२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

नेपाली जनसम्पर्क समिति कतार र काठमाडौं मेडिकल कलेजबीच सम्झौता

ADV
तिलु शर्मा पौडेल
२०८१ जेठ २२ गते १९:४२
नेपाली जनसम्पर्क समिति कतार र काठमाडौं मेडिकल कलेजबीच सम्झौता

दोहा, कतार : नेपाली कांग्रेसको प्रवास शाखा अन्तर्गतको नेपाली जनसम्पर्क समिति कतारले स्वागत, सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । समितिले आफ्नो एक हप्ताभन्दा लामो युरोप भ्रमण सकेर मातृभूमि फर्कने क्रममा कतार भ्रमणका लागि आइपुगेका मोरङ क्षेत्र नं. ३ बाट संघीय सांसद रहेका सुनिल कुमार शर्मा, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य गोमा भट्टराईसहित कतार भ्रमणमा रहेका नेपाली कांग्रेसकी महासमिति सदस्य रिता ढकाल दवाडी र डा इन्दिरा शर्मा बराललाई स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममार्फत समिति कतार र काठमाडौं मेडिकल कलेजबीच स्वास्थ्य उपचारसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । सोमबार साँझ नजमामा अवस्थित दरबार रेस्टुरेन्टमा कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालको रोहबरमा मेडिकल कलेज (पहिलो पक्ष)का तर्फबाट कार्यकारी अध्यक्ष सोइना शर्मा र समिति (दोस्रो पक्ष) कतारका तर्फबाट कार्यक्रमका सभापतिसमेत रहेका समितिका सभापति मोहमद अजिज अलिले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

सम्झौता पत्रमा कतारमा कार्यरत रहँदा बिरामी भएर उपचारका लागि आर्थिक अभाव भइ नेपाल फर्केर उपचार गराउनु परेको अवस्था रहेमा अतिन्यून आय भएका बिरामीहरूलाई समिति कतारले सिफारिस गरेपछि सहुलियतमा उपचार गराउने उल्लेख गरिएको छ । उपचारमा एमआरआई, सिटी स्क्यान, शल्यक्रियाहरूसहित बहिरङ्ग विभागमा आइ जाँच गराउँदा ५० प्रतिशत छुट उपलब्ध हुने जनाइएको छ । त्यस्तै अस्पतालमा भर्ना भइ उपचार गराउँदा ५० प्रतिशत छुट उपलब्ध हुने, कतारमा काम गर्दै आएका श्रमिकको आश्रित परिवार सदस्यको हकमा अस्पताल सेवामा १५ प्रतिशत छुट उपलब्ध हुने भएको छ ।

उपचारका लागि कतारबाट आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजसम्म बिरामी आउँदा प्रथम पक्षको एम्बुलेन्स प्रयोग गरिएको खण्डमा शुल्क पाँच सय रुपैयाँमात्र लाग्ने, उपचारका लागि आउने बिरामीले अनिवार्यरूपमा आफ्नो परिचय खुल्ने कतारी आईडीसहित समितिले बिरामीको विवरण खुलाइ सहुलियतमा उपचार गराउन जारी गरेको सिफारिस पत्र अस्पताललाई पेस गर्नुपर्ने छ । पत्रमा बिरामीको नाम, ठेगाना, उमेर, आर्थिक अवस्था स्पष्ट खुलाइएको हुनुपर्ने छ । कतारमा कार्यरत नेपालीको आश्रित परिवार सदस्यको हकमा कतारमा कार्यरत नेपालीको परिचय खुल्ने कागजात र बिरामीसँगको नाता खुल्ने कागजात अनिवार्य पेस गर्नुपर्ने छ ।

उक्त सम्झौता हस्ताक्षर भएको मितिबाट लागू भइ २०८२ साल असार मसान्तसम्म कायम रहनेछ । यसअघि सोमबार दिउँसो नेपाली दूतावासमा राजदूत ढकालको रोहबरमा मेडिकल कलेज (पहिलो पक्ष) र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) (दोस्रो पक्ष) रहने गरी सम्झौता भइसकेको छ ।

कार्यक्रममा बोल्ने वक्ताहरूले डा. शर्माले सांसदबाट तलब सुविधा पनि नलिने र आफ्नो व्यापार व्यवसायबाट भएको आम्दानी पनि जनताका दु:ख टार्नमा सहयोग गरिरहेको बताए । स्वास्थ्य व्यवसायीसमेत रहेका डा. शर्मालाई नेपाली कांग्रेस वृत्तमा "आइडल"का रूपमा हेरिने गरेको छ । आफ्नो मन्तव्यका क्रममा समिति कतारका संस्थापक सभापति एवम् महासमिति सदस्य नरेन्द्र भाटले आगामी चुनावमा प्रवासबाट भोट हाल्न पाउने अधिकार सुनिश्चितता गर्नुपर्ने कांग्रेसको पहिलो दायित्व रहेको बताए । उनले पुराना दललाई गाली गरेर उदाएका नयाँ दललाई परास्त गर्न पनि २०८४ को चुनावमा विश्वभरबाट भोट हाल्न पाउनुपर्ने अधिकार लागू गर्नुपर्ने आवश्यकता रहेको औंल्याए ।

समितिका संस्थापक महामन्त्री एवम् महासमिति सदस्य विमल सुवेदीले सामाजिक कार्यसहितको राजनीति राम्रो भएको बताउँदै सामाजिक भावले पार्टीले काम गर्नुपर्नेमा जोड दिए । उनले राम्रो मान्छे जहाँ गए पनि राम्रो गर्छ भन्ने सन्देश आज भएको सम्झौताले दिएको बताए । पञ्च्यातकालपछि आजसम्म हेर्दा शिक्षादेखि बाटोसम्मका विकासमा नेपाली कांग्रेसले सफलतापूर्वक काम गरे पनि जनतासमक्ष ती कुराहरू बुझाउन नसकेको राजदूत ढकालको भनाइ थियो ।

आफ्नो शुभकामना मन्तव्य राख्दै डा. शर्माले कांग्रेसभित्र गुट-उपगुट रहेको स्वीकार्दै पार्टीको नेतृत्व तह सच्चिन आवश्यक रहेको बताए । उनले आगामी अधिवेशनलाई लक्षित गर्दै नेपालमा राम्रा सडक, खानेपानीको व्यवस्था, प्रत्येक बच्चाहरूले पढ्न पाउने अधिकारसहित देशमा सुरक्षाको प्रत्याभूति दिलाउन तपाईंका के-के योजना छन् भनेर नेतृत्वमा आउन चाहनेलाई सोध्न आग्रह गरे । कार्यकर्ता पार्टीका तर्फबाट कहीँकतै आफ्नो टिकट बन्छ कि भन्ने लालचमा नबोल्दा पार्टी बिग्रँदै गएको उनको भनाइ थियो ।

समितिका महामन्त्री केदार भुसालले सहजीकरण गरेको कार्यक्रममा उप-सभापति ठाकुर कुमार परियारले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा महासमिति सदस्यहरू, संस्थापक सल्लाहकार एवम् महाधिवेशन प्रतिनिधिहरू, सल्लाहकारहरू, पूर्व पदाधिकारीहरू, राष्ट्रिय लोकतन्त्र समाजवादमा आस्थावानहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको समापन गर्दै सभापति अलिले जन सम्पर्क समिति कतार निर्विवाद चलिरहेको बताए । उनले महासमिति बैठकमा विश्वभरका जनसम्पर्क समितिको तर्फबाट आफ्ना धारणा र सुझाव पठाएको स्मरण गर्दै समितिलाई अनिर्णयको बन्दी नबनाउन केन्द्रीय सदस्यहरूसमक्ष अनुरोध गरे । उनले लिखितभन्दा व्यवहारिकरूपमा अपनत्व हुने गरी प्रवासबाट पनि केन्द्रीय सदस्य बन्ने व्यवस्था गरिदिन आग्रह गरे ।

ADVADV

सम्बन्धित खबर

Advertise