काठमाडौं : नेपाल मोबाइल वितरक संघको तेस्रो महाधिवेशनबाट अध्यक्षमा रघु त्रिपाठी निर्विरोध चयन भएका छन् ।
नगरकोटस्थित रत्नागीरी होटलमा शुक्रबार सम्पन्न महाधिवेशनमार्फत त्रिपाठीको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् ।
नवगठित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा हरि केसी, उपाध्यक्ष राम नारायण दास, महासचिव बाल नरसिंह कुँवर, सचिव नवीन बाँस्तोला, कोषाध्यक्ष रामचन्द्र श्रेष्ठ, सह–कोषाध्यक्ष विनोद केसी चयन भएका छन् ।
त्यसैगरी, सदस्यहरूमा दिपेन्द्र चौलागाईं, विजय चौधरी, निकित अग्रवाल, श्रीशान्त थापा, दीपक कोइराला, चित्र बस्नेत, तथा निशान्त कुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । संघलाई अझ मजबुत र सशक्त ढंगबाट अघि बढाउन, बजारका बेथिति र अबैध कारोबारलाई निरुत्साहित पार्न, मोबाइल फोन आयातकर्ता संघ र मोबाइल व्यवसायी महासंघसँग सहकार्य गरेर व्यवसाय न्याय रक्षाको खातिर एकजुटभइ अघि बढ्ने अध्यक्ष त्रिपाठीले बताए ।
लगानीको सुरक्षा व्यवसायको सुनिश्चितताका लागि मोबाइल वितरक व्यवसायीहरूले ९ वर्ष अघि यस संघको स्थापना गरेका हुन् । व्यवसायीले बैंकबाट ऋण लिएर व्यवसाय सञ्चालन गर्दा न्यूनतम प्रतिफलको सामना गर्नुपरिरहेको छ । लगानीको बढ्दो जोखिम र धेरै ब्यवसायीहरु पलायन हुने अवस्था रहेको छ । लगानीको उच्चतम प्रतिफल सुनिश्चित नहुँदा यस व्यवसायमा नयाँ व्यवसायीको सहभागिता न्यून देखिएको र यसको सुधारका लागि सबै मोबाइल व्यवसायीहरू एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प नभएको अध्यक्ष त्रिपाठीको भनाइ छ ।
उनका अनुसार नवनिर्वाचित कार्यसमितिले संघलाई अझ सशक्त रूपमा अगाडि बढाउनुका साथै बेथिति र अवैध कारोबारलाई निरुत्साहित गर्दै सबै पक्षसँग समन्वय गरेर व्यवसायको न्यायोचित रक्षा गर्नका लागि संघ प्रतिबद्ध रहने छ ।