२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

बेनीमा चक्रपथ स्तरोन्नति सुरु

Nada
२०८१ चैत २० गते १२:३०
Shares
बेनीमा चक्रपथ स्तरोन्नति सुरु

म्याग्दीः जिल्ला सदरमुकाम बेनी बजारमा चक्रपथ स्तरोन्नति योजना सुरु भएको छ । बेनी नगरपालिका–८ कालीपुलदेखि वडा नम्बर ७ मा रहेको दरवाङ बसपार्क जोड्ने कालीगण्डकी र म्याग्दी नदी किनारको सडक स्तरोन्नति गर्न थालिएको हो । 

ncell

सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङसँग रु तीन करोड १९ लाखमा ठेक्का सम्झौता गरेको विकेश–दुप्चेश्वर–सुभम जेभीले पहिलो चरणमा नाली निर्माणको काम थालेको छ । योजनामार्फत ९०० मिटर सडकको कुनातर्फ टेवा पर्खाल, नाली, डिलमा रेलिङ निर्माण गरी पाँचदेखि छ मिटर चौडाइका दरले ढलान गरिने आयोजना कार्यालयका इञ्जिनियर वीरवल सुनारले जानकारी दिए । 

बेनी बजारलाई कालीगण्डकी र म्याग्दी नदीको कटान नियन्त्रणका लागि निर्माण भएको पक्कि पर्खाल पछाडिको भागमा माटो फिलिङ गरेर बनाइएको सडकलाई स्तरोन्नति गर्न लागिएको हो । नेपाल सरकारले अगाडि बढाएको १० वटा नमूना नगरपालिका कार्यक्रमअन्तर्गत नगरपालिकाले बेनी चक्रपथ स्तरोन्नति योजना प्रस्ताव गरेअनुसार बजेट विनियोजन भएर योजना अघि बढेको नगरप्रमुख सुरत केसीले बताए । 

‘चक्रपथ स्तरोन्नति भएपछि ठूला सवारीसाधनलाई चक्रपथबाट आवतजावत गर्न सहज हु्नेछ’, उनले भने, ‘हाल चक्रपथबाट उडेको धुलो बजारमा आएर प्रदूषण हुने समस्या पनि स्तरोन्नति भएपछि समाधान हुनेछ ।’ बेनी बजारभित्रको सडकमा सवारी चाप घटाउनका लागि चक्रपथबाट मालबाहक र बजारभित्र रोक्नु नपर्ने सवारीसाधनलाई सञ्चालनको व्यवस्था मिलाइएको छ । 

चक्रपथ स्तरोन्नति निर्माण सम्पन्न भएपछि सडक छेउछाउमा फूल रोप्ने र विद्युतीकरण गरेर सौन्दर्यकरण गर्ने योजना रहेको बेनी–८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए । तीन वर्षे योजनाअन्तर्गत आर्थिक वर्ष २०८२/८३ का लागि दरवाङ बसपार्क ढलान र २०८३/८४ मा उक्त बसपार्कमा टर्मिनल भवन निर्माण गर्न सहरी विकास मन्त्रालयलाई प्रस्ताव गरिएको छ । प्रयाप्त मजदुर र उपकरण परिचालन गरेर निर्धारित समयभित्रनै योजना सम्पन्न गरिने निर्माण कम्पनीका प्रतिनिधि सुवासचन्द्र कार्कीले बताए । रासस
 

सम्बन्धित खबर