२०८२ वैशाख २९ गते सोमवार / May 12 , 2025 , Monday
२०८२ वैशाख २९ गते सोमवार
Ads

सीप प्रवर्धनमा बौद्ध गुम्बा

जीवन शर्मा
२०८२ वैशाख २९ गते ०६:२०
सीप प्रवर्धनमा बौद्ध गुम्बा

काठमाडौं : विविध धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाले भरिएको मुलुक नेपालमा बौद्ध धर्म र यसका प्रतीक गुम्बाहरूले हाम्रो समाजमा गहिरो प्रभाव पारेका छन् । धार्मिक आस्था र ध्यानको केन्द्र मात्र नभई समाजमा नैतिकता, सीप विकास र पर्यटन प्रवर्धनमा समेत अहं भूमिका रहेको बौद्ध गुम्बाहरूमा शान्ति, सहिष्णुता, सत्य र करुणाको महत्त्व बारेमा शिक्षासमेत दिइन्छ । 

धेरै बौद्ध गुम्बामा चित्रकला, मूर्तिकला, मन्त्रोच्चारण, ध्यान विधि, भाषा (संस्कृत, पाली, तिब्बती) आदि तालिमहरू गराउने गरिएको धर्मगुरुहरू बताउँछन् । यस्ता सीपहरूले व्यक्तिको आत्मनिर्भरता बढाउनुका साथै परम्परागत ज्ञानको संरक्षणमा सहयोग पुर्‍याउने बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समितिका अध्यक्ष फुपु छेम्बे शेर्पाले बताए ।

विशेषगरी महिला र बालबालिकाहरूका लागि यस्ता कार्यक्रमले आर्थिक तथा सामाजिक सशक्तीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने गरेको उनको दाबी छ । 

त्यस्तै, बौद्ध गुम्बाहरू नेपालमा धार्मिक तथा सांस्कृतिक पर्यटनको केन्द्र बनेका छन् । स्वयम्भूनाथ, बौद्धनाथ, कपिलवस्तु, लुम्बिनी जस्ता ऐतिहासिक स्थलहरू लाखौं आन्तरिक तथा विदेशी पर्यटकहरूको आकर्षणका केन्द्र बनेका छन् । यी स्थलहरूमा पर्यटकको आगमनले स्थानीय व्यापार, यातायात, होटल तथा हस्तकलाको व्यवसायलाई समेत बढाएको छ ।  गूम्बाहरूमा धार्मिक कर्मकाण्डसँगै नैतिकता, सीप र पर्यटन प्रवर्धनको पक्ष जोडिएको छ । 

भगवान् गौतम बुद्धले आफ्नो दरबारको विलासिता त्यागेर २९ वर्षको उमेरमा घर छाडेर गरेको तपस्याका कारण बुद्धत्व प्राप्त गरेको इतिहास छ । उनको तपस्यापश्चात प्रतिपादन भएको दर्शनले यतिबेला विश्वको ध्यान खिचेको धर्मगुरुहरूले दाबी गर्दै आएका छन् ।

भौतिक विकासमा सम्पन्न विदेशी नागरिकहरू सत्य, शान्ति र मुक्तिको खोजीमा लागेको र करिब २६ सय वर्षअघि बुद्धले प्रतिपादन गरेको दर्शनमा उक्त शान्ति र मुक्ति प्राप्त हुने विश्वासका साथ गुम्बाको संरक्षण र व्यवस्थापनमा विदेशीहरूको चासो बढेको अध्यक्ष शेर्पाले बताए ।

बुद्धका मूर्ति र सुनौलो अक्षरले लेखेका मूल्यवान् धार्मिक ग्रन्थहरूको संरक्षण, सम्बद्र्धन र रेखदेख सम्बन्धित गुम्बाहरूले नै गर्ने गरेका छन् । 

नेपालको सबैभन्दा पुरानो सम्प्रदायको गुम्बा ञिङ्पा गुम्बा हो । यसअन्तर्गत २ हजार २९२ वटा गुम्बाहरू छन् । त्यस्तै, कग्र्युयाअन्तर्गत २९६ वटा गुम्बा, साक्यपाअन्तर्गत १०७ वटा र गेलुक्पा सम्प्रदायका ४१ वटा गुम्बाहरू रहेका बौद्ध गुम्बा विकास समितिका कार्यकारी निर्देशक होमबहादुर दोङले जानकारी दिए ।  

गुम्बा विकास समितिका अनुसार दर्ता भएका गुम्बा र विहार नेपालका ६४ वटा जिल्लामा छन्, जसमा कोशी प्रदेशका १४ जिल्लामा ५१३, मधेश प्रदेशका ८ जिल्लामा ११५ वटा, बाग्मती प्रदेशका १३ जिल्लामा १ हजार ६२९ वटा गुम्बा छन् ।

त्यस्तै, गण्डकी प्रदेशका १० वटा जिल्लामा ३०५ वटा, लुम्बिनी प्रदेशका १० जिल्लामा ६२ वटा, कर्णाली प्रदेशका ५ जिल्लामा २१३ वटा र सुदूरपश्चिम प्रदेशमा ५ जिल्लामा २९ वटा गुम्बाहरू छन् ।

दर्ता भएका गुम्बाहरूमध्ये १ हजार वर्षभन्दा पुराना गुम्बाहरूको संख्या ३२ रहेको गुम्बा विकास समितिको तथ्यांकमा उल्लेख छ । ५०० देखि १ हजार वर्षसम्म पुराना गुम्बाहरू १ हजार ७ र १०० देखि ५०० वर्ष पुराना गुम्बाहरू ४४० वटा छन् । 

त्यसैगरी, १०० वर्षभन्दा पुराना गुम्बाहरू २ हजार २४४ वटा र स्थापना मिति उल्लेख नभएका गुम्बाको संख्या ४३ रहेको तथ्यांकमा उल्लेख छ । स्थानीय तहमा दर्ता भएका गुम्बाहरूको मर्मत संम्भार र संरक्षणका लागि गुम्बा व्यवस्थापन केन्द्रले अनुदानसमेत दिने गरेको दोङको भनाइ छ । 

के गर्दै छ गुम्बा विकास समिति ? 

बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समितिले ३ हजार १७५ गुम्बालाई मान्यता दिएको छ । देशभर सार्वजनिक गुम्बा ३ हजार ७० र निजी १०५ गुम्बा दर्ता गरेको समितिले पुराना ऐतिहासिक, पुरातात्त्विक महत्त्वका आधारमा गुम्बालाई मान्यता दिएको समितिले जनाएको छ ।

लामा धर्मगुरुको बौद्ध दर्शनसम्बन्धी अध्ययन तथा विकासका लागि कार्यक्रम संचालन गर्दै आइरहेको कार्यकारी निर्देशक दोङले जानकारी दिए ।

उनका अनुसार बौद्ध गुम्बा तथा विहारहरूको संरक्षण, संवर्धन, तथा बौद्ध दर्शनको अध्ययन र विकास गर्न स्थापित समितिले पञ्चवर्षीय रणनीतिक योजना तयार गरी त्यसैका आधारमा भौतिक रूपले जीर्ण गुम्बाको जीर्णोद्धार गरी संरक्षण गरिएको छ ।

समितिले बौद्ध दर्शनको संरक्षण, प्रवर्धन तथा नेपालमा रहेका गुम्बा, विहार, बहाः, वहीलगायत बौद्ध सम्पदाको संरक्षण गर्दै तिनको व्यवस्थित संचालनका लागि देशमा रहेका गुम्बा तथा बहाः बहीको दर्ता गर्दै आइरहेको छ ।

बौद्ध दर्शनको संरक्षण, विकास र बौद्ध धर्म संस्कृतिको संवर्धन गर्नका लागि स्थापना गरिएका गुम्बा तथा विहारको संरक्षण, संवर्धन तथा बुद्धको शान्तिका सन्देशलाई मानव हितका लागि उपयोग गर्ने नीति समितिले लिएको जनाएको छ ।

बौद्ध दर्शन, धर्म, संस्कृति, कला तथा भाषाको संंरक्षण र देशमा भएका गुम्बा, बिहार तथा लामा, भिक्षु, भिक्षुणीहरूलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न सीपमूलक तालिमसमेत समितिले संचालन गर्दै आएको छ । 

समितिको तथ्यांकअनुसार भूकम्पबाट देशभरका १ हजार ३१८ गुम्बा क्षतिग्रस्त भएका थिए । तिनको पुनर्निर्माण, संरक्षण तथा सम्वर्धनका लागि अनुदान दिएर पुनर्निर्माणमा सहयोग गरेको छ ।

१०० वर्ष पुगेका सम्पदा पुनर्निर्माणका लागि प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुसार पुरातत्त्व विभागले पुनर्निर्माण गर्ने प्रावधानभित्र रहेर अनुदान पाउने गुम्बाको सूचीसमेत समितिले व्यवस्थित राखेको कार्यकारी निर्देशक दोङले जानकारी दिए । 

तथ्यांकअनुसार सबैभन्दा बढी सिन्धुपाल्चोकमा १५४ वटा रहेका छन् भने गोरखाका ७९, रामेछापका ६३, धादिङका ६८, काभ्रेपलाञ्चोकका ८१, रसुवाका ४५, मकवानपुरका ८०, नुवाकोटका ९५, दोलखाका ७५, ओखलढुंगाका १७, सिन्धुलीका ३९, चितवनका ३९ गुम्बा तथा बिहार अनुदानको सूचीमा राखिएको छ ।

त्यस्तै, नवलपरासीका ९, कास्कीका ५, बागलुङको १, तनहुँका १४, खोटाङका १३, भोजपुरका १७, धनकुटाका ६, सोलुखुम्बूका ४९, लमजुङका १४, संखुवासभाका ११, काठमाडौंका १४, ललितपुरका ११ र भक्तपुरका २ गुम्बा÷बिहार अनुदानको सूचीमा सूचीकृत छन् ।

बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समितिले बौद्ध दर्शनको संरक्षण, प्रवर्धन तथा नेपालमा रहेका गुम्बा, विहार, बहाः, वहीलगायत बौद्ध सम्पदाहरूको संरक्षण र तिनको व्यवस्थापनका लागि बौद्ध धर्म र अध्ययनसँग सम्बद्ध व्यक्तिहरूलाई वार्षिक रूपमा सोवा रिग्पा (आम्ची), मूर्ति निर्माण, गुम्बा व्यवस्थापन, थाङ्का लेखनलगायत विभिन्न कार्यक्रमहरू संचालन गर्दै आइरहेको छ । 

यसैअनुसार समितिको आयोजनामा ककनीमा धार्मिक पर्यटनलाई प्रवर्धन गर्ने उद्देश्यले १ महिने थाङ्का लेखन तालिम गरिएको समितिका कार्यकारी निर्देशक दोङले जानकारी दिए । तालिममा मोहन दोङ, भुवनदास तामाङ, निपुण तामाङले थाङ्का प्रशिक्षण दिएका थिए भने ताप्लेजुङ, सोलुखुम्बू, धादिङ, नुवाकोट, रामेछापलगायतका डेढ दर्जनभन्दा बढीको सहभागिता रहेको उनले बताए ।

‘धार्मिक पर्यटनलाई जोड दिनका खातिर ककनीमा यो तालिमको आयोजना गरेका थियौं । तालिममा सहभागीलाई सीप र ज्ञान सिकेर व्यावसायिक रूपमा अघि बढ्न सहयोग पुर्‍याएको छ’, उनले भने ।

ADV

सम्बन्धित खबर