२०८२ वैशाख २९ गते सोमवार / May 12 , 2025 , Monday
२०८२ वैशाख २९ गते सोमवार
Ads

देशको आर्थिक तथा वित्तीय स्थिति बलियो

छबि सापकोटा
२०८२ वैशाख २८ गते २०:५४
देशको आर्थिक तथा वित्तीय स्थिति बलियो

काठमाडौं : आन्तरिक अर्थतन्त्र बिस्तारै चलायमान हुँदै गर्दा देशको आर्थिक तथा वित्तीय स्थिति बलियो बन्दै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को (साउन–चैत) सम्म ९ महिनाको तथ्यांकले विदेशी मुद्रा सञ्चिति, निर्यात र आयातमा देखिएको सुधार, शोधानान्तर बचत तथा रेमिटान्स भित्रिँदा अर्थतन्त्र थप बलियो भएको देखाएको हो ।

चालु आर्थिक वर्षको ९ महिनामा निर्यात ६५.२ प्रतिशतले बढेर १ खर्ब ८८ अर्ब २० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३.७ प्रतिशतले घटेको थियो । त्यस्तै, चालु आर्थिक वर्षको ९ महिनामा कुल वस्तु आयात १२.२ प्रतिशतले वृद्धि भई १३ खर्ब ९ अर्ब ५३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा आयातमा २.८ प्रतिशत कम थियो ।

नौ महिनामा कुल वस्तु व्यापार घाटा ६.४ प्रतिशतले वृद्धि भई ११ खर्ब २१ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १४.४ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.८ प्रतिशत रहेको थियो । ९ महिनामा करिब १२ खर्ब रेमिट्यान्स भित्रिएको छ । समीक्षा अवधिमा रेमिटान्स १० प्रतिशतले वृद्धि भई ११ खर्ब ९१ अर्ब ३१ करोड पुगेको छ । 

त्यस्तै, ९ महिनासम्म शोधनान्तर स्थिति ३ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँले बचतमा रहेको छ । चालु आर्थिक वर्षको ९ महिनामा शोधनान्तर स्थिति चालु खाता २ खर्ब १० अर्ब २२ करोड रुपैयाँले बचतमा छ । गत वर्ष सोही अवधिमा चालु खाता १ खर्ब ७९ अर्ब ८३ करोड रुपैयाँले बचतमा थियो । 

विदेशी मुद्रा सञ्चिति २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८.९ प्रतिशतले बढेर चैत मसान्तमा २४  खर्ब २६ अर्ब ८४ करोड पुगेको छ । अमेरिकी डलरमा सञ्चितिमा १५.४ प्रतिशतले वृद्धि भई १७ अर्ब ६३ करोड रहेको छ । नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १७.१ महिनाको वस्तु आयात र १४.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । 

नेपालमा गत वर्ष भन्दा चालु आर्थिक वर्षको ९ महिनामा महँगी घटेको छ । ९ महिनाको राष्ट्र बैंकको तथ्यांकअनुसार मुद्रास्फीति ३.३९ प्रतिशत छ । अघिल्लो आव सोही अवधिमा ४.६१ प्रतिशत थियो । राष्ट्र बैंकको तथ्यांकअनुुसार पेय पदार्थको मुद्रास्फीति २.४५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९० प्रतिशत छ । अघिल्लो वर्ष सोही अवधिमा पेय पदार्थको मुद्रास्फीति ५.२२ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.२० प्रतिशत थियो ।

ADV

सम्बन्धित खबर