रौतहट : सशस्त्र प्रहरी बल ११ नं गण हेडक्वाटर रौतहटको १८औं स्थापना दिवस विभिन्न कार्यक्रमहरु गरी मनाइएको छ । सशस्त्र प्रहरी बल ११ नं.गण हेडक्वाटर हजमिनियाँमा आइतबार आयोजित कार्यक्रम प्रमुख अतिथि छिन्नमस्ता बाहिनी वर्दीवास महोत्तरीका निमित्त बाहिनीपति एसएसपी सूर्यसेन वलीकले उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै उनले मन कर्म वचनले पाएका कार्यहरुलाई दायित्वबोध गरेर पूर्ण इमान्दारीका साथ पालना गर्नुपर्ने निर्देशन दिए ।
सीमा नाकाको सुरक्षा, राजस्व चुहावट नियन्त्रण, पिलरहरुको सुरक्षा, सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधिलाई पूर्ण रुपमा निष्तेज पार्न अहोरात्र खटेर अपराधदेखि राजस्व बढाउनमा महत्वपूर्ण भूमिका सशस्त्र प्रहरीको रहने भएको हुँदा उक्त कार्यमा पूर्ण इमान्दारीका साथ कर्तव्यनिष्ट भएर काम गर्नुपर्नेमा उनले जोड दिए ।
राजदेवी नगरपालिकाको नगरप्रमुख भिखारी प्रसाद यादवले सशस्त्र प्रहरीकै कारण सीमानाकाहरु सुरक्षित रहेको तथा सीमा क्षेत्रका गाउँहरुमा भारतीय अपराधीहरुले विगतका दिनमा अपराधिक घटनाहरु घटाउने कार्यहरु अहिले पूर्ण रुपमा बन्द रहेको हुँदा सशस्त्र प्रहरीको कार्यशैलीको प्रशंसा गर्दै आभार व्यक्त गरे ।
साथै १८औं स्थापना दिवसको सुखद उपलक्ष्यमा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारी परिवारको उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना दिए ।
सशस्त्र प्रहरी बल ११ नं गणका गणपति एवं सशस्त्र प्रहरीका एसपी सन्तोषकुमार बस्नेतले आफू आएदेखि नै अपराधदेखि लिएर अवैध हतियारसहित मानिस पक्राउ गरेको, सीमानाकामा हुने चोरी एवं राजस्व चुहावटको कार्यलाई नियन्त्रण गर्न मालसामानहरु निरन्तर रुपमा नियन्त्रणमा लिने कार्य गरेको बताए ।
यस्तै उनले अबैध हुण्डीको कारोवारीलाई नोटसहित पक्राउ गरेर कानुनी कारवाही गराएको हुँदा अझ प्रभावकारी बनाउन आम नागरिकहरुको सहयोगका अपेक्षा रहेको औंल्याए । कार्यक्रमा प्रदेश सांसद नागेन्द्र साह, सुरक्षा निकायका प्रमुखहरु, सर्लाही, पर्सा, बारा जिल्लाका सशस्त्र प्रहरीका एसपीहरु, सशस्त्र प्रहरी प्रशिक्षालय पथलैयाका एसपी संजय मण्डल, विभिन्न गैर सरकारी संघ संस्थाहरुको प्रमुख एवं प्रतिनिधिहरु, पूर्व सशस्त्र प्रहरीहरु सहित सशस्त्र प्रहरी परिवारको उपस्थिति रहेको थियो ।