पोखरा : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । पोखरा विमानस्थल कार्यालयका अनुसार ल्हासाबाट आएको हिमालय एयरलाइन्सको जहाज सोमबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । यससँगै हिमालय पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान थाल्ने पहिलो वायुसेवा कम्पनी समेत बनेको छ ।
सो जहाजमा एक सय सात यात्रु पोखरा अवतरण गरेका थिए, यसमध्ये ३२ चिनियाँ र ७५ नेपाली नागरिक आएका छन् । उनीहरूलाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे र नेपालका लागि चिनियाँ राजदूत छेन सङले स्वागत गरेका थिए ।
जहाज सोमबार पोखरामै बसेर भोलि ल्हासाका लागि उड्ने जनाइएको छ । हिमालयले पोखरा–ल्हासा रुटमा सातामा एक नियमित उडान गर्ने गरी उडान थालेको छ । यात्रु संख्या बढेसँगै यसलाई विस्तार गरिने कम्पनीले जनाएको छ ।