२०८२ वैशाख ५ गते शुक्रवार / Apr 18 , 2025 , Friday
२०८२ वैशाख ५ गते शुक्रवार
Ads

जङ्गल जोगाउन उपभोक्तालाई ग्यास सिलिण्डर र चुल्हो वितरण

draupadi film
मध्यान्ह
२०८१ चैत २७ गते ११:४८
जङ्गल जोगाउन उपभोक्तालाई ग्यास सिलिण्डर र चुल्हो वितरण

कैलालीः भजनी नगरपालिका–९ का हेमराज चौधरीको आर्थिक अवस्था कमजोर छ । उनलाई खाना पकाउन दाउरा चाहिन्थ्यो ।  दाउराको आवश्यकता उनले नजिकैको सामुदायिक वनबाट टार्दै आइरहेका थिए । उनी दाउराको चुल्होबाट मुक्त भएका छन् । ओम शान्ति सामुदायिक वनले ग्यास सिलिण्डरसँगै चुल्हो पनि वितरण गरेपछि उनको मुहारमा चम आएको छ ।

सामुदायिक वनले विपन्न उपभोक्तालाई ग्यास र चुल्हो वितरण गरेसँगै हेमराजजस्तै १८० परिवार दाउराको निर्भरताबाट मुक्त भएका छन् । हेमराज भन्छन्, ‘ग्यास चुल्हो पाएपछि त्यसैको सदुपयोग गर्छौँ । जङ्गल गएर दाउरा खोज्नुपर्ने बाध्यता अन्त्य भएको छ ।’ 

वर्षौँदेखि दाउरा बालेर खाना पकाउनुपर्ने बाध्यता अन्त्य भएपछि सामुदायिक वनकी उपभोक्ता मधुदेवी चौधरी पनि दङदास छिन् । ‘दाउराको जोहो गर्ने दिन गए । अब दाउरा खोज्ने समय अन्य काममा सदुपयोग गर्छु’, उनले भनिन्, ‘सिलिण्डरसँगै सँगै चुल्हो पनि पाएपछि हामी खुसी छौँ ।’ 

उपभोक्ता सुनिता चौधरीलाई यस वर्ष वर्षात्को समयमा हुने चिन्ता हटेको छ । दाउरामै खाना पकाउनुपर्ने बाध्यतामा रहेकी सुनिताले वर्षातको समयमा दाउरा पानीले भिजेको हुने हुँदा खाना पकाउन निकै दुःख हुने गरेको बताइन् । ‘दाउरा ओभानोमा राख्ने ठाउँ छैन । आँगनमा राखेका दाउरा राम्रोसँग बल्दैनन्’, उनी भन्छिन्, ‘अब त्यो पीडा फर्केर आउने छैन । घरमा ग्यास भएपछि खाना पकाउन सहज भएको छ ।’ 

विपन्न परिवारका आशाराम चौधरी सामुदायिक वनले ग्यास चुल्हो उपलब्ध गराउँदा आगामी दिनमा समयको बचत हुने बताउँछन् । उनले दाउरा खोज्ने समय उत्पादनका क्षेत्रमा सदुपयोग गर्न सकिने बताए । ‘एक जना दाउराको खोजीमा हिँड्नुपथ्र्यो । त्यति मात्र नभई खाना पकाउन पनि एक जनाको दैनिकी बन्दै आएको थियो’, उनले भने, ‘अब खाना पकाउन कसैलाई जिम्मा दिएर राख्नुपर्ने छैन । जतिबेला पनि खाना पकाएर खान सकिने भएको छ ।’ 

वनको आम्दानीबाट १८० परिवारलाई प्रतिपरिवार रु आठ हजारका दरले ग्यास चुल्हो वितरण गरिएको वनका अध्यक्ष राजकुमार चौधरीले जानकारी दिए । ‘बर्सेनि उपभोक्तालाई दाउरा उपलब्ध गराउनुपर्ने हुन्थ्यो । उहाँहरूको मागअनुसार दाउरा उपलब्ध नहुँदा झन् जङ्गल बढी मासिन थाल्यो’, उनले भने, ‘अब अधिकांश विपन्न परिवारले ग्यास चुल्हो पाएका छन् । जङ्गल जोगिने आशा छ ।’ रासस 

ADV

सम्बन्धित खबर

Advertise