गोरखा : गोरखाको घ्याम्पेशालमा ३३ केभी विद्युत् लाइन विस्तार गर्न गोरखा नगरपालिका ६ स्थित खल्लुबोटेमा विद्युत् पोल गाड्न लामो समयदेखि स्थानीयले अवरोध गरेका छन् ।
स्थानीयको अवरोधपछि लामो समयसम्म आयोजनाले काम सम्पन्न हुन सकेको छैन । वरिष्ठ निर्माण व्यवसायी सागर लुईटेलले ठेक्का सम्झौता गरेर निरन्तर काम अगाडि बढाएका बेला केही वर्षदेखि स्थानीयले अवरोध गरेपछि काम नै प्रभावित बनेको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी वासु पाठकले विद्युत् पोल गाड्न स्थानीय अवरोध गरेको विषय जानकारी पाएपछि आयोजनालाई नरोकी संचालनका लागि समन्वय गर्न प्रहरी समेत खटाइएको बताए ।
पोल गाड्न विवादित बनेको चुच्चे ढुंगाबाट–गोरखा क्याम्पस जाने सडकको ट्रयाक २०५४ मा ६ मिटर चौडाइएको खुलेको नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका उपनिर्देशक तारा प्रधानले जानकारी दिए ।
वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना, नेपाल विद्युत् प्राधिकरण मातातिर्थ काठमाडौंले गोरखा नगरपालिका ६ देखि भिमसेन थापा गाउँपालिका १ मसेलसम्म ३३ केभीए लाइन सुधार विस्तारका लागि सन् २०१६ को जुलाई १६ बाट काम सुरू गरेको थियो । घ्याम्पेशालमा सवस्टेशन निर्माण सम्पन्न भएपनि वितरण लाइन विस्तार नहुँदा आयोजना अलपत्र परेको उपनिर्देशक प्रधानले बताए ।
गोरखा सवस्टेशनदेखि नवनिर्मित घ्याम्पेशालको सवस्टेशनसम्मको २२ किलोमिटरमध्ये गोरखा नगरपालिका ६ र ८ क्षेत्रको साढे दुई किलोमिटर क्षेत्रमा पोल गाड्न स्थानीयले अवरोध गर्दै आएकाले आयोजनामा काम गर्न कठिन परेको हो ।
विवादका कारण करिब ५० वटा पोल गाड्न नसकिएको विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रका प्रमुख चिजबहादुर गुरुङले जानकारी दिए ।
एसियाली विकास बैंकको ऋण सहयोगमा पश्चिम क्षेत्रमा निर्माण भइरहेकै १२ सवस्टेशनमध्ये ११ सम्पन्न भइ सकेका छन् । यो घ्यम्पेशाल सवस्टेशन मात्रै विवादले लाइन चार्ज हुन नसकेको बताइन्छ ।
गोर्खा प्रहरी प्रशासनको सहयोगमा वडा नं ६ को विवाद समाधान भएपनि वडा नं. ८ र ९ मा स्थानीयको अवरोध कायमै रहेको छ ।
नेपाल विद्युत् प्राधिकरणले स्थानीयको माग पूरा गर्न ४३ लाख बजेट व्यवस्थापन गर्दा समेत स्थानीयले आयोजनालाई अवरुद्ध गर्दै आएका छन् ।
उक्त सवस्टस्टेशन चार्ज नहुँदा उत्तरी गोरखाका जनताले भरपर्दो विद्युत् नपाउने र जेठ असारमा उत्पादन हुने १० मेगावाटको मध्य सुपर दरौदी जल विद्यु्त आयोजनाको विद्युत् खेर जाने सम्भावना रहेको छ ।