२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

दियालो बंगला दरबार सर्वसाधारणका लागि खुला

ADV
मध्यान्ह
२०८१ असार २३ गते २२:१०
दियालो बंगला दरबार सर्वसाधारणका लागि खुला

चितवन : भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा ऐतिहासिक दियालो बंगला दरबार आइतबारदेखि सर्वसाधारणको लागि खुला गरिएको छ ।

एक कार्यक्रमकाबीच नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक पर्यटनमन्त्री हितबहादुर तमाङले रिबन काटेर सर्वसाधारणको लागि खुला गरे ।  

विसं २०१९ निर्माण भएको यो दरबार नेपाल ट्रष्ट र भरतपुर महानगरको पहलमा सर्वसाधारणको लागि अवलोकन गर्ने व्यवस्था मिलाइएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटनमन्त्री तमाङले भरतपुर भ्रमण वर्ष २०२४ सफल बनाउन दियालो बंगलाले महत्वपूर्ण सहयोग पुर्‍याउने बताए । 

चितवन जिल्ला जैविक, धार्मिक र अध्यात्मिक दृष्टिकोणका अग्रणी रहेको र अब दियालो बंगला सर्वसाधारणका लागि खुला गरेसँगै ऐतिहासिक सम्पदा रहेको स्थानको रुपमा परिचय बनाउन सफल भएको उनको भनाइ थियो ।

मन्त्री तमाङले पूर्व राजाहरुले पूर्व पश्चिम र राज्यको सबै ठाउँमा शासन सत्ता चलाउनको लागि उपयोग गरेको अहिले जनतालाई अध्ययन तथा अवलोकनका लागि खुला गर्ने कार्य महत्वपूर्ण रहेको उल्लेख गरे । 

देशको मध्य भागमा रहेकोले दियालो बंगला खुला गरेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको लागि महत्वपूर्ण गन्तव्य बन्ने मन्त्री तामाङले विश्वास व्यक्त गरे । यस्तै महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा लिएका दियालो बंगला सर्वसाधारणका लागि खुला गरेसँगै पुरा भएको बताइन् । भ्रमण वर्षको अवसरमा वन्यजन्तु उद्धार केन्द्रलाई ओपन जुको रुपमा सञ्चालनमा ल्याइएको र भारतीय पर्यटकलाई सहज आवगमनको लागि ठोरी छोटी भन्सार सञ्चालनमा ल्याइएको उनको भनाइ थियो । अब पर्यटकीय गन्तव्यहरु क्रमशः थप गर्दै लैजाने नीति महानगरले लिएको प्रमुख दाहालले बताइन् । 

नेपाल ट्रष्टका सदस्य सचिव सुनिता गौतमले राजाहरुको विलासी जीवनशैली दरबार घुमेपछि बुझ्न सकिने उल्लेख गरिन् । भरतपुर वडा नम्बर १ मा अवस्थित यो दरबारमा राजा महेन्द्रको निधन भएकाले ऐतिहासिक मानिएको छ ।  ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला तत्कालीन राजा महेन्द्रले निर्माण गरेका थिए । राजा महेन्द्रको यही दरबारमा निधन मृत्यु पनि भएको थियो । राजा महेन्द्रले करिब दुई वर्ष बंगलाको प्रयोग गरेको बताइन्छ ।

विशेषगरी हिउँदमा चिसो छल्न राजा र राजपरिवारका सदस्य दियालो बंगला बसाइँ सर्थे। त्यसैले यो बंगलालाई शीतकालीन दरबार पनि भन्ने गरिन्छ । राजपरिवारका सदस्यले बसोबास गर्ने र राजा महेन्द्रको निधन यहीँ बंगलामा भएकाले पनि चासोको विषय बन्दै आएको छ । दियालो बंगला क्षेत्र ५२ बिघाको छ । बंगला क्षेत्रसँगै जोडिएको राजमार्ग पारी थप पाँच बिघा जमिन छ ।

ADVADV

सम्बन्धित खबर

Advertise