२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

गण्डकी प्रदेश समन्वय परिषद् कतारको साधारण सभा सम्पन्न

ADV
तिलु शर्मा पौडेल
२०८१ असार २१ गते २१:०२
गण्डकी प्रदेश समन्वय परिषद् कतारको साधारण सभा सम्पन्न

दोहा, कतार : कतारमा स्थापित गण्डकी प्रदेश समन्वय परिषद् कतारले आफ्नो स्थापनाको छैटौं वार्षिक साधारण सभा मनाएको छ । साधारण सभाको अवसर पारेर परिषद्को आयोजना तथा मातहतका जिल्ला संस्थाहरूको सह आयोजनामा ‘स्वास्थ्य तथा सचेतना’ कार्यक्रमसमेत आयोजना गरिएको छ ।

शुक्रबार फूलबारी रेस्टुरेन्टको सभा हलमा परिषद् कतारका अध्यक्ष सागर पौडेलको अध्यक्षता तथा कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । विधिवत उद्घाटनसहित अगाडि बढेको कार्यक्रममा नेपालबाट आमन्त्रित मनोविश्लेषक वासु आचार्यले स्वास्थ्यसहित जीवनका विभिन्न आयामका बारेमा सरल तवरले उपस्थितलाई स्वास्थ्य कला सिकाएका थिए ।

उनले मनले जीवन चलाउने र मन भनेको ‘म मेरो जिन्दगीभरि मेरो बुझाइले, सोचले चल्ने र कस्तो सोच्ने गरिन्छ र सोचले कसरी अरूलाई असर पार्छ’ भन्ने बारेमा आफ्ना भनाइ राखे । उनले मानवको मनोविज्ञान सामान्य र असामान्य रहने गरेको बताए । दुवै मनोविज्ञानले मानवीय जीवनमा कस्तो असर पार्दछ भन्ने कुरा सहभागीलाई बुझाएका थिए  । मनोविज्ञानले गर्भवती महिला र बच्चामा पार्ने प्रभावका बारेमा पनी उनले प्रष्ट्याए । हरेक कुरालाई आफूसँग जोड्नु संज्ञानात्मक विकृतिसँग जोडिने हुँदा त्यसरी सोच्न नहुने उनले बताए । 

उनले भावना शरीरको लक्षण, मनोपीडितलगायतका मानवीय जीवनका विभिन्न चरणका बारेमा प्रकाश पारे । उनले मनोविज्ञान सकारात्मक राख्न र बुझ्न आवश्यक रहेको बताउँदै ‘म पनि ठिक र अर्को पनि ठिक छ’ भनेर बुझ्न आवश्यक रहेको बताउँदै दुनियाँका विषयमा सोच्न बन्द गरे जीवन सहज हुने बताए । उनले आफ्नो र अरूका राम्रा, नराम्रा पक्षका बारेमा व्याख्या कम गर्न सकेमा जीवन सहज हुने विश्वास सहभागीलाई दिलाए । उनले एन्जाइटी हुनेलाई रातमा र डिप्रेसन हुनेलाई दिनमा समस्या हुने गरेको बताए । 

आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि राजदूत ढकालले चिन्ता र चिन्तन फरक कुरा रहेको बताउँदै चिन्तनले लक्ष्य तय गर्दै गन्तव्यमा पुर्‍याउने र चिन्ताले अर्कै बाटो डोहोर्‍याउने बताए । 

साधारण सभामा परिषद्का प्रमुख सल्लाहकार राकेश श्रेष्ठ, संस्थापक अध्यक्ष आश बहादुर गुरुङ र गैरआवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारका तर्फबाट प्रतिनिधित्व गरेका प्रथम उपाध्यक्ष तथा श्रमिक विभाग संयोजक कृष्ण पन्थीले कतारमा स्थापित सम्पूर्ण संघसंस्थाको प्रतिनिधित्व गर्दै शुभकामना मन्तव्य राखेका थिए । 

आफ्नो मन्तव्यका क्रममा पन्थीले पछिल्लो चरण दोहामा रोजगारी गुमाउनेहरू बढेको र यस पकृतिको कार्यक्रमको आवश्यक रहेको आफूले पनि महसुस गरेकोमा गण्डकी प्रदेशले सरहानीय कार्यक्रम आयोजना गरेको बताए । उनले प्रत्येक श्रमिकको साथमा कतारका सबै संघसंस्थासहित एनसीसी कतार रहेको हुँदा मानसिकलगायत विविध समस्यालाई लिएर अनाहकमा आत्महत्या गर्ने प्रयासहरू बढेको हुँदा त्यसो नगर्न आग्रह गरे ।

खादा माला र ब्याचमा हुने खर्च कटौती गर्दै मखमली फूलको थुङ्गाले अतिथि तथा उपस्थितलाई प्रवेशद्वारमा स्वागत गरिएको थियो ।  कार्यक्रमका लागि अध्यक्षता, प्रमुख अतिथिको आतिथ्यता र नेपालबाट आमन्त्रित अतिथि बाहेक सबैलाई एकमुष्ट आशनग्रहण गराउँदै समयको बचतसहित नयाँ प्रकृतिले साधारण सभा सम्पन्न गरिएको थियो ।

लमजुङे कवि सिताराम थापाले १३ सय रियाल तलब शीर्षकमा कविता वाचन गर्दा हल सुनसान भएको थियो । सचेतना कार्यक्रममा सहभागीहरूलाई सहभागी प्रमाण पत्र डिजिटलरूपमा उपलब्ध गराउने प्रतिबद्धता जनाइएको थियो भने आचार्यलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । 

साधारण सभाको समापन गर्दै अध्यक्ष पौडेलले गण्डकी प्रदेशले सदैव फरक किसिमको कार्यक्रम गर्दै आएको बताए । उनले नियोग परिवार, नेपालबाट आमन्त्रित पाहुनासहित, सहआयोजकका रूपमा रहेका जिल्ला संस्थासहित प्रत्यक्ष–अप्रत्यक्षरूपमा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति कृतज्ञता प्रकट गरेका थिए । 

परिषद्का सचिव अर्जुन संग्रौलाले कार्यक्रमको सहजीकरणसहित कार्यसमितिले पछिल्लो एक वर्षमा गरेका विविध गतिविधि समेटिएको कार्यप्रगति विवरण पेस गरेका थिए भने कोषाध्यक्ष रोशन अर्यालले आयब्यय पेस गरेका थिए । सभामा गण्डकी प्रदेशवासी तथा कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । साधारण सभामा परिषद्का प्रथम उपाध्यक्ष नन्दलाल विक (अजय)ले स्वागत मन्तव्य राखेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise