२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

‘युएईको कामदार भिसा नखुल्नु दूतावासको कमजोरी’

Nada
२०८२ मंसिर १ गते ०६:१०
Shares
‘युएईको कामदार भिसा नखुल्नु दूतावासको कमजोरी’

काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले संयुक्त अरब इमिरेट्स (युएई)मा रहेको नेपाली दूतावासले नेपाली कामदारको भिसा खुला गर्ने विषयमा उचित पहल गर्नुपर्ने माग गरेको छ ।

ncell

एसोसिएसनका कार्यवाहक महासचिव तुलसी पुरीले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाली कामदारको प्रमुख श्रम गन्तव्य मुलुक युएईमा नेपाली कामदारको भिसा जारी नभएको दुई महिनाभन्दा लामो समय भएको भएपनि युएईस्थित नेपाली राजदूतावासका तर्फबाट समस्या समाधानका लागि उचित पहल नभएको बताएका छन् ।

उनले गत वर्ष वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर १ लाख ७६ हजार नेपाली युवायुवती रोजगारीका लागि गएको युएई नेपालको भरपर्दो र विश्वसनीय श्रम गन्तव्य मुलुक भन्दै उक्त मुलुकको रोजगारी तत्कालै सुचारु नभएको अवस्थामा रोजगारदाताले नेपाली कामदारको सट्टामा अन्य मुलुकका कामदार प्रयोग गर्न सक्ने खतरा रहेकोे पनि बताएका छन् । 

युएईको रोजगार भिसा प्रक्रियामा देखिएका समस्या समाधानका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाली दूतावास र युएई सरकारका बीच समन्वय भइरहेको बताइए पनि भिजिट भिसा खुल्दा कामदार भिसाको समस्या समाधान हुन नसक्नु नेपाली राजदूतावासको कूटनैतिक पहलकदमीको कमजोरी जिम्मेवार रहेकोे पनि विज्ञप्तिमा उल्लेख छ ।

एसोसिएसनले नेपाली कामदारको भिसा खुलाउन सार्थक पहलकदमी र अग्रसरता लिन राजदूतावासलाई परराष्ट्र मन्त्रालयले तत्कालै उचित निर्देशन दिन जरुरी रहेकोे भन्दै परराष्ट्र मन्त्रालयको समेत ध्यानाकर्षण गराएको छ ।

त्यसैगरी एसोसिएसनले विगत २८ महिनादेखि युरोपेली मुलुकहरूको मागपत्र प्रमाणीकरण प्रक्रिया अवरुद्ध हुँदा मानव तस्करी बढेको र नेपालीले पाउने आकर्षक तलबसहितको रोजगारी गुमेको भन्दै त्यसका लागि पनि उचित पहल गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

सम्बन्धित खबर