कपिलवस्तु : कपिलवस्तुको यशोधरा गाउँपालिकाको लाखौंको सरकारी सम्पत्ति घामपानीले कुहिएर खेर गएको छ । सभाहलमा रहेका सोफा, कुर्सी, इन्भर्टर, मोटरसाइकल, साइकल, प्रोजेक्टर लगायत विविध सामान एक महिनादेखि घाम पानीले पुनः प्रयोग गर्न नसक्ने अवस्थामा पुगेको छ ।
जनताको करबाट किनिएको उक्त सामान पालिकाका प्रतिनिधि र कर्मचारीले देखेर पनि नदेखेको जस्तो गरेका छन् ।
जेठ १९ गते खाएको पानीसँगैको हावाहुरीले पालिकाको सभाहलको टिनको छानो उडाएको थियो । छानो उडाएपछि हलभित्रका सामान सुरक्षित स्थानमा सार्नुपर्ने वा त्यही सुरक्षित राख्ने व्यवस्था मिलाउनु पर्ने हो । तर बिडम्बना त्यहाँका कर्मचारी र जनप्रतिनिधिले लाखौं रकमको सामान खराब भइरहँदा समेत वेवास्था गरेका छन् ।
स्थानीयसँग कुरा गर्दा जनप्रतिनिधि र कर्मचारीले मिलेमतोमा नै उक्त सामानहरु त्यस्तै छोडिएको बताउँछन् । नयाँ आर्थिक वर्षमा पुनःसामान खरिद गरी आर्थिक चलखेल गर्ने मनस्थिति रहेको स्थानीयको आरोप छ ।
यसै विषयमा यशोधरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषव देव खनालसँग प्रतिक्रिया लिँदा आफु भर्खरै पालिकामा आएको र टिनको छाप्रो मर्मत गर्ने प्रक्रिया अगाडि बढाएको बताए । अधिकृत खनाल अनुसार हुरिबतासमा कुल ११ लाख बराबरको क्षति भएको मुल्यांकन गरिएको छ ।
यसैगरी यस विषयमा पालिका प्रमुख शिवदयाल तिवारी, सूचना अधिकारी अनिल ओझा, प्रशासन तथा योजना शाखा प्रमुख रेशम राज शर्मालाइ पटक–पटक फोन गर्दा समेत फोन उठेन ।