रौतहट : रौतहट गौरमा नेपाल–भारत पत्रकारिता संवाद सम्पन्न भएको छ । नेपाल तथा भारतका पत्रकारहरूको बीचमा संवाद र आपसी समझदारी बढाउने उद्देश्यले संवाद कार्यक्रमको आयोजना गरिएको हो । घण्टाघर चोकस्थित मध्यान्ह राष्ट्रिय दैनिकको सम्पर्क कार्यालय सभा हलमा सम्पन्न कार्यक्रममा विभिन्न संचारगृहका प्रतिनिधिहरू तथा मिडिया क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि इन्डियन जर्नलिस्ट एसोसिएसनका अध्यक्ष सेराज अहमद कुरैसीले नेपाल र भारतका पत्रकारहरूको सुरक्षा र कामकाजी परिस्थितिहरूमा सुधार ल्याउनुपर्ने आवश्यकता रहेको बताए । उनले पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्नका लागि सरकारबाट सशक्त कदम उठाउनुपर्ने बताउँदै पत्रकारको हत्या, धम्की र अन्य असुरक्षित परिस्थितिहरूलाई गम्भीरताका साथ लिने विषयमा उनले धारणा राखे ।
कुरैसीले भने,‘नेपाल र भारतका पत्रकारहरूले रोजगारीका खतरनाक स्थितिहरू भोगिरहेका छन्। यसका साथै, पत्रकारको हत्या हुनु र उनलाई धम्की दिनु सस्तो र अस्वीकृत व्यवहार हो । सरकारले यसलाई रोक्नका लागि कडा कदम चाल्नुपर्छ ।’ उनले सरकारसँग आग्रह गरे पत्रकारको सुरक्षा कानुनी रूपमा सुनिश्चित गर्न, मृतक पत्रकारको परिवारको आर्थिक उद्धारका लागि एक सदस्यलाई जागिर दिने व्यवस्था गर्नु र पत्रकारको मुआवजÞका बारेमा सुनिश्चितता प्रदान गर्नु अत्यन्त आवश्यक रहेको बताए । साथै, पत्रकारले कुनै पनि नेता वा कर्मचारीको भ्रष्टाचारबारे समाचार सम्प्रेषण गर्दा तिनीहरूबाट धम्की वा अपमानको सामना नगर्नुपर्ने उनको जोड थियो ।
उनले कोरोनाको महामारीका बेला सरकारले पत्रकारहरूको स्थिति र सुरक्षा प्रतिको ध्यान नदिएकोमा गुनासो व्यक्त गर्दै भने, ‘सरकारले कोरोनाका बेला प्रहरी प्रशासन र स्वास्थ्यकर्मीलाई सुविधा उपलब्ध गराएको थियो, तर पत्रकारलाई भने ध्यान दिइएन। पत्रकार राष्ट्रका चौथो अंग हुन् र उनीहरूको सुरक्षाका लागि सरकारी कदम अनिवार्य छन् ।’
उनले सरकारले पत्रकारहरूको लागि स्थानीय स्तरमा १० हजार, प्रदेश स्तरमा १५ हजार र राष्ट्रिय स्तरमा २० हजार रुपैयाँ मासिक व्यवस्था गर्नुपर्ने प्रस्ताव गरे । नेपाल र भारतका मिडियाबीचको आपसी सम्बन्ध र सांस्कृतिक आदान–प्रदानलाई प्रवद्र्धन गर्नका लागि आवश्यक कदम चाल्नुपर्ने उनले बताए । नेपाल र भारतका मिडिया संस्थाहरूले आफ्ना पत्रकारितामा पारदर्शिता र निष्पक्षताको महत्व दिन थालेका छन् । जसले दुवै देशमा समझदारी र आपसी सम्मानको प्रवद्र्धन गर्ने विश्वास राखिएको छ । कार्यक्रममा प्रतीक दैनिकका पत्रकार शैलेन्द्र झा, मधेश भूमिकाका कार्यकारी सम्पादक राकेश यादवलगायत विभिन्न संचारक्षेत्रका संचारकर्मीहरूको सहभागिता रहेको थियो ।