नेपाली कांग्रेसमा सहमति र सहकार्यको अभ्यास कमजोर भएको हो ? २०५९ सालमा त विभाजन नै व्यहोरेको हो । के अहिलेको अवस्था त्यसरी नै फुटतर्फ अघि बढेको हो ? कांग्रेसभित्रको पेचिलो विषय यही हो ।

नेपाली कांग्रेस पार्टी जीवनको ७५ वर्ष काट्दै गर्दा दल र नेतृत्वका आकांक्षी दुवै पक्षको भविष्यलाई लिएर कठिन अवस्थामा पुगेको छ । नेतृत्वको रस्साकस्सीबीच कांग्रेस विवादको मैदानमा आत्मघाती गोल सम्मुख देखिन्छ । त्यसको सबैभन्दा मुल कारण कांग्रेस सिद्धान्तः आफ्नो मार्गमा आएको विचलन हो । त्यसमाथि सत्ता केन्द्रित राजनीतिक गतिविधिले कांग्रेसप्रतिको नागरिकको विश्वासमाथि ह्रास आउँदै गरेको संकेत गर्दछ ।
विघटित संसदमा पहिलो दल भएको कांग्रेसले सत्ता रणनीतिलाई सफल बनाउन सकेन । त्यसका कारणहरु अनेक थिए । तर दोस्रो दलसँग सत्ता साझेदारी गर्नु कांग्रेसका लागि हानिकारक भयो । कांग्रेसमा पुस्ताण्तरणको प्रयास लगातार जारी छ । पछिल्लो महाधिवेशनले त्यसलाई आंशिक रुपमा सम्बोधन गरेको भएपनि आवश्यकता त्यो भन्दा ठुलो परिणामको देखायो । यतिबेला कांग्रेस नेतृत्व र सामुहिक नेतृत्वको विवादबाट गुज्रिनु परिरहेको छ ।
कांग्रेसमा २ जना महामन्त्री सहित अल्पमतमा छन् । सभापति पूर्ण बहुमतमा रहेको अवस्था छ । तर पार्टी सञ्चालन गर्न बहुमतले मात्रै सहज नहुँदो रहेछ भन्ने कुरा चरितार्थ भएको छ । गत भदौ २३ र २४ को जेनजी विद्रोहका कारण राजनीतिक दलहरुमा उनीहरुको कार्यशैली र व्यवहारलाई लिएर जनमानसमा अविश्वास उत्पन्न भएपछि ठुलो दल कांग्रेस समेत ध्रुवीकृत भएको अवस्थामा छ । अन्य राजनीतिक दलहरु पनि उस्तै समस्यासँग जुझदै छन् । तर कांग्रेसभित्रको ध्रुवीकरणलाई व्यवस्थापनमा चुनौती थपिएका देखिन्छन् । त्यो भनेको नेतृत्व परिवर्तन नै हो । नीति तथा कार्यक्रमलाई लिएर कांग्रेसमा उति चर्को बहस छैन । त्यसो त संविधानमा हिन्दू धर्म कायम हुनुपर्ने विषयमा महासमिति बैठकमा आवाज उठेको थियो ।
नेपाली कांग्रेसमा अहिलेको मुख्य विवाद नियमित महाधिवेन कि विषेश महाधिवेशन भनेर ध्रुवीकरण भएको पाइन्छ । त्यसभित्र पनि महामन्त्री गगन थापालाई नेतृत्वमा स्थापित गराउने प्रयासमा ध्रुवीकरण बढाइएको अवस्था छ । त्यसो त पार्टीभित्रको प्रतिपक्ष बनेर शतिशाल झैं उभ्भिएका डा. शेखर कोइरालासमेत नेतृत्व गरेर अघि बढ्ने प्रयासमा छन् ।
अनि अर्को संस्थापन पक्ष कुनै न कुनै स्वरुपमा सभापति शेरबहादुर देउवा पछि पार्टी सत्ता आफ्नै पोल्टामा राख्न चाहन्छन् । तर संस्थापन पक्ष र इतर पक्ष दुवै आफ्नै समूह भित्र पनि विभक्त छन् ।
कांग्रेसमा यतिबेला घोषित फागुन २१ को चुनाव अघि महाधिवेशन गर्ने वा चुनाव पछि गर्ने भन्ने विषयमा चरम ध्रुवीकरण भइरहेको देखिन्छ । संसदीय दलमा महामन्त्री थापाको पराजयले इतर खेमा विभक्त भए झैं कार्यवाहक सभापति तोकिएसँगै संस्थापन पक्ष समेत एक आपसको सम्बन्धको चिसोपनमा पुगेको अवस्था छ ।
पार्टी सत्ता गुम्न सक्ने जोखिमको लेखा जोखा गर्न जसरी कांग्रेसको संस्थापन पक्षले गुणा भाग गरिरहेको छ, त्यसरी नै इतर पक्षले नेतृत्व हत्याउने जोड घटाउ गरिरहेका परिदृश्य छर्लगं देखिन्छन् ।
वि.सं. २०१५ सालको पहिलो आम निर्वाचन अघि ०१४ सालमा विषेश महाधिवेशन गरेर संस्थापक नेता बी.पी.कोइरालालाई नेतृत्व सुवर्ण शम्शेर राणाले सुम्पिएका थिए त्यसरी नै यतिबेला चुनाव अघि नेतृत्व हस्ताण्तरण हुनुपर्छ भन्ने मान्यता एकथरीको छ । अनि अर्काथरी चुनाव अघि महाधिवेशन गरेर जाँदा चुनावमा घात हुनसक्ने डरको मानसिकता देखाउँछन् । तर फरक के छ भने उतिबेला झैं यतिबेला सबैको सहमतिका नेता परिदृष्यमा छैनन् । वि.सं. २०१२ सालमा भएको महाधिवेशनमा गणेशमान सिंह पराजित भएपछि सभापति चुनिएका राणालाई पार्टी चलाउन उति सहज थिएन भन्ने विषयमा पनि कांग्रेसजनहरु जानकार छन् । सिंहले सभापतिमा चुनाव हार्नुका पछाडि कारणबारे विवेचना कहिल्यै भएन कांग्रेसभित्र ।
२०४६ सालको परिवर्तनसँगै कांग्रेस नेतात्रय कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरलाबीच शक्ति संघर्ष खुवै चलेको थियो । तर उनिहरुले सत्ता र सरकारमा भागोरीलाई लिएर जेन्टलम्यान एग्रिमेन्ट गरेका थिए । अहिले पनि कांग्रेसको अवस्था उस्तै उस्तै छ । गगन थापा र शेखर कोइराला मतभेद बोकेरै भएपनि एकातर्फ र संस्थापन पक्षगरी तीन फ्याक्टर देखिन्छन् । संस्थापनभित्र पनि बेग्ला बेग्लै मत छन् । उहिले पनि भट्टराई र सिंह आफ्ना मतभेद रहेर पनि एकातर्फ थिए भने कोइराला अर्को पक्षमा थिए । तर भट्टराईलाई ०४८ सालको कलबलगुढी महाधिवेनमा पार्टी नेतृत्व सर्वसम्मत सुम्पिएर कोइराला सरकारतर्फ अघि बढेका थिए । त्यो निकास ३ जना नेताको संयुक्त प्रयासबाटै सुझेको थियो । तर विडम्बना भट्टराई र सिंह जिवनको उत्तरार्धमा कांग्रेस बाहिर रहे ।
के नेपाली कांग्रेसमा सहमति र सहकार्यको अभ्यास कमजोर भएको हो ? २०५९ सालमा त विभाजन नै व्यहोरेको हो । के अहिलेको अवस्था त्यसरी नै फुटतर्फ अघि बढेको हो ? कांग्रेसभित्रको पेचीलो विषय यही हो । होइन भने सहमतिमा पुग्ने प्रयास किन फितला भइरहेका छन् त ?
यी र यस्ता प्रश्नहरु कांग्रेस भित्र चर्को रुपमा उठिरहँदा सामुहिक नेतृत्व एकले अर्को पक्षलाई धकेलेर अघि बढ्न खोजेको देखिन्छ । विगतमा पनि सहमतिको मध्यमार्ग अवलम्बन गरेका शैलजा आचार्य, रामचन्द्र पौडेल जस्ता पात्रहरु नेतृत्वमा पुग्न नसकेका दृष्टान्त पनि छन् ।
एक महिनादेखि लगातार जारी कांग्रेस केन्द्रीय समितिको बैठकले चुनावलाई मध्यनजर गर्दै ठोस निकास दिन सक्नुपर्ने दबाबमा छ । साथै जेनजी विद्रोहको भावनालाई सम्बोधन गर्न सक्नुपर्ने चुनौती कांग्रेसको काँधमा छ । त्यो भनेको मासबेस पार्टीका लागि जन विश्वासको कडी पनि हो ।