२०८२ वैशाख १२ गते शुक्रवार / Apr 25 , 2025 , Friday
२०८२ वैशाख १२ गते शुक्रवार
Ads

२०७२ सालको भूकम्पबाट सिक्नुपर्ने पाठ

२०८२ वैशाख १२ गते ०६:००
२०७२ सालको भूकम्पबाट सिक्नुपर्ने पाठ

–उत्तम कार्की

आजकै दिन १२ वैशाख २०७२ मा गोर्खा केन्द्रबिन्दु भएर ७ दशमलव ८ म्याग्निच्युडको विनाशकारी भूकम्प गएको थियो । १० वर्षअघि गएको त्यो भूकम्पको प्रभाव भने अहिलेसम्म पनि कायमै छ । उक्त भूकम्पबाट क्षतिग्रस्त बनेका कतिपय संरचना अहिलेसम्म पनि बन्न सकेका छैनन् । उक्त भूकम्प र त्यसपछिका भूकम्पको पनि प्रभाव कायमै रहेका कारण हामीले सचेततापूर्वक शिक्षा लिन आवश्यक छ । 

विगतका भूकम्पबाट के शिक्षा प्राप्त भयो भन्ने निक्र्योल नगरीकन हामी भूकम्पको जोखिमबाट पार पाउन सक्दैनौं । विगतमा हामीले बेहोरेको क्षति निकै ठूलो छ । त्यस कारण विशेषगरी निर्माणको सन्दर्भमा के–कस्ता प्रावधान बनाउने, पूर्वतयारीका सन्दर्भमा के–कस्तो संरचना बनाउने भन्ने कुरा तय हुनु आवश्यक छ ।

मुख्यगरी हामीले भवन निर्माणका सन्दर्भमा वैज्ञानिक खालको आचारसंहित आउनुपर्छ, जसलाई कडाइका साथ पालना गर्ने परिपाटीको आवश्यकता देखिन्छ । यसबारे यस लेखमा चर्चा गर्ने प्रयास गरिएको छ ।

भूकम्प एक प्राकृतिक प्रकोप हो, जसको समय, स्थान र तीव्रता पूर्वानुमान गर्न कठिन हुन्छ । नेपाल जस्तो भूकम्पको उच्च जोखिम रहेको मुलुकमा भूकम्पको पूर्वतयारी गर्नु अत्यन्तै आवश्यक र जीवनरक्षात्मक हुन्छ । भूकम्पको पूर्वतयारी भन्नाले केही खाद्यान्न संकलन गर्नु वा घरबाहिर भाग्नु मात्र होइन, यो एक समग्र प्रक्रिया हो, जसमा व्यक्तिगत, पारिवारिक, सामुदायिक र सरकारी स्तरमा विभिन्न उपायहरू अपनाउनुपर्छ ।

सबैभन्दा पहिला त मानिसहरूमा चेतना र जानकारी हुनु जरुरी हुन्छ । भूकम्प के हो, यसको असर कस्तो हुन्छ, कहिल्यै नसोचेको क्षति कति हुन सक्छ भन्ने कुरा स्पष्ट बुझेपछि मात्र मानिसहरू तयार हुन्छन् । यसका लागि विद्यालय, समुदाय तथा सार्वजनिक संस्थाहरूमा नियमित अभिमुखीकरण, अभ्यास र तालिम संचालन गरिनुपर्छ ।

विशेषगरी बालबालिका, वृद्ध, अपांग र महिला जस्ता समूहहरूलाई लक्षित गरेर सजिलो भाषामा बुझाउने खालका सामग्री र कार्यक्रमहरू हुनु जरुरी छ ।

पूर्वतयारीको अर्को महत्त्वपूर्ण पक्ष हो– संरचनागत तयारी । घर बनाउँदा भूकम्पप्रतिरोधी प्रविधिको प्रयोग गर्नु आवश्यक हुन्छ । निर्माणमा संलग्न इन्जिनियर, मेसिन र घरधनीहरूलाई भूकम्पप्रतिरोधी निर्माणका मापदण्डहरूको जानकारी गराइनुपर्छ । पुराना घरहरूको अवस्थाको मूल्यांकन गरेर सम्भाव्य जोखिम रहेका भवनहरूको सुदृढीकरण गरिनुपर्छ ।

साना त्रुटिहरूले पनि ठूलो दुर्घटना निम्त्याउन सक्छन् त्यसैले स–साना चिजहरू पनि ध्यान दिनुपर्छ, जस्तै : भारी फर्निचरहरू पर्खालमा टाँस्नु, ग्यास सिलिन्डर सुरक्षित राख्नु, बिजुलीका तारहरू राम्ररी व्यवस्थापन गर्नु ।

परिवारस्तरमा तयारी गर्दा एक आपत्कालीन योजना तयार गर्नु आवश्यक हुन्छ । भूकम्प आउँदा के गर्ने, कहाँ जम्मा हुने, कसरी एकअर्कासँग सम्पर्क गर्नेजस्ता कुराहरू परिवारभित्र स्पष्ट गरिनुपर्छ । प्रत्येक सदस्यलाई थाहा हुनुपर्छ कि आपत्कालमा कसरी आफूलाई सुरक्षित राख्ने ? आपत्कालीन झोला तयार गर्नु अर्को महत्त्वपूर्ण कार्य हो, जसमा पिउने पानी, सुख्खा खाद्यान्न, प्राथमिक उपचार सामग्री, टर्च लाइट, ब्याट्री, मोबाइल चार्जर, व्यक्तिगत औषधि, कागजातहरू, साना बालबालिकाका लागि आवश्यक सामग्री र केही नगद रकम हुनुपर्छ । यस्तो झोला सजिलै भेटिने ठाउँमा राख्नुपर्छ ताकि आपत्मा तत्काल प्रयोग गर्न सकियोस् ।

भूकम्पको समयमा के गर्ने भन्ने कुराको पनि पूर्वतयारी गर्नु आवश्यक हुन्छ । झस्का सुरु भएपश्चात भाग्नुभन्दा सुरक्षित ठाउँमा लुक्नु बढी सुरक्षित हुन्छ । ‘ड्रप, कभर, होल्ड’ भन्ने सिद्धान्त लागू गर्नुपर्छ । अर्थात्, घुँडा टेकेर बस्ने, टेबल जस्ता बलिया संरचनाको तल लुक्ने र त्यसलाई मजबुत रूपमा समात्ने । यदि कोठाभित्र हुनुहुन्छ भने झ्याल र किताबपल्टे ढोकाबाट टाढा रहनु राम्रो हुन्छ । तर, यदि तपाईं बाहिर हुनुहुन्छ भने खुल्ला ठाउँमा जानु, विद्युतीय पोल वा भवनबाट टाढा रहनुपर्छ । गाडीमा हुनुहुन्छ भने सुरक्षित स्थानमा रोक्नुपर्छ, पुल वा उकालो ठाउँमा रोक्नु हुँदैन ।

सामुदायिक तहमा आपसमा सहयोग गर्नुपर्ने अवस्था आउँछ । त्यसैले, छिमेकीहरूसँग मिलेर आपत्कालीन तयारी गर्नु राम्रो हुन्छ । सामूहिक रूपमा ‘रिस्क म्याप’ बनाउनुपर्छ । कुन ठाउँ बढी जोखिममा छ, कुन ठाउँमा सुरक्षित खुल्ला स्थानहरू छन्, कुन सदस्यलाई के जिम्मेवारी दिने भन्ने कुरा पूर्वनिर्धारण गर्नु उपयुक्त हुन्छ । सामुदायिक केन्द्रहरूमा आपत्कालीन सामग्रीको भण्डारण गर्न सकिन्छ, जसले ठूलो राहत पुर्‍याउन सक्छ ।

सरकारी स्तरमा पनि पूर्वतयारी महत्त्वपूर्ण हुन्छ । सरकारले विद्यालय, अस्पताल, प्रहरी चौकी, कार्यालय जस्ता सार्वजनिक संरचनाहरूको निरीक्षण गरी सुदृढीकरण गर्नुपर्छ । पूर्वसूचना प्रणाली, आपत्कालीन सम्पर्क केन्द्र, उद्धार टोली, राहतको उचित भण्डारण तथा वितरण प्रणाली तयार हुनुपर्छ ।

यस्तै, नक्सा पास गर्दा भूकम्पप्रतिरोधी मापदण्ड पालना गरिएको छ कि छैन भन्ने अनुगमन गर्नुपर्ने हुन्छ । साथै, संचार माध्यम, रेडियो, टेलिभिजन र सामाजिक संजालमार्फत सतर्कता र जानकारी दिन सक्ने व्यवस्था हुनुपर्छ ।

भूकम्पको पूर्वतयारी केवल एक पटक गरिने प्रक्रिया होइन । यो निरन्तर अभ्यास र अद्यावधिक गरिरहनुपर्ने प्रक्रिया हो । हरेक वर्ष कम्तीमा एक पटक भूकम्प तयारी अभ्यास (मोक ड्रिल) गरिनुपर्छ । परिवार, विद्यालय, कार्यालय, समुदाय सबै तहमा यस्ता अभ्यासले आपत्कालमा कसरी व्यवहार गर्ने भन्ने क्षमता बढाउँछ ।

निष्कर्षमा, नेपालले २०७२ साल र त्यसयताका भूकम्पहरूबाट धेरै खालका पाठ सिक्न आवश्यक छ । भूकम्प आउँछ कि आउँदैन भन्नेमा नभई, कहिले आउँछ भन्ने मानसिकतासहित तयार रहनु नै सबैभन्दा बुद्धिमानी हुने छ । सचेत नागरिक, सुदृढ संरचना, सामूहिक सहकार्य र नीतिगत प्रतिबद्धतामार्फत मात्र हामीले भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न सक्छौं । 

ADV

सम्बन्धित खबर