काठमाडौं : नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सांसद डा. शशांक कोइराला आफ्नो पक्षमा शक्ति जुटाउन पुराना नेताहरूको मन जित्ने रणनीतिमा लागेका छन् । पार्टीको आगामी १५औं महाधिवेशनमा पार्टी सभापतिको प्रतिस्पर्धामा रहेका कोइराला पुराना नेताहरूको सहयोग जुटाउने रणनीतिमा लागेका हुन् ।
सोही प्रयोजनका लागि नेता कोइरालाले बिहीबार महाराजगंजस्थित आफ्नै निवासमा प्रभावशाली ७ नेताहरूको बैठक राखेका छन् । बैठकमा पूर्वउपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, डा. प्रकाशशरण महत र गोपालमान श्रेष्ठ सहभागी थिए ।
लोकतन्त्र दिवसको अवसरमा बिहीबार बिहान चियापान कार्यक्रम आयोजना गरेका नेता कोइराला सभापति शेरबहादुर देउवाका उत्तराधिकारी बन्न चाहन्छन् । तर, संस्थापन पक्षबाट पार्टी सभापतिका लागि आधा दर्जन नेताहरू दौडमा छन् ।
आकांक्षीको लामो लाइनलाई छिचोल्दै संस्थापन पक्षको एकल उम्मेदवार बन्ने रणनीतिअनुसार नेता कोइरालाले पूर्वउपसभापतिहरू प्रकाशमान सिंह र विमलेन्द्र निधिसँगको भेटघाट र संवादलाई यसअघिदेखि नै निरन्तरता दिँदै आएका छन् ।
पार्टीका संस्थापक नेताहरू वीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुुत्रत्रय डा. शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिबीच बेलाबखत हुँदै आएको संवादले ३ नेताबीचको सहकार्य महाधिवेशनसम्म एक ठाउँ रहने सन्देश दिएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।
१५औं महाधिवेशनका लागि नेतृत्वलाई दबाब बढाउन नेपाली कांग्रेसका ७ नेताहरूको बैठक बसेको नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले जानकारी दिए । ‘पूर्वमहामन्त्री डा. शशांक कोइरालाको महाराजगंजस्थित निवासमा पुराना नेताहरूको बैठक बसेको हो’, नेता श्रेष्ठले मध्यान्हसँग भने, ‘बैठकमा पार्टीको समसामयिक राजनीति र आगामी पार्टी महाधिवेशनका सन्दर्भमा छलफल गरिएको छ । हामी जो भए पनि एक भएरै जाने कुराकानी भइरहेको छ ।’
यसअघि पनि प्रभावशाली र सिनियर नेताहरूको बैठक आलोपालो बस्दै आएको भन्दै उनले थपे, ‘आज पुुरानै शृंखलाअन्तर्गत शशांक डाक्टरसा’बको निवासमा भेला भएका हौं । हामीले मिलेर जाने वातावरण बनाउन, महाधिवेशन छिटो गर्न र उपयुक्त नेतृत्वका लागि दबाब बढाउन खोजेका हौं ।’
तर, आगामी पार्टी नेतृत्वका लागि देउवाले कसलाई आफ्नो उत्तराधिकारी बनाउने भन्ने सोचिसकेका छैनन् । देउवाको उत्तराधिकारी बन्ने दौडमा लागेका पूर्वमहामन्त्री कृष्ण सिटौलादेखि प्रकाशमान सिंह र निधिसमेत छन् ।
यता, पूर्वउपसभापति गोपालमान श्रेष्ठले आगामी सभापतिका लागि आफू पहिलो हकदार भएको दाबी गर्दै आएका छन् । वर्तमान उपसभापति पूर्णबहादुर खड्का पनि सभापति बन्ने लाइनमा छन् । देउवाले केही समयअघि यी सबै नेताहरूलाई बोलाएर छलफल गरे पनि नेतृत्वमा कसलाई अघि सार्ने भनेर मुख नखोलेका नेताहरूले बताए ।
संस्थापन पक्षमा आगामी नेतृत्वका लागि नेताहरूबीच को सर्वसम्मत बन्ने भन्ने लडाइँ चलिरहँदा संस्थापनइतर पक्षका नेता डा. शेखर कोइराला प्रमुख दाबेदार बनेर उभिएका छन् । त्यस्तै, महामन्त्री गगन थापा पनि १५औं महाधिवेशनमा सभापतिको दाबी गर्दै आफ्नो पक्षमा माहोल बनाउन देशव्यापी अभियानमा छन् ।
कांग्रेसको महाधिवेशनको टुंगो नलागे पनि नेताहरूलाई महाधिवेशन लागिसकेको छ । सोही अवसरलाई उपयोग गर्दै नेता शशांकले आफ्नो माहोल बनाउने योजनासहित गतिविधिहरू गर्दै आएका कोइराला निकटकी कांग्रेस केन्द्रीय सदस्य उर्मिला थपलियाले बताइन् । गत १४औं महाधिवेशनमा ३ तिर अनुहार फर्काएका कोइराला परिवारका ३ नेताहरू अहिले पनि एक ठाउँ छैनन् । करिब २ वर्ष पहिलादेखि सभापतिको तयारीमा रहेका अर्का नेता शेखर कोइरालाको अपेक्षा शशांकलाई समेत आफ्नो टिममा मिलाउन सकिने छ । त्यसका लागि सुजाता कोइरालाले पटक–पटक शशांक पनि शेखरलाई नै सभापति बनाउने कुरामा सहमत हुने बताउँदै आएकी छन् । नेता शशांकले अन्य नेताहरूसँग संवाद गरे पनि कोइराला परिवारका नेताहरूले शेखर र सुजातालाई मिलाउने प्रयास गरेका देखिँदैन ।
विश्लेषक पुरञ्जन आचार्य नेपाली कांग्रेसलाई संस्थागत र बलियो बनाउन कोइराहरू एक ठाउँमा आउनुपर्नेमा अहिलेसम्म त्यस्तो नदेखिएको बताउँछन् । ‘डा. शशांक कोइरालाले पार्टी नेतृत्वको दाबी गर्नु स्वाभाविक हो । तर, उनले कोइरालाभित्रका सबै सदस्यलाई समेट्न सक्नुपर्छ । यो मामलामा शशांकभन्दा शेखर अघि बढेका देखिन्छ’, उनले भने ।
विधानतः सभापति शेरबहादुर देउवाले अब १५औं महाधिवेशनमा दाबेदारी गर्न मिल्दैन । यसैले, देउवालाई सहयोग गर्दै आएका नेताहरूले आफूहरूमध्येबाटै नेतृत्व गरेर जानेगरी परिस्थिति बनाउन सभापति देउवालाई दबाब दिने रणनीतिमा जुटेका हुन् । यसअघि सिंह, निधि र शशांकले मात्र आलोपालो भेटघाट गर्दै आएकामा पछिल्लो समय सिटौला, गच्छदार, श्रेष्ठ र प्रकाशशरण महतसमेतले देउवालाई दबाब बढाउन लागेका नेताहरूको दाबी छ ।
यद्यपि, उनीहरूबीच एकले अर्कोलाई स्वीकार गर्ने अवस्था अझै बनेको छैन । देउवाले शशांकलाई नेतृत्वका लागि अघि सार्न सकिने संकेत गरे पनि टिम बचाउने कुरामा कोइरालाभन्दा सिटौला बलियो हुुन सक्ने भन्दै सोही पक्षका एकाथरि नेताहरूले दबाब दिँदै आएका छन् ।
वर्तमान उपसभापति पूर्णबहादुर खड्का आफ्नै पक्षमा माहोल बनाउने योजनामा छन् भने गोपालमान, प्रकाशमान र विमलेन्द्रसमेत दौडमा देखिनेगरी लागेका छन् । पार्टीको नियमित हुनुपर्ने महाधिवेशन २०८२ मंसिरभित्र गरिसक्नुपर्छ । तर, सभापति देउवाले पार्टीको विधान र मुलुकको संविधानले दिएको सहुलियतलाई उपयोग गर्दै २ वर्षसम्म समय बढाउने रणनीतिमा छन् ।