काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको तयारी पूरा भएको छ । नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना, व्यापार तथा निकासी पवद्र्धन केन्द्र (टीइपीसी) तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा काठमाडौंमा आयोजना हुने मेलाको तयारी पूरा भएको हो ।
महासंघले पत्रकार सम्मेलन आयोजना गरी मेलाको तयारीबारे जानकारी गराएको थियो । मेला बैशाख २५ देखि २९ गतेसम्म भृकृटीमण्डपमा आयोजना हुने मेलामा नेपाल सहित चीन, भारत, पाकिस्तान, थाइल्याण्ड र बंगलादेशका स्टलहरू रहने आयोजकले जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ उपाध्यक्ष सुरकृष्ण वैद्यले मेलाले नेपाली उत्पादनहरूको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उकास्न सघाउ पुर्याउने बताए । उनले स्वदेशी तथा विदेशी गरी कुल २५० भन्दा बढी स्टलमार्फत् मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब २० हजार अवलोकनकर्ताहरूले अवलोकन गर्ने अपेक्षा राखिएको बताए ।
यस्तै, अर्का उपाध्यक्ष हेमराज ढकालले मेलाको यो दशौं संस्करण भएको जानकारी दिँदै उनले मेलामा मेड इन नेपाल पेभेलियन तथा वस्तुगत संघहरूको पेभेलियन रहने जानकारी जानकारी दिए । मेलामा मेड इन नेपाल सो, हस्तकला उत्पादनहरू, वस्तुगत संघका उत्पादनहरू, साथै चार पांग्रे र दुई पांग्रे विद्युतीय गाडी (इभी) गाडीहरू समेत रहने उपाध्यक्ष ढकालले जानकारी दिए ।
महासंघका केन्दीय सदस्य तथा व्यापार मेला समितिका सभापति उमेश डाल्मियाले मेलामा हस्तकला, पर्यटन सूचना तथा प्रविधि एवं व्यावसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माणसम्बन्धी शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरू राखिने र मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानीबारे छलफल समेत हुने बताए ।
मेलामा चीनकाा पावर ट्रान्समिसन इक्युपमेन्ट, इलेक्टिकल्स तथा अटो मोबाइल्स, फुड एण्ड वेभरेज, मिलक प्रडक्ट, किचन वेयर, गार्मेन्टस्, स्मार्टवाच, बंगलादेशका गार्मेन्ट्स र पाकिस्तानका लेदर तथा गार्मेन्ट्स स्टल रहने छन् ।