२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

कागजमा होइन, प्रतिफलमा देखिने काम चाहिन्छ : ऊर्जामन्त्री खड्का

Nada
२०८२ वैशाख ३ गते २०:१६
Shares
कागजमा होइन, प्रतिफलमा देखिने काम चाहिन्छ : ऊर्जामन्त्री खड्का

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले मन्त्रालय अन्तर्गतका उच्च तहका कर्मचारीहरूसँगको छलफलमा कागजी प्रगतिमा होइन, प्रत्यक्ष देखिने परिणाममा केन्द्रित हुनुपर्ने स्पष्ट निर्देशन दिएका छन् ।

ncell

"अब कागजमा मात्र प्रगति देखाएर हुँदैन, लगानीको प्रतिफल देखिने गरी काम गर्नुपर्छ," मन्त्री खड्काले दोहोर्‍याउँदै भने । उनले नेपाल विद्युत् प्राधिकरणमा विगत १० वर्षदेखि थन्किएर बसेको डेडिकेटेड र ट्रंकलाइनको बक्यौता तत्काल उठाउन कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई निर्देशन दिनुभयो । साथै, सबै आयोजनाको प्रगति स्पष्ट हुने गरी श्वेतपत्र सार्वजनिक गर्न समेत मन्त्री खड्काले निर्देशन दिए ।

सरकारी ढिलाइ र निजी क्षेत्रको फूर्ति

ऊर्जामन्त्री खड्काले निजी क्षेत्रले छिटो सक्ने योजना अध्ययनको काममा सरकारी संयन्त्र ढिलो हुनु चिन्ताजनक रहेको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरे । "हिजो मागिएको बजेटको प्रतिफल देखिएन भने अहिले फेरि किन माग गर्ने ?" मन्त्री खड्काको यो प्रश्नले सरकारी संयन्त्रभित्रको कार्यशैलीमा गम्भीर आत्मसमीक्षा आवश्यक रहेको सन्देश दिएको छ।

बरखेजस्ता बहानामा बजेट सिध्याउने प्रवृत्तिमा आपत्ति

"बरखे बजेटको नाममा काम नगरी बजेट सिध्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ," मन्त्री खड्काले भने । उनले कार्यसम्पादन मूल्यांकनमा सुधार गरी परिणाममुखी प्रणाली निर्माण गर्न समेत निर्देशन दिए ।

ऊर्जा विकासका प्राथमिकता र दिशा

मन्त्री खड्काले ऊर्जा विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रसारण लाइन निर्माणको गति तीव्र बनाउने तथा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए । सौर्य ऊर्जा जडान कार्यक्रममार्फत विपन्न वर्गको जीवनस्तर सुधार गर्न सकिने सम्भावना औंल्याउँदै उनले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई समेत सक्रिय बन्न निर्देशन दिए ।

सरकारी संयन्त्रलाई चनाखो बनाउने संकेत

ऊर्जा सचिव सुरेश आचार्य, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी, जल तथा ऊर्जा आयोगका सचिव मधुप्रसाद भेटुवाल लगायत उच्चतहका कर्मचारी सदस्यहरूसँग भएको छलफलमा मन्त्री खड्काले स्पष्ट रूपमा समन्वय, गति र परिणामलाई प्राथमिकता दिनुपर्ने सन्देश दिए । उनको निर्देशनले ऊर्जा क्षेत्रमा अब स्पष्ट लक्ष्यसहित परिणाममुखी कार्यसंस्कृति स्थापना हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर