–इसत्याक अहमद
इस्लामअनुसार संसारकै मुस्लिमहरूलाई १ पटक हज जानुपर्छ । इस्लाममा ५ फरज छन्, जसमध्ये माहात्म पुनः हज हो । हज गरेपछि इस्लामिक ५ अरकान पूरा हुने छन् । हजमा जाने व्यक्तिको हजमा खर्च गर्नुपरे रकम शुद्ध हुनुपर्छ । इस्लाम धर्मका अनुसार उक्त रकम आफूले मिहिनेत गरी कमाइएको रकम हुनुपर्छ वा जमिन विक्रीबापत पाएको पैसा हुनुपर्छ ।
केही व्यक्तिहरूलाई हजमा जान अत्यन्तै आध्यात्मिक अनुभव लाग्छ, त्यसैले उनीहरू पटक–पटक गइरहेको अवस्था पनि देखिएको छ ।
केहीले अरूका तर्फबाट हज गर्छन्, जसलाई इस्लाम धर्मले अनुमति दिएको छ । तर, यो व्यक्तिविशेषका लागि हुन्छ र व्यापारिक रूपमा गर्दा यसको फल प्राप्त हुँदैन । केहीले हजका नाममा आर्थिक लाभ खोज्ने सम्भावना पनि राखेका पाइन्छ, जस्तै : हज ट्राभलको व्यापार वा सरकारी सुविधाको दुरुपयोग ।
मुस्लिम संघसंस्थामा हजको नाममा बिचौलियाहरू हाबी भएका पाइन्छ । केही परिवार, आफन्तलाई सेटिङ गरेर पठाइने व्यवस्था मिलाएको पाइन्छ ।
पहिले हज गरिसकेको छ कि छैन भन्ने आधारमा तथ्यांकमा आधारित छनोट गरिएन भने बारम्बार जानेको संख्या बढ्न सक्छ । त्यस्ता व्यक्तिको आर्थिक अवस्था बुझ्न जरुरी देखिएको छ ।
यदि कुनै व्यक्तिले प्रत्येक वर्ष जाने आर्थिक क्षमता राख्छ भने त्यो उसैको व्यक्तिगत विषय हो तर यदि उसले अरूको अधिकार खोसेर अथवा संघसंस्था र सरकारी सुविधा लिइरहेको छ भने त्यो अनैतिक हुन्छ ।
केही व्यक्तिले अरूका तर्फबाट ‘हज बदल’ भन्दै पैसा लिएर हज गरिरहेका पनि पाइन्छ, जुन निकै गलत कर्म हो । यसलाई कानुनले पनि कारबाहीको दायरामा ल्याउन आवश्यक छ । यसका लागि बारम्बार जानेको सूची सार्वजनिक गर्दा गलत मानिस पत्ता लाग्न सक्छ ।
इस्लाम धर्मअनुसार हज जीवनमा १ पटक गर्ने फर्ज हो । यदि व्यक्ति शारीरिक, मानसिक र आर्थिक रूपले सक्षम छ भने । त्यसैले, हरेक वर्ष हजमा जानु इस्लामिक दृष्टिले आवश्यक छैन– यो फर्ज १ पटक पूरा भएपछि त्यसपछि गर्ने हज ऐच्छिक मानिन्छ ।
यदि सरकारका तर्फबाट केही अनुदान, सहुलियत वा प्राथमिकता दिइएको छ भने हरेक वर्ष एकै व्यक्तिले त्यसको फाइदा उठाउनु अनुचित हुन्छ । सबै नागरिकलाई समान अवसर दिनुपर्ने शासन प्रणालीमा यो असमान व्यवहार हो ।
सरकारले वा हज समितिले यस्तो व्यवस्था गर्न सक्ने छ, जहाँ पहिल्यै हज गरिसकेकाहरूलाई भन्दा नयाँ उम्मेदवारहरूलाई प्राथमिकता हुनेछ । वार्षिक सूची पारदर्शी बनाउनु एकदमै आवश्यक छ । यदि जुन व्यक्ति पटक–पटक हजमा गइरहेको छ भने नेपाल सरकार गृह मन्त्रालयले रोक लगाउन जरुरी छ ।