सुदूरपश्चिम प्रदेश अन्तर्गत दार्चुला जिल्लाका ९ वटा स्थानीय तहहरु मध्येको एक हो, मालिकार्जुन गाउँपालिका । भौगोलिक एवम् प्राकृतिक दृष्टिकोणले अत्यन्त सुन्दर धार्मिक, सास्कृतिक एवं ऐतिहासिक रीतिरिवाज, विशिष्ट लोक संस्कृति र मौलिक परम्पराको धनी यस गाउँपालिकामा राष्ट्रिय धाम मालिकार्जुनका साथै अन्य प्राचिन एवम् ऐतिहासिक मठ मन्दिरहरु, धार्मिकस्थलहरु र अन्य पर्यटकीय क्षेत्रहरु रहेका छन् । मालिकार्जुन गाउँपालिकाका विकास निर्माण तथा जनसरोकारका विषयमा गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामीसँग मध्यान्ह दैनिकका सम्वाददाता गणेश सिंह धामीले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ–
तपाईं निर्वाचित भएपछि मालिकार्जुन गाउँपालिकाको विकास निर्माण कार्यलाई कसरी अगाडि वढाउनु भएको छ ?
हामीलाई मालिकार्जुन गाउँपालिकाका आमा–वुबा, दाजु–भाइ तथा दिदीबहिनीहरुले पाँच वर्ष जनताको सेवा गर्न जनसेवकको रुपमा स्वीकार गरी निर्वाचित गरिसकेपछि हामी जनताको जन आकांक्षा, जनताको आवश्यकता र औचित्यलाई प्राथमिकतामा राखि विकास निर्माण कार्यलाई अगाडि वढाएका छौं । अझ विकास निर्माण कार्यलाई नजिकबाट हेर्ने र बुझ्ने दायित्व वडाहरुको हुने हुँदा हामीले भौगोलिक क्षेत्रफल र जनसंख्याका आधारमा आठै वडाहरुलाई वार्षिक ५० लाखदेखि माथि वजेट विनियोजन गरेका छौं ।
विकास निर्माणका क्षेत्रमा जनताले के–कस्ता सुविधा पाएको महसुस गरेका छन् त ?
पहिलो गाउँसभाबाट हामीले सडक तथा यातायात क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी सडक यातायातबाट बन्चित रहेका वडा नम्बर २ भगवती र वडा नम्बर ५ डाडाकोट वडा सदरमुकाम सम्मको सडक निर्माण कार्यलाई उच्च प्राथमिकतामा राख्यौं । जसअनुसार दुवै वडा कार्यालयहरु जोड्ने सडक निर्माण कार्य संचालनमा रहेको छ । संभवतः चालु आवमा हामी दुवै वडा कार्यालयसम्म सडक पहुँच पु¥याउछौं भने अन्य विकट तथा यातायात पहुँच नपुगेका गाउँ तथा वस्तीहरुमा पनि सडक पहुँच पु¥याउने लक्ष रहेको छ । यसका लागि संघ, प्रदेश र हाम्रो गाउँपालिकाको आफ्नो स्रोतबाट पनि हामीले मालिकार्जुन–न्वालपानी सडक, मालिकार्जुन–बसेडी–गोरुबादे–त्रिकाटै– पालन–घोडे गौंण सडक, मालिकार्जुन भण्डारी घर सडक, ऐरिछाना डाडाकोट सडक, शंकरपुर गोठ्युडी देवाल सडक, शंकरपुर गोठ्युडी–चन्दनपुर–डाँडाकोट सडक, शंकरपुर सलेती सडक, शंकरपुर जोलजिवी सडक, थकतोली रंचनी सडक, धामीगाडा खुना सडक र मालिकार्जुन भगवती थापला दत्तु सडक गरि यस गाउँपालिकामा ११ वटा सडकहरुको निर्माणको कार्य भई रहेको छ । यस्तै, खानेपानी सिँचाइका कार्यक्रमहरु पनि गाउँपालिका, प्रदेश र संघको स्विकृत कार्यक्रम अनुसार संचालनमा रहेका छन् । बस्तीमाथि र मुहान तल रहेका खानेपानी सुविधाबाट बञ्चित विकट वस्तीहरु ऐरिछाना, न्वालपानी, कोटिला, ज्युनाडा, बसेडी, खालिडाडा, कोटबुङा, सिराडजस्ता उच्च वस्तीहरुका लागि संघ र प्रदेशको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग समन्वय गरी लिफ्टिङ सिस्टमबाट खानेपानीको व्यवस्थापन गरेका छौं । वडा नम्ब २ को १७५ घर परिवारका लागि ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना (आरभीडब्लुआरएमपी) सँग १ करोड ५६ लाख १३ हजार ७५९ रुपैयाँ ८१ पैसा लागतको योजनामा गाउँपालिकाको तर्फबाट ७८ लाख ६ हजार ८७९ रुपैयाँ ९० पैसा रकम साझेदारी गरी खानेपानी योजना कार्यान्वयनमा रहेको छ । सथै गाउँपालिकाको सदरमुकाम रहेको वडा नम्बर– ८ अडाखान बजार क्षेत्र, अस्पताल, क्याम्पस, वडा कार्यालय, शिव मन्दिर तथा पौडी माणौ लगायतको क्षेत्रका लागि पनि फर्शेपन्ज्यु मुहानबाट सोलार पम्पिङका माध्यमबाट खानेपानी आपुर्ति गरेका छौं ।
जनस्वास्थ्य क्षेत्रको लागि के कस्तो कार्य गर्नु भएको छ ?
स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखि हाल गाउँपालिकाले एमबीबीएस डाक्टरसहितको जनशक्ति भर्ना गरी २४ सै घन्टा आकस्मिक लगायत अन्य सेवा दिँदै आएको छ भने हालै सरकारले प्रत्येक स्थानीय तहमा १० देखि १५ शैय्याको अस्पताल स्थापना गर्ने नीति अनुसार हामीले पनि यस गाउँपालिकाको वडा नम्बर ८ भोरकोटमा १० शैय्याको अस्पताल शिल्यानास गरिसकेका छौं । यस्तै, यही महिनाभित्र भवन निर्माण कार्यका लागि ठेक्काको तयारीमा छौं । त्यसैगरी स्वास्थ्यसंस्था नभएका वडा नम्बर– १ र वडा नम्बर– ७ मा जनशक्ति व्यवस्थापन गरी जनताका लागि स्वास्थ्य सेवा शुरु गरिसकेका छौं भने भौगोलिक विकटताको आधारमा सामुदायिक स्वास्थ्य इकाइ, गाउँ घर क्लिनिक र वर्थिङ सेन्टरसमेत संचालनमा ल्याएका छौं । जनताको स्वास्थ्य चेक जाँचका लागि संघ र प्रदेश सरकारसँग समन्वय गरी विभिन्न स्वास्थ्य शिविरहरु संचालन गरेका छौं, जसबाट जेष्ठ नागरीक, महिला, विपन्न नागरीक र अपाङ्गता भएका मानिसहरुले प्रत्यक्ष सेवा पाएका छन् । त्यस्तै कोभिड १९ को संक्रमणबाट विश्व समुदाय नै आक्रान्त भएको छ । जसको संक्रमण हाम्रो गाउँपालिकामा पनि देखियो । कोरोना माहामारीको संक्रमण हुन नदिन हामीले पनि गाउँपालिकाबासीहरुका लागि विभिन्न सचेतनामुलक कार्यक्रमहरुका साथै विभिन्न ठाउँहरुमा स्वास्थ्यकर्मी सहितका हेल्थ डेस्क स्थापना ग¥यौं । ८ वटै वडाहरुमा क्वारेन्टाइन र मालिकार्जुन गाउँपालिकाको शंकरपुरमा आइसोलेसनको व्यवस्थापन गरि प्रभावकारी रुपमा जनतालाई सेवा दियौं ।
सो अवधिमा शिक्ष क्षेत्रमा के काम भए त ?
२५ वटा प्रावि र १९ वटा मावि गरी ४४ वटा सामुदायिक विद्यालयहरुका लागि पनि हामीले काम गरिरहेका छौं । हामी निर्वाचित भएर आउँदा झण्दै ५४ जना निजी शिक्षकहरु काम गरिरहनु भएको रहेछ । उहाँहरुको क्षमता विकास गरी पारिश्रमिकका निमित्त आर्थिक वर्ष २०७५/०७६ का लागि ६० लाख , आव २०७६/०७७ का लागि ६२ लाख र आव २०७७/०७८ का लागि ६६ लाख बजेट विनियोजन गरेका छौं । शिक्षा नागरिकको संवैधानिक हक भएको हुँदा कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित नहोउन् भनेर विद्यालय भर्ना कार्यलाई गाउँपालिकाले अभियानकै रुपमा चलाएको छ भने कुनै बालबालिका विद्यालय नगई घरमै बसेको अवस्था छैन । त्यस्तै विद्यार्थी संख्या हेरी शिक्षक दरवन्दीको कुरालाई अगाडि बढाएका छौं । स्थानीय सरकार संचालन ऐन २०७४ ले व्यवस्था गरे अनुसार आधारभुतदेखि माध्यमिक तहसम्मको अधिकार स्थानीय निकायलाई छ । त्यसै अनुरुप गाउँपालिकाले शिक्षा नियमावली पास गरिसकेको छ । गाउँपालिकास्तरीय शिक्षा समिति समेत गठन भइसकेको छ । यस पालिकामा रहेको एक मात्र स्नातक क्याम्पस शंकरपुर क्याम्पसको विकासका लागि पनि वार्षिक रुपमा गाउँपालिकाबाट नियमित रुपमा बजेट विनियोजन हुँदै आएको छ । यसको सम्बन्धनका लागि प्रदेश सरकार र संघीय सरकार त्रिभुवन विश्व विद्यालयसँग समन्वय भइरहेको छ भने विश्व विद्यालय अनुदान आयोगसँग पनि समन्वय भइ क्याम्पस भवन निर्माणाधीन अवस्थामा रहेको छ । वर्तमान अवस्थामा प्राविधिक शिक्षलयको आवश्यकता महसुस गरी वडा नम्बर ३ मालिकार्जुन मावि मडमा स्थापित डिप्लोमा इन सिभिल इन्जिनियरिङ (ओभरसियर) प्राविधिक शिक्षालय र वडा नम्बर ५ डाडाकोटमा श्री कृष्ण माविमा स्थापित कृषि प्राविधिक शिक्षालयलाई पनि नियमितरुपमा सहयोग गरिँदै आएको छ ।
यसैगरि विद्यालय भवन, शौचालय, पुस्तकालय आदि भौतिक पुर्वाधार निर्माणका लागि पनि संघ र प्रदेशसंग समन्वय गरि भौतिक पुर्वाधार निर्माण कार्यलाई पनि अगाडी बढाइएको छ । साथै शिक्षासँगै खेलकुद विकासलाई पनि जोडी वडा नम्बर– ६ को श्री सरस्वती मावि उकू, वडा नम्बर–८ को श्री शंकरपुर मावि पस्ती र श्री खान मावि ऐरिछानामा बहुउद्देश्यि खेल मैदान निर्माणाधीन अवस्थामा रहेका छन् । जसका कारण यस गाउँपालिका भित्रका खेलाडीहरुलाई आफ्नो खेलकुद कौशल र क्षमता देखाउने अवसर प्रदान गर्ने छ ।
कोरोना भाइरसको जोखिमको बेला तपाईको प्रयास र अनुभव कस्तो रह्यो ?
यसको संक्रमणको सुरुवाती चरणमा हामीले पनि निकै सास्ती व्यहो¥यौं । यसको सुरुआती चरणमा जब लकडाउनको घोषणा भयो, यसको प्रभाव अर्थात् असर यस गाउँपालिका भित्र रहेका दीर्ध रोगीहरुवाई नियमित रुपमा औषधि सेवन गर्न विरामीहरु काठमाडांै, धनगढी, नेपालगञ्ज, भारतको दिल्ली, हल्द्वानी, वरेली आदी ठाउँहरुबाट नियमित औषधि सेवन गर्नुहुन्थ्यो भने लकडाउनका कारण यातायात र सीमा नाका बन्द भएपछि उहाँहरु ठूलो समस्यामा पर्नु भयो । जवकि उहाँहरुको जीवन रक्षा गर्नु गाउँपालिकाका लागि ठूलो चुनौती थियो । यसका लागि मैले जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वयगरी प्रादेशिक अस्पताल घनगढीको सहयोगमा यस गाउँपालिकाका ८ वटै वडाहरुका स्वास्थ्यकर्मी साथीहरुलाई लिएर दीर्घ रोगीहरुको लगत संकलन गर्दा झण्डै ६०० जना दीर्घ रोगी रहेको पाइयो । उहाँहरुको नियमित औषधिका लागि उहाँहरुको लगतको आधारमा प्रादेशिक अस्पतालको सहयोगमा नेपालगञ्ज र धनगढीबाट औषधि उपलब्ध गराई पुनः स्वयं स्वास्थ्यकर्मीहरुको टोली गाउँमा गई नियमित औषधि सेवन गर्ने दीर्घरोगिहरुलाई औषधि उपलब्ध गरायौं । भारतमा कोभिडको संक्रमण बढ्दै जाँदा श्रम रोजगार गर्दै गरेका यस गाउँपालिकाका दाजु–भाइहरु घर फर्किने क्रम शुरु हुँदा गाउँपालिकालाई चुनौती थियो । भारत सीमा बनबासा, गौरिफन्टा र हाम्रो गाउँपालिकाको वडा नम्बर ६ र ७ को महाकाली नदीबाट समेत पौडिएर तरेर आउन थाले पछि उहाँहरुलाई समाल्न निकै गाह्रो भयो । सीमा नाकाहरु बनबासा, गौरीफन्टामा सवारी साधन व्यवस्थापन गरी भित्र्यायौं भने महाकाली नदीबाट तरेर आउनेहरुलाई पनि व्यवस्थित रुपमा १४ दिन देखि २१ दिनसम्म क्वारेन्टिनमा राखि पीसीआर चेक जाँच गरी घर पठायौं । जसका लगि ८ वटै वडाहरुका सामुदायिक विद्यालयहरु, खर्कहरुमा समेत क्वारेन्टिन बनायौं । हाम्रो लगत अनुसार १६ सय जना मालिकार्जुन गाउँपालिकाबासी दाजु भाइहरु श्रम रोजगारका निम्ति भारत तथा तेस्रो मुलुकमा रहेका मध्ये १३ सय जना रोजगारी गुमाई घरमै वसेको अवस्थामा छ । त्यस्तै अध्ययन तथा अन्य काम लागि काठमाडौं, पोखरा, भरतपुर, रामेछाप, नेपालगञ्ज, धनगढी, महेन्द्रनगरमा रहेका हाम्रो गाउँपालिकाबासी दाजु–भाइ, दिदिबहिनीहरुलाई पनि हामीले उद्धार गर्नु प¥यो । त्यस्तै उहाँहरुको लागि क्वारिन्टिन र आइसोलेसन व्यवस्थापन गर्ने कार्य गाउँपालिकाका लागि ठूलो चुनौती थियो । गाउँपालिकाको स्रोत तथा प्रदेशिक अस्पातालको सहयोगमा पीसीआर किट व्यवस्थापन गरि चेक जाँच ग¥यौं । त्यस्तै लामो समय लकडाउन हुदा सीमा क्षेत्र जोलजीवी, लाली, बलुवाकोट दार्चुलाका पुल घाट बन्द हुँदा भारत सरकारको सेना, प्रहरी र अन्य सरकारी नोकरीबाट सेवा निवृत हुनुभएका यस गाउँपालिकाका २२० जना पेन्सन बुझ्ने पेन्सन होल्डरहरुका लागि स्थानीय प्रशासन जिल्ला प्रशासन दार्चुलासँग समन्वय गरी विभिन्न समयमा पुल घाट खोली पेन्सन बुझ्ने र पेन्सन नविकरण गराउने काम पनि ग¥यौं । जे होस कोभिड–१९ को संक्रमण बढ्न नदिन गाउँपालिकास्तरीय कोभिड–१९ व्यवस्थापन तथा नियन्त्रण समिति, वडास्तरीय कोभिड–१९ कोरोना महामारी प्रतिकार्य समिति, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधीहरु, आम मालिकार्जुनबासी जन समुदायहरुको सहयोगका कारण कोरोना भाइरस संक्रमण हुन नदिन सबै पक्षको सहयोग हुँदा हालसम्म संक्रमण देखिएको छैन ।
कृषि तथा पशु क्षेत्रलाई कसरी लिनु भएको छ ?
यहाँको भूगोल र मौसमको आधारमा यस गाउँपालिकामा बैज्ञानिक कृषि खेती र व्यवसायिक पुशु पालनको प्रयाप्त सम्भावन रहेको छ । यसको आधारमा हामिले तीनै तहको भुगोल र मौसम अनरुपको व्यवसायिक कृषि खेती र पशुपालन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेका छांै । हिमाली क्षेत्रको रुपमा चित्रण गरिएको क्षेत्रमा चरिचरनको सम्भावना भएकोले त्यहाँ बाख्रा पालन गर्ने उद्यमि समूहहरुलाई बाख्रा पालनको क्षेत्रमा गोठ सुधार, बयर जातका बोका वितरण र अन्य अनुदान दिएका छौं । पहाडी क्षेत्रको रुपमा चित्रण गरिएको भूगोलमा फलफूल उत्पादनको सम्भावना रहेकोले त्यहाँ कृषक समूहहरुलाई फलफूल, तरकारी खेतीका लागि विऊ पोलीहाउस सिँचाइ लगायतका अनुदान सहयोग दिएका छौं भने महाकाली नदी किनारको तराईं क्षेत्र चित्रण गरिएको भुगोललाई तराईंको जस्तै उत्पादन हुने हुँदा धान पकेट क्षेत्र घोषणा गरी धान उत्पादन हुने विऊ, मल, सिँचाइ र अन्य उत्पादनलाई समेत लक्षित गरी अनुदान दिइरहेका छौं । त्यस्तै, यस गाउँपालिकाको वडा नम्बर २ न्वालपानी, ३ मलबाब, वडा नम्बर ४ गोठ्युडी, वडा नम्बर ५ हरडा , वडा नम्बर ८ को कोटिला क्षेत्रलाई ओखर पकेट क्षेत्र घोषणा गरी गाउँपालिकाको तर्फबाट ७ लाख, कृषि ज्ञान केन्द्र दार्चुलाको १० लाख र कृषकहरुको ३ लाख रुपैयाँ बराबरको श्रमदान गरी २० लाख रुपैयाँको साझेदारीमा टर्कीको ओखर खेती गर्ने गरि सम्झौता भई कार्य अगाडि बढाएका छौं ।
मैले पहिला पनि भने मौसम र भौगोलिक बनौटको आधारमा मालिकार्जुन गाउँपालिकालाई तीन प्रकारको भुगोलको आधारमा वर्गिकरण गरिएको छ । वडा नम्बर २ सिसाली, सिराड, बजानी, न्वालपानी, वडा नम्बर ३ को मौता, सुङरखाली, मलबाब, वडा नम्बर ४ को ऐराछाना, सौल्या, गोठ्युडी, वडा नम्बर ८ को कोटिला, कोटबुङा क्षेत्र हिमाली क्षेत्र, वडा नम्बर १ को सुत्तने, रेवली, डुङरी वडा नम्बर २ को ठीङ गाडखोला, सिराड, वडा नम्बर ३ को मड, भौतडी, बसेडी, वडा नम्बर ४ को औतालेक, रतोडा, चोल्थी, टाटिक, वडा नम्बर ५ को डडाकोट, लिमा, हारडा, मलतडी, वडा नम्बर ८ को पस्ती, थकतोली, गौल, चामी, चस्कोट, धमालेक लगायत क्षेत्रलाई पहाडी क्षेत्र र वडा नम्बर १ भर्ताेला, वडा नम्बर ७ को डिन्सी, ढक्या, जोलजिवी, वडा नम्बर ६ को उकू, सलेती, बाँकू र वडा नम्बर ५ को तोली मवाडी कमेडपानी लगायतको महाकाली नदी किनारको क्षेत्रलाई तराईं क्षेत्रको रुपमा लिइएको छ ।
संस्कृति तथा पर्यटन पूर्वाधार विकासको क्षेत्रमा के नीति अवलम्वन गर्नु भएको छ ?
मालिकार्जुन गाउँपालिका भित्र विभिन्न जातजाति भाषा भाषीहरुको बसोबास रहेको छ । आ–आफ्ना जातजातिका फरक–फरक भौगोलिक लोक संस्कृति र परम्पराहरु छन् भने यो गाउँपालिका क्षेत्रमा महाराज मालिकार्जुनको राष्ट्रिय धाम लगायत अन्य थुप्रै देवी देवताका विभिन्न बिशिष्ठ मठ मन्दिरहरु, धार्मिकस्थलहरु र पर्यटकीय क्षेत्रहरु पनि यहाँ रहेका छन् । धार्मिक तीर्थस्थल, मठ–मन्दिरहरु, पौराणिक लोक संस्कृति र अन्य पर्यटकीय क्षेत्रको विकास गर्न सकिएमा गाउँपालिकाको समृद्धि र समुन्नति हुने सम्भावना छ । त्यसैले मालिकार्जुन गाउँपालिकाले लोक संस्कृति र पर्यटकीय क्षेत्रलाई उच्च प्रथामिकता राखी पर्यटकीय पूर्वाधारको कार्य अगाडी वढाइएको छौं ।
राष्ट्रिय धाम मालिकार्जुन तीर्थस्थल पनि तपाईंको गाउँपालिकामा पर्दछ, यसको विकास र पर्यटकीय क्षेत्रको विकासका लागि गाउँपालिकाले के रणनीति बनाएको छ ?
माहाराज मालिकार्जुन कै नामबाट यो गाउँपालिकाको नामाकरण गरिएको छ । शिवपुराणमा उल्लेख गरिएका भगवान शिवका १२ ज्योर्तिलिङ्गमध्ये दोस्रो ज्योर्तिलिङ्गको रुपमा रहेको श्री मालिकार्जुन तीर्थस्थललाई नेपाल सरकारले आर्थिक वर्ष २०६५/०६६ देखि देशभरिका सातवटा धामहरु मध्येकै एउटा धामको रुपमा घोषणा गरयो भने यसको सर्वाङ्गिण विकास एवम् पर्यटकीय पूर्वाधार विकासका लागि म यस गाउँपालिकामा निर्वाचित हुनुभन्दा पहिलादेखि नै श्री मालिकार्जुन पर्यटन पूर्वाधार विकास समितिको अध्यक्ष भई काम गर्दै आएको हुँ । यस तीर्थस्थलको पर्यटकीय विकासका लागि हामीले विभिन्न चाड पर्वका समयमा यसको छायाङ्कन गरी विभिन्न टेलिभिजनहरुबाट यसको प्रचार प्रसार, बृतिचित्र प्रशाणका साथै भौतिक पूर्वाधार विकास अन्तर्गत अतिथी आवास गृह, खानेपानी व्यवस्थापन, मन्दिर क्षेत्र घेर, पर्खाल निर्माण, बाटो निर्माण लगायतका कार्यहरु गर्दै आएका थियौं । जसका कारण अहिले यस तीर्थस्थलमा आउने श्रद्धालु भक्तजनहरुलाई निकै नै सेवा सुविधा पुगेको छ । हामी निर्वाचित भएर आइसके पछि हामीले यो गाउँपालिकामा अवस्थित राष्ट्रिय धाम श्री मालिकार्जुन तीर्थस्थल र यस गाउँपालिका भित्र रहेका अन्य देवताका मठ मन्दिरहरु, धार्मिक स्थलहरु, पर्यटकीय स्थलहरु, यस गाउँपालिकामा रहेका विभिन्न जातजातिको विशिष्ट मौलिक लोक संस्कृति र परम्पराको संरक्षण सम्वद्र्धन र पर्यटकीय पूर्वाधारको विकास गर्न सकिएमा गाउँपालिकाको समृद्धि र समुन्नति हुने भएकाले हामीले यस गाउँपालिकाका लागि पर्यटकीय क्षेत्रको विकासलाई पनि उच्च प्राथमिकतामा राखी कार्य अगाडि बढाएका छौं । जस अन्तर्गत राष्ट्रिय धाम मालिकार्जुन तीर्थस्थलको लागि हामीले आर्थिक वर्ष २०७४÷०७५ देखि नै मालिकार्जुन मन्दिर मडदेखि मौतामौतीसम्म २ हजार ७०० मिटर पीसीसी बाटो निर्माण, मड मन्दिर देखि लटिनाथ मन्दिर, चौड सम्म १२०० मिटर पीसीसी बाटो निर्माण, मड तल्लागाउँ भण्डारी घर हुँदै मालिकार्जुन मन्दिर सम्मको पीसीसी बाटो क्रमागत रुपमा निर्माणाधीन अवस्थामा छ । यस्तै, मन्दिर परिसर भित्र बृक्षारोपण, सौन्दर्यीकरणका कार्यक्रमहरु पनि सञ्चालनमा रहेका छन् । बाहिरबाट आउने श्रद्धालु भक्तजन तथा पर्यटकहरु राष्ट्रिय धामको दर्शन गरेर मात्रै फर्किनु नपरोस् भनेर हामीले हुनैनाथ मन्दिर औतालेक, वण्ड माणौ सलेती, पवित्र काली र गोरी नदीको संगमस्थल जोलजीवि, मानै तथा ठिङ भगवती मन्दिर, चाडी मन्दिर खुना, शिव मन्दिर पस्ती, गौरीआमा–रानीबास, तमैराज बल्लेक डाँडाकोट मन्दिरहरु, न्वालपानी, दमरौरा, वलशिखर, तमकोट, सुङरखाली, शौल्या, कोटबुङा जस्ता पर्यटकीय क्षेत्रको विकासका लागि पनि लागि परेका छौं । प्रदेश संघ र हाम्रो श्रोतबाट हुन सक्ने विकासका लागि तीनै तहका सरकारहरुको समन्वय तथा सहकार्यबाट मात्रै पर्यटकीय क्षेत्रको विकास हुने हुनाले त्यसतर्फ पनि सक्रिय रुपमा अगाडि बढिरहेका छौं । हामी निर्वाचित भएर आइसके पछि हामीले यस गाउँपालिकाको वडा नम्बर ७ मा विगत १४० वर्ष भन्दा पहिलादेखि मनाइँदै आएको ऐतिहासिक जोलजीवि मेलालाई २०७४ सालदेखि स्थानीय सरकारले सरकारी मेलाका रुपमा मनाउन सुरुवात गरिसकेका छौं । भारत र नेपाल सीमानामा पर्ने काली र गोरी नदीको संगमस्थल जोलजीवि मेला त्रिदेशीय मेलाको रुपमा भारतले आजभन्दा १४० वर्ष पहिलादेखि मनाउँदै आएको छ । जसबाट यस क्षेत्रको व्यापार प्रवद्र्धन हुनुका साथै धार्मिक साँस्कृतिक महत्व र दुई देश बीचको सम्बन्ध पनि सुमधुर भएको यथार्थ हाम्रो अगाडि छ भने व्यापार व्यवसायबाट समेत समृद्धि भएको छ । त्यस्तै, विशिष्ट लोक संस्कृति र मौलिक परम्परालाई पनि बचाउनु पर्ने हाम्रो कर्तव्य ठानी हामीले विभिन्न देव देवताका झोडो, फाग, ठाडो खेल, ढुस्कु, अठवाली, संजेवाली, भलौलो जस्ता हाम्रा अमूल्य निधिहरुलाई लिपीबद्ध गरिरहेका छौं ।
वर्षाका कारण मालिकार्जुन गाउँपालिकामा पनि ठूलो जनधनको क्षति भएको छ । धेरै घर परिवारहरु विस्तापित भएका छन् । यस विषयमा गाउँपालिकाले के–कसरी सम्बोन्धन गरेको छ ?
वास्तवमा यस पालिकामा बर्षा याममा बाढी पहिरोबाट ठूलो जनधनको क्षति भएको छ । २०७७ साउन ५ गतेका दिन परेको अविरल वर्षाका कारण वाढी–पहिरो आई ८ वटै वडाहरुमा ठूलो क्षति पुगेको छ । खास गरी वडा नम्बर –२ गाडखोला, वडा नम्बर–२ कैठीङ, सिराड, न्वालपानी भैसेखर्क, वडा नम्बर–४ का सनदेउ, गोठयुडी, वडा नम्बर–६ को सलेती, भोल्यानी र वडा नम्बर–८ सल्याडी, खोलिचोरा, शंकरपुर, अडाखान, गणेबाज क्षेत्रमा बढी क्षति भयो । अझ भन्नुपर्दा वडा नम्बर–८ को शंकरपुर अडाखान बजारक्षेत्र मै ८ नम्बर वडा कार्यालय माथिबाट आएको पहिरोबाट घर पुरिँदा सिलाई सेन्टर व्यवसाय गर्दै आइरहनुभएका दलित महिला लक्ष्मी ढोलीसहित निजका २ जना छोरा–छोरी र २ जना निजकै सहोदर भाइहरु पहिरोमा पुरिए । तत्काल स्थानीयबासी र सुरक्षाकर्मीको सहयोगमा लक्ष्मी ढोलीसहित निजका २ जना छोराछोरीहरुको सकुशल उद्धार गरियो भने २ जना भाइहरुलाई बचाउन सकिएन । घटना पश्चात घाइतेहरुलाई गाउँपालिकाको पहलमा तत्काल नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा पठाइयो भने मृतकको शव गाउँपालिकाकै पहलमा उनीहरुकै ठेगानामा अन्त्येष्टिका लागि पठाइयो । त्यस्तै, वडा नम्बर– २ गाडखोला, अम्पेड, ज्युनडामा २०७७ साउन ५ गतेको वर्षाका कारण पहिरो जाँदा ४ घरहरु पूर्ण रुपमा क्षतिग्रस्त भए भने पुरै गाउँका १३÷१४ घरपरिवारहरु नै उच्च जोखिममा रही विस्थापित भएका छन् । त्यस्तै, वडा नम्बर–८ को खोलिचोरा, सल्याडी, गणेबाजमा पनि ९÷१० घरपरिवारहरु विस्तापित भएका छन् । तत्काल जिल्ला विपद व्यवस्थापन समिति, नेपाल रेडक्रस, गुडनेवर्स नेपाल, सीआरडीएस र अन्य सहयोगी संघ–संस्थाहरुसँग समन्वय गरी केही राहत उपलब्ध गरायौं । त्यस्तै, विस्तापित घरपरिवार, उच्च जोखिम र आंशिक क्षति र सबै क्षतिहरुको सम्वन्धमा स्वयम् अवलोकन गर्न प्रभावित क्षेत्रमा गई गाउँपालिका विपद व्यवस्थापन समितिबाट क्षति यकिन गरी जिल्ला विपद व्यवस्थापन समितिमार्फत संघ र प्रदेश सरकारसमक्ष सुरक्षित स्थानमा स्थान्त्रण गरिदिन हुन, विस्थापितहरुलाई बसोबास कायम गरि दिनहुन र राहत तथा क्षतिपुर्तिका लागि अनुरोध गरेका छौं । हामीभन्दा माथिका २ वटै सरकारहरुले निर्णय गरि पठाइसके पश्चात हामी पनि गाउँपालिकाको स्रोत हेरी बाढी पहिरोबाट प्रभावित घरपरिवारहरुलाई मापदण्डअनुसार सहयोग गर्ने नै छौं ।
हाल धेरैजसो स्थानीय तहका पदाधिकारीहरु पालिका बाहिर अर्थात् जिल्ला बाहिर रहेको सुनिन्छ, तपाईं आफ्नो पालिकामा के गर्नु हुन्छ ?
काम विशेषले त जिल्ला सदरमुकाममा आयोजित कार्यक्रमहरु, प्रदेशमा आयोजित कार्यक्रमहरु र संघीय सरकारको कामकाजका लागि बाहेक म प्रायजसो गाउँपालिकामा नै रहेको छु भने गाउँबासीहरुसँग भेटघाट तथा सुख दुःखमा गाउँमा पनि पुगेकै छु ।
प्रदेश सरकारको पदाधिकारी सेवासुविधाअन्तर्गत गाउँपालिका अध्यक्षले सवारीसाधन प्रयोग गर्ने प्रावधान छ, तर तपाईंलाई सार्बजनिक सवारीसाधन र मोटरसाइकलमा यात्रा गरिरहेको देखिन्छ । किन गाडी प्रयोग गर्नु नभएको ?
यहाँले भने जस्तै गाउँपालिका अध्यक्षलाई एउटा गाडी प्रयोग गर्नपाउने प्रदेश सरकारको व्यवस्था छ । सोहीअनुसार हामीले पनि चालु आर्थिक वर्ष २०७६/०७७ को बजेटमा एउटा गाडी खरिद गर्न ७० लाख रुपैयाँ बजेट विनियोजन गरेका थियौं । कोभिड–१९ का कारण हाम्रो गाउँपालकिा पनि कोरोना भाइरसबाट अछुतो रहन सकेन । यो गाउँपालिकामा कोरोना संक्रमण केही वडाहरु मा निकै नै देखियो । त्यतिबेला हामीले एम्बुलेन्स, निजी गाडीहरुबाट संक्रमितहरुलाई आसोलेशनसम्म उपचार तथा परीक्षणका लागि जिल्ला अस्पताल तथा जिल्ला बाहिर पठाउनुपर्ने स्थिती आयो । अझ भन्नुपर्दा संक्रमितहरुका स्वाव संकलन गरी धनगढी, डडेलधुरा र बैतडी पठाउनुप¥यो । त्यतिबेला महसुस भयो कि आफूले गाडी प्रयोग गर्नु भन्दापनि जनताको आवश्यकता महसुस गरी तत्काल कार्यपालिकाको बैठकबाट २ वटा एम्बुलेन्स खरिद गरी एउटा महाकाली वेल्टको लागि उकु स्वाथ्यचौकी र एउटा गाउँपालिका सदरमुकाम वडा नम्बर–८ शंकरपुर स्वास्थ्यचौकीमा भए माथिल्लो भेगको जनताहरुले सुविधा पाउने हुँदा गाउँपालिकाको गाडी खरिद बजेटलाई एम्बुलेन्स खरिदका लागि संशोधन गरीएम्बुलेन्स खरिद प्रक्रिया अगाडि बढाएका छौं । त्यसकारण मोटरसाइकल र अन्य सवारी साधनबाट आवतजावत गरिरहेको छु ।
गाउँपालिकाले भोग्नु परेको समस्या र कठिनाई (चुनौतीहरु) के–के छन् ?
हामी निर्वाचित भएर आएको ३/४ वर्ष हुन लागिसक्यो । गाउँपालिकाले स्वीकृत गरेको नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने कर्मचारी संयन्त्र हो । आजको मितिसम्म दरबन्दी अनुसारको कर्मचारीहरु हामीले पाएका छैनौं । विषयगत शाखाहरुको त कुरै छोडौं, प्रमुख प्रशासकीय अधिकृत र लेखाकै कर्मचारी छैन । वडा सचिवहरु नहुँदा प्राविधिक सहायकहरुलाई जम्मेवारी दिएर वडा कार्यालयहरु चलाएका छौं । ४४ वटा विद्यालय हेर्ने विद्यालय निरीक्षक र ‘प्रास’ छैनन्, एकजना शिक्षकबाट शिक्षा शाखा चलाएका छौं । त्यस्तै, महिला तथा बालवालिका प्राविधिक शाखाहरुमा पनि दरवन्दी अनुसार कर्मचारी व्यवस्थापन हुन सकेको छैन । पटक–पटक प्रदेश सरकारलाई त के भन्नु, उसको हाम्रो भन्दा झन समस्या छ । संघीय सरकारलाई जति भन्दा पनि कर्मचारी व्यवस्थापन गरि दिने कुनै चासो नदेखिए पछि त्यस्तै दुःखका साथ कार्यालय सञ्चालन गर्नु परेको छ ।
चुनावका बेला तपाईंले मतदातासमक्ष राखेका प्रतिवद्धाताहरु पुरा गर्न सक्नु भयो ?
मैले निर्वाचनका वेला जनतासमक्ष गरेका प्रतिवद्धताका सम्वन्धमा भन्नु पर्दा संघीय सरकार र प्रदेश सरकारको अनुदानभन्दा बाहेक गाउँपालिकाको आफ्नो अन्य कुनै श्रोतसाधन छैन । दुवै सरकारहरुबाट गाउँपालिकालाई प्राप्त हुने अनुदानलाई हामीले जनताको भावना, माग आवश्यकता र औचित्यको आधारमा न्यायिक र समावेशी एवम् सामानुपातिक ढङ्गबाट निनियोजन गरेका छौं । जसबाट आम मालिकार्जुनबासी जनसमुदायले स्थानीय सरकारबाट आफूले प्रत्यक्ष रुपमा सेवा सुविधा पाएको महसुस गरेका छन् ।
यी सबै दाबी गरिरहँदा सु–शासनको सवालमा गाउँपालिकाले के गरेको छ ?
मैले अघि नै भने जुन स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत छैन, लेखाको कर्मचारी छैन, विषयगत शाखाहरुको त कुरै नगरौं त्यहा के सु–शासनको कुरा गर्न सक्छौ र ? हामीहरुले गाउँपालिकाबाट अगाडि वढाएका कार्यक्रमहरुप्रति आज जनसमुदायको धारणाको विषयमा हामीले गरेको काम कारबाहीहरुलाई अझ सुधार गर्नु पर्ने सल्लाह सुझावलाई आत्मसाथ गरी सुधार गर्नु पर्ने हुन्छ । त्यसका लागि हामीले वडागत रुपमा र गाउँपालिकामा चौमासिक रुपमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने गरेका छौं । जसमा सु–शासनका औजारहरु– सहभागीता, पारदर्शिता र जवाफदेहिता जस्ता विषयहरुलाई केन्द्रविन्दु बनाइ अगाडि बढ्नु र जनतालाई सचेत गर्नु हाम्रो प्रयास रहेको छ ।
अन्तमा गाउँबासी जनसमुदायलाई के भन्न चाहनुहुन्छ ?
म आम मालिकार्जुनबासी आमा–वुबा, दाजुभाइ–दिदीबहिनीहरुसमक्ष के अनुरोध गर्न चाहन्छु भने मैले हजुरहरुसमक्ष प्रतिवद्धता गरेका सबै कुराहरु पूरा नभएका हुन सक्छन् । विश्व महामारीका रुपमा आएको कोरोना भाइरसको संक्रमणका कारणले हामीले विभिन्न विकासे बजेटलाई स्वास्थ्य क्षेत्रमा लगाउनु पर्यो । यसबाट हाम्रा विकास निर्मााणका कार्यहरु ओझेलमा परेका छन् । अगामी दिनहरुमा यसको संक्रमण तथा प्रभाव कम भयो भने हाम्रा विकासे आवश्यकतालाई निरन्तरता दिने वचनवद्धताका साथ अगामी दिनहरुमा पनि यहाँहरुको सल्लाह, सुझाव र सहयोगको अपेक्षा गरेको छु ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies