२०८२ असार १८ गते बुधवार / Jul 02 , 2025 , Wednesday
२०८२ असार १८ गते बुधवार
Ads

कारागारभित्रै सीप सिकेर कमाउँछन् कैदीबन्दीहरू

shivam cement
मध्यान्ह
२०८२ वैशाख १३ गते १०:२८
कारागारभित्रै सीप सिकेर कमाउँछन् कैदीबन्दीहरू

बागमतीः मकवानपुरको भीमफेदी कारागारमा रहेका कैदीबन्दीहरू कारागारभित्रै सीपमूलक कार्य गरी राम्रो आम्दानी गर्दै आएका छन् ।

कारागार व्यवस्थापनले विभिन्न आरोपमा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई समाजमा पुनःस्थापित गराउने उद्देश्यले कारागारभित्रै सीपमूलक कार्य गर्न प्रेरित गरेपछि उनीहरू त्यसतर्फ आकर्षित भएका हुन् ।

कारागारभित्र कैदीहरू कोही गलैँचा बनाउन व्यस्त छन् भने कोही मुढा त कोही मैनबत्ती बनाउन व्यस्त रहेकोे दृश्य कारागारभित्र देख्न सकिन्छ । कैदीबन्दीमध्ये धेरैले कुनै न कुनै सीपमूलक काम गरेर आयआर्जन गरिरहेका छन् ।

कतिपय कैदीबन्दीहरूलाई जेलमा भेट्न आउने आफन्तसँग भेटघाट गर्नसम्म फुर्सद हुँदैन । कैदीबन्दीहरू सीपमूलक कार्य गरेर मासिक रु १५ हजारदेखि रु २० हजारसम्म आम्दानी गर्ने गरेका छन् । विभिन्न कारण र बाध्यतामा अपराध कर्म गरे पनि कारागारभित्रै सीप सिकेर आम्दानी गर्न पाउँदा समाजमा पुनःस्थापित हुन समेत सहज हुने कैदी जयराम रुम्बाले बताए ।

‘अदालतबाट जेल सजाय पाएपछि जीवन नै सकियो भनेजस्तो लागेको थियो’, मकवानपुरका रुम्बाले भने, ‘तर जेलमा आएर गलैँचा बनाउने सीप सिकेपछि फेरि समाजमा इमान्दारीपूर्वक काम गरेर जीवन बिताउन सकिन्छ भन्ने आशा जागेको छ ।’ उनले गलैँचा बनाएर महिनाको १६ हजारसम्म कमाइरहेका छन्। यो कमाईले उनलाई पकेट खर्च चलाउन समस्या छैन ।

रुम्बासँगै कारागारको १ नम्बर ब्लकमा रहेका भक्तबहादुर गुरुङले पनि विगत चार वर्षदेखि कारागारभित्रै गलैँचा बनाएर आम्दानी गर्दै आइरहेका छन् । ‘कम्पनीले कारागार व्यवस्थापनमार्फत गलैँचा बनाउन अडर पठाउँछ, त्यसपछि हामी तयार पारेर कम्पनीलाई दिन्छौँ’, गुरुङले भने, ‘हामी २०/२५ जना गलैँचा बनाउन सिकेका छौँ, हामीले बनाएको गलैँचा स्तरीय भएकाले बढी अडर आउने गर्छ ।’

दुई हजार कैदीबन्दी राख्ने क्षमता रहेको भीमफेदी कारागारमा अहिले एक हजार २४ कैदीबन्दी छन् । सो कारागारमा लागुऔषध, जबर्जस्ती करणी, ज्यानलगायत मुद्दाका बढी कैदीबन्दी छन् । यीमध्ये धेरैले बाँसको मुढा र मैनबत्ती बनाउँदै आएका छन् ।

‘विभिन्न मुद्दामा परेर जेल आउने र जाँदा सीप सिकेर फर्किने गरेका छन्’, कारागारभित्र बाँसको मुढा बनाउन व्यस्त सीताराम महतोले भने, ‘जेल सुध्रिने ठाउँ मात्र होइन, गर्नेहरूका लागि सीप सिकेर आयआर्जन गर्ने ठाउँका रूपमा विकास भइरहेको छ ।’ कैदीबन्दीलाई कारागारभित्र सुधार्नका साथै सीपमूलक कार्यमा अभिप्रेरित गर्ने कार्य भइरहेको कारागारका कैदी जलबहादुर गुरुङको कथन छ ।

‘कारागारमा रहेका अधिकांश कैदीबन्दी कुनै न कुनै सीपमूलक कार्य गरेर आयआर्जन गरिरहेका छन्’, गुरुङले भने, ‘यहाँ रोजगार गरेर कमाउँछुभन्दा कमाउन सक्ने ठाउँ पनि हो ।’ कैदीबन्दीको बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म मुढा र मैनबत्ती बनाउनु दैनिकीजस्तै भइरहेको कैदीबन्दीको भनाइ छ । भीमफेदी कारागारका प्रमुख जेलर सुवास पौडेलका अनुसार कारागारमा रहेका कैदीबन्दीमध्ये २५० जना गलैँचा, १५० जना मुढा बनाउने र ५० जना मैनबत्ती बनाउन र पाँच जना पोते बनाएर कारागारभित्रै आयआर्जन गर्दै आएका छन् ।

कैदीबन्दीलाई सीप विकास गर्नसके राज्यको आर्थिक भारमा समेतमा सहुलियत हुने प्रमुख जेलर पौडेलले बताए । ‘सरकारले पनि जेल सजाय भोगिरहेका कैदीबन्दीलाई समाजमा पुनःस्थापित गराउनुपर्छ भन्ने मान्यता राखेको छ’, प्रमुख जेलर पौडेलले भने, ‘सरकारको त्यही मान्यताअनुरूप कारागारभित्रै कैदीबन्दीलाई सीपमूलक काम सिकाएर आम्दानीको स्रोत पहिल्याई दिएका हौँ ।’  यसबाट कैदीबन्दीलाई कारागारमा रहँदा समय बिताउन समस्या पनि नहुने र आयआर्जन समेत गर्न सकिने र पछि फर्किएर समाजमा पनि सहजरुपमै जीवनयापन गर्न सकिने प्रमुख जेलर पौडेलको भनाइ छ ।

कारागारलाई सुधारगृहको रुपमा विकास गर्ने सरकारी नीतिलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न कैदीबन्दीलाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउनुपर्ने देखिन्छ । रासस

ADV

सम्बन्धित खबर

Advertise