काठमाडौं : विद्युतीय सवारी साधन (ईभी) को बीमा नीतिका सम्बन्धमा नेपाल बीमा प्राधिकरण र नाडा बीच छलफल गरेको छ । नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा शुक्रबार गएको एक प्रतिनिधि मण्डलले प्राधिकरणका अध्यक्ष शरद ओझासँग ईभीको बीमा नीतिका सम्बन्धमा छलफल गरेको हो ।
छलफलमा उपाध्यक्ष श्रेष्ठले विद्युतीय सवारी साधनहरूको सन्दर्भमा हालसम्म बीमा नीति तयार नभईसकेकोले विद्युतीय सवारी साधनको बीमा सम्बन्धमा स्पष्ट, पारदर्शी र सुसंगत नीति निर्माणको आवश्यकता रहेको बताएका थिए । सोही क्रममा प्राधिकरणले सो नीतिमा विद्युतीय सवारी साधनहरूको स्पेयर पाट्र्स, सवारी प्रणाली, म्याटेरियल र मूल्यसम्बन्धी विवरण समेत समावेश गरिने, क्लेम प्रक्रियामा सुधार ल्याउने, बीमालाई थप सुलभ र पारदर्शी बनाउने लक्ष्य लिएको जानकारी दिएको छ ।
विद्युतीय सवारी साधनहरूका सम्बन्धमा नीति निर्माण गर्न अन्तर्राष्ट्रिय अभ्यासलाई आधार बनाएर अध्ययन गर्नुपर्ने आवश्यकता देखिएकोले न्यूनतम रूपमा दक्षिण एसियाली राष्ट्रहरूमा प्रयोगमा रहेका नीति र अभ्यासहरूको अध्ययन गरी तत्सम्बन्धमा नाडाले प्राधिकरणलाई आवश्यक जानकारी प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको थियो ।