२०८२ जेठ ५ गते सोमवार / May 19 , 2025 , Monday
२०८२ जेठ ५ गते सोमवार
Ads

वीरगञ्ज महानगर र तुलसीपुर उपमहानगरबीच न्यायिक समितिको कार्यप्रणालीबारे छलफल

महमद सदाब
२०८२ जेठ ५ गते १७:१५
वीरगञ्ज महानगर र तुलसीपुर उपमहानगरबीच न्यायिक समितिको कार्यप्रणालीबारे छलफल

वीरगञ्ज : वीरगञ्ज महानगरपालिका र तुलसीपुर उपमहानगरपालिकाबीच न्यायिक समितिको कार्यप्रणालीबारे छलफल भएको छ । तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले वीरगञ्ज महानगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक इम्तियाज आलमसँग भेट गरी न्यायिक समितिमा परेका मुद्दा तथा मेलमिलाप प्रक्रियाबारे छलफल गरेको हो ।

भेटघाटका क्रममा तुलसीपुरबाट आएको टोलीले वीरगञ्ज महानगरपालिकाअन्तर्गत न्यायिक समितिले गर्दै आएको काम, कर्तव्य तथा प्रक्रियाबारे जानकारी लिएको थियो । साथै, ‘उज्यालो वीरगञ्ज, सफा वीरगञ्ज’ अवधारणामाथि समेत विस्तृत छलफल भएको थियो । कार्यक्रममा उपप्रमुख चौधरीले तुलसीपुर उपमहानगरपालिकाको अवस्था र अनुभव सुनाइन् ।

उपप्रमुख आलमले वीरगञ्ज महानगरलाई उज्यालो र सफा बनाउने अभियानमा नगरबासी, जनप्रतिनिधि, कर्मचारी, प्रमुख तथा उपप्रमुखको संयुक्त प्रयासले सफलता मिलेको बताएका थिए । वीरगञ्जलाई पर्यटकीय नगरी बनाउने उद्देश्यका साथ महानगरभित्रका मठ–मन्दिर, गुम्बा, चिडियाखाना तथा पार्कको अवधारणालाई अगाडि बढाइएको जानकारी पनि उनले दिए । तीमध्ये केही संरचनाको सौन्दर्यकरण कार्य सम्पन्न भइसकेको र बाँकीका लागि डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार भइसकेको बताइएको छ । “आउँदो दिनमा हामीले राखेका लक्ष्यहरू पूरा गर्नेछौं,” उपप्रमुख आलमले भने ।

न्यायिक समितिमा परेका मुद्दाहरूलाई यथाशक्य छिटो मेलमिलापको माध्यमबाट समाधान गरिँदै आएको र समितिले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गरिरहेको पनि उपप्रमुख आलमले स्पष्ट पारे ।

सो कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका न्यायिक समिति सदस्य देवी पोखरेल, लालमती भण्डारी, वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख प्रतिज्ञा बैठा, सामान्य प्रशासन महाशाखा प्रमुख सुनिल कर्ण, तथा न्यायिक समितिका उजुरी प्रशासक धनबहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।

ADV

सम्बन्धित खबर