काठमाडौं : सफ्टवेयर तथा फिनटेक कम्पनी इन्फोडेभलपर्स र अत्याधुनिक एपीआई प्रविधिको नेतृत्व गर्ने वन पोइन्ट फाइनान्सियल सर्भिसेजबिच रणनीतिक साझेदारी भएको छ । सहकार्य अन्तर्गत, पुमोरी कोर बैंकिङ सिस्टम प्रयोग गर्ने बैंक तथा वित्तिय संस्थाहरूलाई एकिकृत, सुरक्षित र मापदण्ड अनुरूपको एपिआइ सेवा प्रदान गरिनेछ । साझेदारी अनुसार हाल पुमोरीमा प्रयोग भइरहेका टिटुपी र पिडिएक्स प्रणालीलाई क्रमिक रूपमा एपीआई म्यानेजर सहितको उन्नत संस्करणले प्रतिस्थापन गरिनेछ ।
वन पोइन्टको एपीआई म्यानेजमेन्ट सिस्टम हाल नेपालका १६ वटा बढी वाणिज्य बैंक तथा ७ अन्तर्राष्ट्रिय बैंकहरूद्वारा डिजिटल भुक्तानी तथा सुरक्षित एपिआई एकीकरणका लागि प्रयोगमा ल्याइएको प्रणाली हो । यस साझेदारीपछि पुमोरी प्रयोगकर्ता बैंक तथा वित्तीय संस्थाहरूले पनि सोही उन्नत प्रविधिको प्रयोग गरी ई–बैंकिङ, मोबाइल बैंकिङ, तथा स्वचालित बैंकिङ सेवाहरू थप प्रभावकारी रूपमा विस्तार गर्न सक्नेछन् । सहकार्यले सेवा प्रवाहमा गति ल्याउने, सञ्चालन लागतमा कटौती गर्ने नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र बैंकहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने अपेक्षा गरिएको छ ।
सहमति पछि प्रतिक्रिया व्यक्त गर्दै इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण सुवेदीले भने, ‘यो साझेदारीलाई हामी नेपाली बैंकिङ क्षेत्रको डिजिटल यात्रामा महत्वपूर्ण माइलस्टोनको रूपमा लिएको छौं । यसले बैंक तथा वित्तीय संस्थाहरूलाई नवीनतम प्रविधिहरूसँग सहज, सुरक्षित र प्रभावकारी रूपमा जोड्न सहयोग गर्नेछ । ’
वन पोइन्ट फाईनानसियल सर्भिसेजका प्रमुख कार्यकारी अधिकृत प्रताप श्रेष्ठले भने, ‘हाम्रो एपिआइ प्रणालीले बैंकहरूलाई डेटा केन्द्रित निर्णय लिन र छरितो सेवा प्रदान गर्न सहयोग पुर्याउँनेछ । यो साझेदारीले उक्त प्रभावलाई थप विस्तार गर्नेछ ।’