारेमा कहिल्यै चिन्ता गर्नु पर्दैन । हाल गोगोरोका स्टेसनहरू पेट्रोल पम्प, सुपरमार्केट तथा अन्य रणनीतिक स्थानहरूमा राखिएका छन् । हाल काठमाडौंमा दैनिक एक सय भन्दा बढी स्वाप भइरहेको छन् र यो बढ्दो क्रममा रहेको कम्पनीले जनाएको छ ।